विराटनगर । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलले बुधबार मोरङको रतुवामाई नगरस्तरीय भेला सम्पन्न गरेको छ । भेलाले महेन्द्र सोनारको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
नगरका सबै वार्ड र टोलहरुबाट छनौट भई आएका वाइसिएल प्रतिनिधिहरु भेलामा सहभागी थिए । भेलाले आशिष मण्डललाई सचिव र कमला पाण्डे कोषाध्यक्षमा निर्वाचित गरेको थियो ।
स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा भएको युवाहरुको भेलामा नेकपा माओवादी केन्द्रका नेताहरुले राजनीतिक प्रशिक्षण दिएका थिए । सर्वहारा वर्गको अधिकार रक्षा गर्न र गरिब, विपन्न, पछाडि पारिएका समुदायको उत्थानका लागि युवाहरुमा क्रान्तिकारी चेतना जागृह गराउनु पर्नेमा नेताहरुले जोड दिएका थिए ।
भेलाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती सुशिलले पछिल्लो राजनीतिक परिवर्तन र उपलब्धिहरुको रक्षा गर्न युवाहरु गम्भीर भएर लाग्नुपर्ने बताए । उनले युवाहरुमा देशको भविष्य बनाउने जिम्मेवारी रहेको भन्दै सन्निकट रहेको स्थानीय तहको निर्वाचनमा परिवर्तनको बहाक शक्ति माओवादी केन्द्रलाई जिताउनु पर्ने बताए ।
गणतन्त्र र संघीयताको पहलकर्ता माओवादीले जितेमात्र सहि ढंगले जनताले अधिकार पाउन भएकोले प्रतिगमनतर्फ फर्किने, जनताप्रति उत्तरदायी बन्न नसक्ने शक्तिलाई पराजित गर्नुपर्ने उनको भनाइ थियो ।
उनले आगामी स्थानीय तहको निर्वाचनमा रतुवामाई नगरपालिकामा युवाहरुकै बलमा माओवादी एक्लै चुनाव लड्ने तयारीमा रहेको बताए । ‘गठबन्धन बनाएर जाउँ भनेर कोही प्रस्ताव लिएर आए ठिकै छ छलफल गरौंला तर गठबन्धन गरौं भन्दै माओवादीले यहाँ प्रस्ताव बोकेर हिड्दैन,’ उप्रेतीले भने ।
वाइसिएलका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का संयोजक कर्म पुलामी विशेष अतिथीको रुपमा उपस्थित थिए भने प्रदेश १ का पूर्व राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्र मोरङका संयोजक बिजय विश्वास, सचिव प्रकाश पौडेल, रतुवामाई नगरका इन्चार्ज सुमन कालिकोटे, वाइसिएल प्रदेश कमिटी सदस्य मनोज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच बुधबारनै नेकपा माओवादी केन्द्रले रतुवामाई ६ स्थित शनिश्चरे बजारमा पार्टीको नगर कार्यालय स्थापना गरी चुनावी प्रचार अभियानलाई अगाडि बढएको छ ।