विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह गरेका छन्।

शनिबार बिहान खुमलटारस्थित दाहाललाई भेट्न निजी निवास पुगेका मेयर शाहलाई बधाई दिदै जनताको समस्या समाधानमा ध्यान दिन पनि आग्रह गरेका छन ।

यसअघि काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीको जस्तै एजेण्डा बोकेर चुनाव जितेको भन्दै उनले बालेनको प्रशंसा समेत गरेका थिए।

बालेनले पनि राजनीति कता लैजाने भन्ने विषयमा मुख्य भूमिकामा प्रचण्ड नै रहेको भन्दै प्रशंसा गरेका थिए। गठबन्धनका तर्फबाट समेत आवश्यक सहयोगको अपेक्षा आफूले गरेको बालेनले प्रचण्डलाई बताएका छन्।

प्रचण्डले बालेनको जितलाई ठुलो क्रान्ति भएको बताए।

‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, यसले माओवादी सिङ्गो पार्टी र म खुसी छौँ,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अब तपाईँले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेछौं।’

‘तपाईँको जित बहुत ठुलो कुरा हो, ठुलो क्रान्ति हो’, प्रचण्डले भने, ‘पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग आवद्ध भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईँले पहिलो पटक सबैलाई मिलाएर, सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले तपाईलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’