‘एनटी भ्रष्टाचार क्याप्सुल’मै भ्रष्टाचार

 लीलावल्लभ घिमिरे

पाँच वर्षअघि नेपालका स्थानीय तहहरू जनप्रतिनिधिविहीन थिए । त्यसबेला एउटा कुरा बढी मात्रामा आउने गरेको थियो, ‘स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि नभएका कारण भ्रष्टाचार मौलायो ।’ लामो समयपछि जनप्रतिनिधि स्थानीय तहले पायो र अब पाँच वर्ष पूरा हुन लागेको छ । तर हिजो कर्मचारीहरुलाई जुन अभियोग लागेको थियो, आज त्यो अभियोगबाट स्थानीय तह मुक्त हुन सकेका छैन ।

पाँच वर्षपछि पनि त्यही कुरा चर्चाको छ ‘निर्वाचितहरु जनप्रतिनिधिहरु अझ भ्रष्ट भए ।’ वास्तविकता के हो ? समाजमा अरुले भ्रष्टाचार गरेको मात्र देख्ने चस्मा लगाउनेको संख्या धेरै छ वा वास्तवमै भ्रष्टाचार भइरहेको छ ? यो प्रश्नको उत्तर केही समयपछि मिल्ने छ ।
तर एउटा कुरा केचाहिँ सत्य हो भने देशमा भ्रष्टाचार हिजोभन्दा आज बढेको तथ्यहरुले देखाइसकेको छ । भ्रष्टाचारको कुरा आउँदा म सानो छँदा एउटा कथा सुनेको थिए । कथा सत्य हो हैन भन्ने कुराको प्रमाण खोज्नु भन्दा पनि कथाले दिन खोजेको सारले मन छोएका कारण वेलाबेला सम्झने गर्छु । कुरा देव शमसेरको पालाको हो । त्यस बेला पनि देशमा भ्रष्टाचार अत्यधिक वढेछ । भाइ भारदारदेखि आसेपासे मात्र हैन, कर्मचारीहरु सवै भ्रष्टारमा लिप्त भएछन् । जताततै भ्रष्टाचार नै भ्रष्टाचारले आक्रान्त बनेको देखेर देव शम्सेरले यसलाई नियन्त्रण गर्न अनेक उपाए अपनाएछन् । केही पार लागेनछ । के गरी भ्रष्टाचारलाई रोक्ने भनेर सोचिरहेका बेला अमेरिकामा एउटा औषधि बनेको सुइको पाएछन् । अमेरिकामा पनि त्यस बेला भ्रष्टाचार चरम बिन्दुमा पुगेकाले नियन्त्रण गर्न एउटा औषधिको बनाइएको रहेछ ।

‘एनटी भ्रष्टाचार क्याप्सुल’ अमेरिकाले वनाएको यो औषधिको एक गोली जसले खायो, त्यसले कहिल्यै भ्रष्टाचार गर्दैनरहेछ । यो थाहा पाएर उत्साहित भएका देव शमसेरले एउटा कर्मचारीको टोली बनाई आवश्यक रकमसमेत दिएर औषधि लिन अमेरिका पठाएछन् । एक महिनापछि टोलीले देशभरका कर्मचारी, दरबारका भाइ भारदारदेखि आसेपासेहरुलाई समेत पुग्ने गरी औषधि लिएर आएछ । टोली आउनासाथ एकै दिन बालबालिकालाई दादुराको खोप लगाएझै भनौं या पोलियो थोपा खुवाएझै सबैलाई खुवाउने काम भएछ । त्यसको सात दिनपछि फेरि काम कम गर्ला भनेर सबैलाई दोहो¥याएछ पनि ।

सबैलाई ‘एनटी भ्रष्टाचार क्याप्सुल’ खुवाएपछि देव शमसेर आनन्दको सास फेरेर बस्न लागेछन् । तर महिना बित्न नपाउँदै भ्रष्टाचारको मात्र घट्नुको साटो झन् बढेछ । यो देखेर देव शमसेर छक्क परेछन् । उनलाई चिन्ताले निकै सताएछ । त्यसको केही महिनापछि आफ्ना ज्यादै नजिकका सहयोगी बोलाएर छानबिन आयोग बनाएछन् । त्यसको एक महिनापछि प्रतिवेदन आएछ । प्रतिवेदनमा औषधि किन्न गएको टोलीले भ्रष्टाचार गरी नक्कली औषधि लिएर आएको खुलासा भएछ । त्यसबेलाको राणाकालीन नेपाल र अहिले गणतान्त्रिक नेपालमा भ्रष्टाचारको तुलना गर्ने हो भने त्यो बेला भन्दा अहिले बढेको अवस्था हुन्छ हो ।

हामीले विश्वास गरेर ल्याएको व्यवस्था र हाम्रा दलहरु आफैं भ्रष्टाचार चुर्लुम्म डुबेका छन् । कुनै दलहरु आर्थिक पारदर्शिता छैन । स्थानीयदेखि जिल्ला हँुदै प्रदेशबाट केन्द्रसम्म पार्टीहरुका कोषाध्यक्षका पद छन् तर कुनै पार्टीका नाममा बैंकमा खाता खोलिँदैन । यदि देखावटी रुपमा खोलियो भने पनि कारोबार बैंकिङ छैन । दलहरुले चुनावमा खोलामा पानी बगेझै पैसा खर्च गर्छन् । तर त्यो पैसा कहाँबाट आउँछ कसैलाई मतलब पनि छैन र खोजी पनि हुँदैन । राजनीति आज पेसा भएको छ । आज सबैभन्दा बढी आलिशान बंगला र शौखीन जीवनशैली राजनीतिक दलका नेताहरुकै देखिन्छ । त्यो पैसा कहाबाट आयो भनेर खोज्ने फुर्सद अख्तियार अनुसन्धान आयोगमात्र हैन सम्पत्ति शुद्धीकरण आयोगलाई पनि छैन । सबैमा प्रष्ट छ, ती निकायहरुले खोज्ने हिम्मत समेत गर्दैनन् । कारण त्यहाँ नियुक्त हुने महाशयहरु कुनै दलका भरौटे नभई पुग्न सक्दैनन् ।

भारतमा आमआदमी पार्टीले झाडु लिएर भ्रष्टाचारको विरुद्व आयो । हाम्रो देशमा झाडुको ठाउँमा बन्दुक बोकेर भ्रष्टाचारविरुद्व छेडियो । भ्रष्टाचारीहरु श्रम शिविरमा लगिन थाल्यो, नटेरेको भन्दै टाउका काटिन थाल्यो । त्यतिमात्र हैन, दुईवटी श्रीमती ल्याउने पनि निसानामा परे, तास खेल्नेहरु भाटे कारबाहीको शिकार बने, जाँडरक्सी खानेहरुलाई मूत्र सेवन गराइयो । लाग्थ्यो अब देशमा ठूलै परिवर्तन आउने भएछ ।

तर यिनीहरु देव शमसेरले अमेरिकाबाट ल्याएको नक्कली ‘एनटी भ्रष्टाचार क्याप्सुल’ खाएका भन्दा चार गुणा बढी खराब निस्के । रक्सी भट्टीहरु कामरेडका अखडा बन्न थाले । केन्द्रीयदेखि गाउँ तहका नेताहरुको मापसे आदत बन्न लाग्यो । भ्रष्टाचारको सीमा छैन । आफ्नै लडाकुका नाममा आएको रकम लुटिन्छ । एउटा कर्मचारी सरुवा गर्न भेटी चाहिन्छ । मेयर उपमेयरको टिकट किन्न पाइन्छ । उम्मेदवार बजारका टमाटरभन्दा सस्ता हुन्छन् । सर्वहारा नेता महलमा लाखै पर्ने पलङमा लम्पसार हुन्छन्. । हिजो बोर्डिङ स्कुलमा पढाउनेहरुलाई भाटा हान्नेहरुका आज आफ्नै बोर्डिङ स्कुल खुल्छन् ।

पुराना शक्तिको कुरा नगरौं, कांग्रेस एमालेहरुबाट भ्रष्टाचारको नियन्त्रण निकै कठिन विषय बन्न सक्छ । यी पार्टीका तल्लो स्तरका नेतामात्र हैन, कार्यकर्ताहरुमा समेत एक खाले लत बसिसकेको छ । उनीहरुले पनि राजनीति गरेर केही पाएका छैनन् । हाम्रो देशमा राजनीति सेवाभन्दा बढी पेसाका रुपमा गर्नेहरुको संख्या ज्यादा छ । पेसा नाफामूलक हुन्छ । आज टिकट पाउन नै धेरै खर्च गर्नु पर्ने अवस्था छ । उनीहरुले आफ्नो खर्चमात्र उठाउनु पर्दैन । चुनावमा सहयोग गर्नेहरुको गुन पनि तिर्नु पर्छ । यसले गर्दा भोलिका दिनमा भ्रष्टाचारको पारो घट्नुको साटो बढ्ने निश्चित छ । पृथ्वीनाराण शाहले एकीकरण गरेको नेपाललाई हामीले टुक्र्याएका छौं । संघीयता आजको आवश्यकता हो । पृथ्वीनारायणको यो कदममा व्रेक लगाएपनि तिनै पृथ्वीनाराणयले भनेको ‘घुस लिने र दिने दुवै अपराधी हुन् भन्ने कुरालाई मात्र स्थापित गर्न सकेमात्र पनि हामीले देखेको समाजवाद सम्भव हुँन्थ्यो कि ?

सोमबार, १४ चैत, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर