विराटनगर । स्थानीय तहको निर्वाचनमा एकल बहुमत जितेको नेपाली काँग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ ।

काँग्रेस नेता डा.शेखर कोइराला निकट जितनारायण थापा अध्यक्षसति उपाध्यक्ष र ७ मध्ये ५ वडा जितेको काँग्रेसका उम्मेदवार कार्यपालिका निर्वाचनमा पराजित भएका हुन् ।

गाउँपालिकाका निर्वाचित भएका ३७ जनप्रतिनिधिमध्ये अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्षसहित २२ जना काँग्रेसबाट निर्वाचित भएका थिए । यस्तै नेकपा एमालेबाट १ वडाध्यक्षससहित १० जना र माओवादी केन्द्रबाट १ वडाध्यक्षसहित ५ जना निर्वाचित भएका थिए ।

गाउँपालिका निर्वाचनमा गठबन्धनको विरोध गर्दै गठबन्धनको पक्षधरलाई पाखा लगाएर जित निकालेको काँग्रेसभित्रको गठबन्धन पक्षधर समूहले काँग्रेस र माओवादीसँग अघोषित गठबन्धन गरि कार्यपालिका निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गरेका हुन् । गाउँकार्यपालिकामा पनि डा.कोइराला पक्षले एकलौटी उम्मेदवार बनाएको भन्दै काँग्रेसको अर्को समूहबाट कार्यपालिकामा बागी उम्मेदवार खडा भएका थिए ।

बिहीबार भएको कार्यपालिका निर्वाचनमा काँग्रेसका बागी उम्मेदवार ३ जना, माओवादी केन्द्रका १ जना र एमालेका १ जना निर्वाचित भएका छन् । काँग्रेसका आधिकारिक उम्मेदवार १ जनाले मात्र जित निकालेका छन् ।

एकल बहुमत हुँदाहुँदै पनि आन्तरिक विवादले काँग्रेसका ५ जना आधिकारिक उम्मेदवार पराजित भएका हुन् । ‘हामीलाई काँग्रेसभित्र अन्तरविरोध छ भन्ने थाहा थियो’, माओवादीका प्रदेश सदस्य उपेन्द्र रायले भने ‘हामीले त्यही अन्तरविरोधमा खेल्यौं, सफल पनि भयौं।’ काँग्रेसको गठबन्धनविरोधी समूह पराजित भएको उनले बताए ।

स्थानीय तह निर्वाचनमा काँग्रेसको कोइराला पक्षले गठबन्धन गर्न नहुने अडान लिएपछि काँग्रेस एक्लै चुनाब लडेको थियो । त्यसबेला सबै कोइराला पक्षका उम्मेदवार खडा गरिएको भएपनि चुनाबी अभियानमा अध्यक्षले आपूmलाई हराउन खोजेको भन्दै २ जना वडाध्यक्ष आक्रोशित थिए । उनीहरुकै सहयोगमा बागी उम्मेदवारसहित माओवादी र एमाले उम्मेदवार कार्यपालिकामा निर्वाचित भएका हुन् ।

कार्यपालिकामा निर्वाचितबाट ४ जना र अल्पसंख्यक तथा दलितबाट २ जनाको लागि निर्वाचन भएको थियो । महिला कोटामा एमालेका १, माओवादीका १, काँग्रेसका बागी १ र एक जना काँग्रेस उम्मेदवार विजयी भएका छन् । अल्पसंख्यक तथा दलित कोटामा दुबै जना बागी उम्मेदवार विजयी भए ।

निर्वाचन अधिकृत मणिराम पोखरेलका अनुसार महिलातर्फ माओवादीकी पुष्पादेवी भगत २२ मत र एमालेकी रेखाकुमारी सरदार २२ मत ल्याएर विजयी भए । काँग्रेसमा संस्थापन पक्षकी सपना कोइराला १९ मत पाएर विजयी बन्दा बागी उम्मेदवार चन्द्रकला चौधरी २५ मत ल्याएर विजयी भइन् ।

महिलामा काँग्रेसकै मिथिला आचार्य १८ र मीनादेवी विश्वास १४ मत ल्याएर पराजित भएका छन् । दलित तथा अल्पसंख्यक कोटामा काँग्रेसका बागी उम्मेदवारहरु किरणकुमार चौधरीले २२, बनुलाल उराँव २२ मत ल्याएर निर्वाचित भए । काँग्रेसका आधिकारिक उम्मेदवार जयप्रकाश मण्डल र जयप्रकाश सरदारले १३–१३ मत मात्रै पाए।