विराटनगर । मेयरमा आकांक्षा राखेका सबै नेताहरुलाई एउटै मञ्चमा उभ्याएर एकताको सन्देश दिने नेपाली काँग्रेस विराटनगरको संकल्प पत्र सार्वजनिक कार्यक्रममा संस्थापन पक्षका नेता अमृत अर्याल अनुपस्थित भएका छन् ।
स्थानीय तह निर्वाचनको संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रममा मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका सबैलाई उभ्याउने योजना बनाएको काँग्रेस महानगरका सभापति दिपक चापागाईंले बताएका थिए ।
तर, शुक्रबार काँग्रेस जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका केन्द्रीय सदस्य अर्याल अनुपस्थित रहे । मेयरका आकांक्षीलाई एउटै मञ्चमा राखेर काँग्रेसमा कुनै मतभेद छैन भन्ने सन्देश दिन खोजिएको कार्यक्रममा संस्थापन पक्षनिकट उनी अनुपस्थित भएका हुन् ।
विराटनगरको राजनीतिमा खेलाडी मानिएका मेयरका अर्याल नै महानगरको उम्मेदवार बन्ने धेरैको अनुमान थियो । तर, डा.कोइरालाको दबाब र प्रजातान्त्रिक काँग्रेस हुँदा रहेको सम्बन्धको कारण नागेशले उम्मेदवारी हत्याएकोमा अर्याल असन्तुष्ट रहेको छनक शुक्रबारको कार्यक्रमले दिएको चर्चा काँग्रेस कार्यकर्ताबीच भएको थियो ।
मेयरका उम्मेदवार कोइरालाले चुनाबी अभियान र घरदैलो सञ्चालन गरिसक्दा संस्थापन पक्षका नेताहरु अभियानमा जोडिएका छैनन् । डा. शेखर कोइराला र नेता महेश आचार्य भने अभियानमा छन् ।
अर्याल अनुपस्थित रहेको संकल्प पत्र सार्वजनिक कार्यक्रममा मेयरबाट राजिनामा दिएका भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य डा.डिला संग्रौला भने सहभागी थिए । उनीहरु पनि महानगरको मेयरको उम्मेदवारका आकांक्षी थिए ।
आफ्नै मेयर र उपमेयरको आलोचना
कांग्रेसले सार्वजनिक गरेको संकल्प पत्र प्रस्तावमा महानगरमा बहाल रहेका आफ्नै पार्टीका मेयर र उपमेयरले अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च गरेको आरोप लगाइएको छ । संकल्प पत्रको तेस्रो नम्बरमा महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने तथ महानगरको खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति तथा अनुशासन तर्जुमा गर्ने उल्लेख छ ।
विपन्नलाई ३० युनिट बिजुली निःशुल्क
काँग्रेसले सार्वजनिक गरेको ५९ बुँदे सकंल्पपत्रमा विपन्न नागरिकलाई ३० युनिटसम्म बिजुली निःशुल्क वितरण गर्ने, जटिल शल्यक्रियाका लागि मेट्रो सिटी अस्पताल सञ्चालन गर्ने, भूमिगत पार्किङसहितको सभागृह निर्माण गर्ने, सामुदायिक विद्यालयमा प्याड बैङ्क स्थापना गर्नेलगायत योजना छन् । महानगर प्रमुखले पाउने सुविधा सामाजिक कार्यमा खर्च गर्ने, तारे होटेल र एक सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स र मलहरूलाई करमा ५० प्रतिशत छुट दिने काँग्रेसको संकल्प छ ।
यस्तै, विराटनगरमा औद्योगिक र राजनीतिक संगहालय निर्माण गर्ने, विराटनगर रानीदेखि विराटनगर–१९ सम्म सिटी बस सञ्चालन गर्ने, बजारलाई ताररहित बनाउने योजना सार्वजनिक गरिएको छ ।
गठबन्धन छाडेर एकल संकल्प पत्र
केन्द्रबाट सत्तारुढ गठबन्धनले तालमेल गरेको विराटनगर महानगरपालिकामा काँग्रेसबाट मेयरको उम्मेदवार डा.शेखर कोइराला निकट नागेश कोइरालाले पाएका छन् । उपमेयरमा भने जनता समाजवादी पार्टीका अमरेन्द्र यादव उम्मेदवार छन् । गठबन्धन भएपनि काँग्रेसले एकल रुपमा संकल्प पत्र सार्वजनिक गरेको हो । महानगरको चुनाबी अभियानमा पनि काँग्रेस एकल रुपमा सहभागी हुँदै आएको छ ।