विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता नहुने बताएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको उनले बताए ।
सुर्खेतमा बिहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए । ‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फैलाइरहेका छन्,’ उनले भने, ‘हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौं ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै भने, ‘बजेट चुनावको समयमा आएको हो तर चुनावीमुखी होइन ।’
उनले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा राखेका छन् ।

