पुण्य पी अधिकारी
विश्वका विकसित मुलुकले फोहोरलाई मोहरका रूपमा परिर्वतन गरेका छन् । नेपालका केही ठाँउमा फोहोरबाट मोहर बनाउने अभ्यास भइरहेको छ । नेपालमा फोहोरको व्यवस्थापन अझै प्रभावकारी हुन सकेको छैन । फोहोरको व्यवस्थापनलाई राज्यले कागजी रूपमा प्राथमिकतामा राख्ने तर कार्यान्वयनमा भने उदासिनता देखाउने प्रवृत्तिले दिनानुदिन फोहोर सङ्कट र समस्याको विषय बन्दै गएको छ ।
विराटनगर महानगरपालिका फोहोरको व्यवस्थापनका लागि पटकपटक चुकेको छ । औद्योगिक नगरी विराटनगरलाई निकट भविष्यमा सबैभन्दा बढी फोहोरको व्यवस्थापनले च्याप्ने निश्चित प्रायः छ । किनभने अझै पनि हामीले फोहोर व्यवस्थापनको विषयलाई महत्वका साथ बुझ्न वा बुझाउन तयार भएका छैनौँ । फोहोरमैलाको व्यवस्थापनका लागि कानुनी व्यवस्थापन प्रष्ट रूपमा गरिएको छ । तर व्यवहारिक कार्यान्वयन भने फितलो छ ।
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ जारी गरिएको छ । प्रदेश १ को एक मात्र महागनगरपालिका विराटनगरले फोहोरमैला व्यवस्थापनमा विशेष ढङ्गले काम गर्न आवश्यक छ । विराटनगर महानगरपालिकाका मेयरले चुनावअघि जारी गरेको घोषणापत्रमा फोहोरमैलाको समस्या दीर्घकालीन ढङ्गले गरिने उल्लेख छ । घोषणापत्रमा उल्लेख भएका कुराहरू असम्भव भने छैनन्, तर त्यसका लागि कार्यान्वयनको पक्ष भने दीगो हुनु पर्दछ । फोहोरमैला व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले ल्याण्डफिण्ड साइडका लागि ४२ बिगाहा जमिन खरिद गरीसकेको अवस्था छ । तर ल्याण्डफिल्ड साइड भने निर्माण गर्न सकेको छैन । जमिन खरिदमा केही लाभ मिल्न सक्ने भएकाले पनि महानगरपालिकाका यसअघिका जनप्रतिनिधि र कर्मचारीले जमिन खरिद गरेको हुन सक्छ । तर, जमिन मात्र खरिद गर्ने फोहोरमैला व्यवस्थापनका लागि वास्तै नगरेका कारण आज विराटनगर फोहोरको शहरका नामले परिचित छ । यो परिचय नगर सञ्चालनको दायित्व भएका र आम नगरवासीलाई नै शर्मनाकको विषय हो ।
प्रदेशको राजधानी भएकाले विराटनगर महानगरपालिकाले पूर्वाधारदेखि लिएर हरेक क्षेत्रको यथोचित व्यवस्थापनका लागि प्रशस्त काम गर्नुपर्ने बाध्यता छ । फोहोरलाई मोहरमा रूपान्तरण गर्नका लागि महानगरपालिकाले युद्धस्तरमा कार्य सम्पादन गर्न अबेर भएको छ । फोहोरलाई उचित व्यवस्थापन गरेर धनकुटा नगरपालिकाले जुन पहिचान बनाएको छ । त्यो पहिचान अब विराटनगर महानगरपालिकासहित आम नगरवासीले ग्रहण गर्न आवश्यक छ ।
विराटनगर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि अपनाएको कार्यशैली अहिले पनि परम्परागत नै छ । सफाइ कर्मचारी घरघरै सिट्ठी फुक्दै फोहोर सङ्कलन गर्ने प्रणालीले नगरवासीलाई फोहोरको व्यवस्थापन महानगरपालिका एक्लैको हो भन्ने भ्रमित ज्ञान मात्र छ । अल्छी नलागेका र मन लागेका दिन मात्र सफाइकर्मी फोहोर सङ्कलनमा खटिनुले महानगरलाई फोहोर र दुर्गन्ध मुक्त बनाउँछु भन्नु दिवा सपना मात्र हुनेछ । शिक्षित नगरवासी समेत महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि उठाएको रकम तिर्न अटेर गरी सडकसडकमा फोहोरका थैली फ्यालेर रमाएका छन् । जसका कारण अरूलाई छ्यापेको हिलो आफ्नै मुहारमा परेको प्रति उनीहरूलाई हेक्का नभएको अवस्था छ ।
अब विराटनगर महानगरपालिकाले फोहोरमैलाको व्यवस्थापनका लागि प्रत्येक विराटनगरवासीलाई जिम्मेवार बनाउन आवश्यक छ । फोहोरमैला व्यवस्थापनको नाममा घरघरै सफाई कर्मचारी खटाउने खर्चिलो प्रणालीलाई रूपान्तरण गर्न आवश्यक छ । महानगरपालिकाले निश्चित चोक, टोल, क्षेत्र र टर्निङ्ग पोइण्टमा कुहिने र नकुहिने फोहोर विर्सजनका लागि डस्टविनको व्यवस्थापन गर्नुपर्ने छ । घरमै फोहोर लिन ट्रयाक्टर आउँछ भन्ने मानसिकतालाई परिर्वतन गरी घर, अस्पताल, होटल र रेष्टुरा, सब्जीमण्डी आदीमा उत्पादन भएको फोहोरलाई वर्गीकरण गरी महानगरपालिको तोकेको क्षेत्रमा विर्सजन गराउने परिपाटीलाई कठोर ढङ्गमा लागू गरेको खण्डमा फोहोरमैला व्यवस्थापनका लागि सहज हुनेछ । कुहिने फोहोरलाई मल र नकुहिने फोहोरलाई कच्चा सामग्रीका रूपमा प्रशोधन गरी महानगरपालिकाले फोहोरलाई मोहरमा रूपान्तरण गर्नुपर्छ । अब विराटनगरलाई फोहोरको शहर की फोहोरको शहर छुट्टयाउनै पर्छ ।