माओवादीको आक्रमक संगठन अभियान

बुढीगंगामा चुनौती बनेर खडा हुँदै माओवादी केन्द्र

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको नेकपा माओवादी केन्द्रले मोरङको बुढीगंगा गाउँपालिकामा पार्टीको अवस्था सुदृढ बन्दै गएको जनाएको छ । २०७४ सालको निर्वाचनमा जनप्रतिनिधि विहीन अवस्थामा व्यहोरेको माओवादी केन्द्रले आउँदो निर्वाचनमा राम्रो परिणाम ल्याउने आधार बनाएको दाबी समेत गरेको छ ।

निर्वाचनलाई प्रभावकारी ढंगले परिचालन गर्न नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा प्रस्तावित केन्द्रीय सदस्य जीवन आचार्य केही सातायता गाउँटोलमा केन्द्रीत भएर चुनावी अभियानमा सक्रिय बनेका छन् । उनको सक्रियताका कारणपनि पार्टीको अवस्थामा उल्लेख्य सुधार आएको गाउँपालिका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए । बुढीगंगामा माओवादी केन्द्र बाँकी सबै पार्टीका लागि बलियो चुनौती बनेर खडा भएको उनले दाबी गरेका छन् ।

माओवादी केन्द्रले बुढीगंगा गाउँपालिकाको ७ वडा कमिटी मातहत रहने गरी अहिलेसम्म ४५ वटा टोल कमिटीहरु गठन गरिसकेको छ । तीन दिनभित्र थप २० वटा टोल कमिटीहरु गठन गर्ने तयारी भइरहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

कुल २८ हजार १५९ मतदाता रहेको बुढीगंगा गाउँपालिकामा माओवादी केन्द्रमा १ हजार ५०० भन्दा बढी सदस्यहरु पार्टी विभिन्न कमिटीमा संगठित भएका छन् । अघिल्लो निर्वाचनको समयको तुलनामा पार्टीमा संगठित हुनेको संख्या झण्डै दोब्बर भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरु उत्साहका साथ निर्वाचन अभियानमा जुटेको अध्यक्ष आचार्यले बताए ।

निर्वाचन अभियान सञ्चालन गर्ने क्रममा माओवादी केन्द्रले टंकीसिनुवारीमा पार्टी कार्यालय स्थापना गरिसकेको छ भने दुई दिनभित्र सबै वडामा पार्टी कार्यालय खोलिसक्ने तयारी गरेको छ । सबै टोल कमिटीहरु गठन गरेर चैत २१ गते पालिकास्तरीय सभा तथा प्रशिक्षण आयोजना गर्ने तयारी गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । ‘हामीले पार्टीको निर्वाचन अभियानलाई तीब्रताका साथ सञ्चालन गरेका छौं र हरेक टोलबस्तीमा पुगेर जनतालाई पार्टीमा संगठित गर्ने, हाम्रा नीति र कार्यक्रमका बारेमा जानकारी दिने काम गरिरहेका छौं,’ उनले भने ‘टोल कमिटी गठनपछि हामीले वडासभा र प्रशिक्षण थालेका छौं, दुई दिनभित्र वडाका प्रशिक्षण र सभा सम्पन्न गरेर २१ गते जेसिस भवनमा पालिका स्तरीय सभा आयोजना गर्दैछौं ।’

माओवादी केन्द्र बुढीगंगा गाउँपालिकाले आउँदो स्थानीय तहको निर्वाचनमा कम्तिमा पनि चार वटा वडा जित्ने अध्यक्ष आचार्यले दाबी गरे । उनले भने ‘हामी आजकै मितिमा चुनाव भयो भने दुई वटा वडा जित्ने अवस्थामा पुगेका छौं र अरु चार वटा वडामा प्रतिष्पर्धामा छौं, चुनाव आउन अझै ४० दिन बाँकी रहेकोले त्यसबेलासम्म हामी चार वटा वडामा विजयी हुने र बाँकीमा प्रतिष्पर्धा गर्ने अवस्थामा पु¥याउँछौं ।’ अध्यक्ष आचार्यका अनुसार बुढीगंगामा माओवादी केन्द्रको प्रमुख प्रतिष्पर्धा नेपाली काँग्रेससँग छ ।

गाउँस्तरीय सभा र प्रशिक्षण पछि पुनः टोल तथा सेल कमिटीको कामलाई व्यवस्थित रुपमा अगाडि बढाउने, बनेका कमिटीहरुलाई जनताका बिचमा परिचालन गर्ने र स्थानीय समस्या, विकास निमाण आदि आवश्यकताहरुको पहिचान गरी त्यसलाई अगाडि बढाउन पहल गर्ने काममा लाग्ने आचार्यले बताए ।

बिहिबार, १७ चैत, २०७८, रातीको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर