विराटनगर । डा. विरेन्द्रकुमार विष्ट पूर्र्वी नेपालमा न्यूरोलोजीका अगुवाको रूपमा परिचित रहेका छन् । पूर्वी नेपालका पहाडी जिल्ला, तराई र भारतका धेरै विरामीको उपचार गरेर ख्यातिआर्जन गरेका कारण मात्रै होइन, पूर्वमा न्यूरो उपचार सेवाको भरपर्दो विकल्प पेश गरेका कारण पनि डा. विष्टको यस्तो पहिचान बनेको हो ।

जन्मथलो विराटनगरलाई नै कर्मथलो बनाएर तीन दशकदेखि अनवरत स्वास्थ्य उपचार सेवा दिइरहेका उनले हजारौं—हजारलाई बचाएका छन् । उनले आर्जन गरेको सीपले प्रदेश १, मधेश प्रदेश र भारतका हजारौं मानिसको जीवनलाई सहज बनाएको छ । डा. विष्ट पूर्वाञ्चलमा पहिलोपटक न्यूरोलोली सेवा भित्र्याउने चिकित्सक हुन् ।

दैनिक औसत ८० देखि एक सय जना बिरामीलाई सेवादिँदै आएका उनले २० वर्षको अवधिमा ५ लाखभन्दा बढी बिरामीको सफल उपचार गरिसकेका छन् । हजारौं बिरामीलाई नयाँ जीवन दिएर डा. विष्ट ती बिरामीका परिवारमा खुसीको प्रकाश छर्न सफल छन् । आफ्नै नेतृत्वमा स्थापना भएको न्यूरो अस्पतालमा काम गर्दा डा. विष्ट अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरुलाई देउता सम्झन्थे ।

जीवनमा पैसालाई कहिल्यै महत्व नदिएको बताउने उनी राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुने बताउँछन् । उनले पूर्वमा न्यूरोलोजी सेवा सुरू गर्नुभन्दा अघि यहाँका बिरामी भारतको सिलिगुडी र काठमाडौं जानुपर्ने अवस्था थियो । स्थानीय स्तरमा न्यूरो सेवा सुरू भएपछि त्यो बाध्यता अन्त्य भएको छ । न्यूरो अस्पतालमा सेवा सुरु भएपछि प्रदेश १ र मधेश प्रदेशका बिरामीले न्यूरो सम्बन्धी सम्पूर्ण सेवा यहीँबाट पाउने गरेका छन् ।
बुवा गंगाप्रसाद र आमा कृष्णकुमारी विष्टको कोखबाट २०१४ साल माघ १७ गते डा. विष्टको विराटनगरमा जन्म भएको हो । परिवारका कान्छा छोरा उनले विराटनगरको आदर्श उच्च माविबाट एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षा भारतबाट र सन् १९८९ मा भारतको जम्मुकश्मीरबाट एमबीबीएस गरे । मेडिकल अफिसर भएर स्वदेश आएपछि विराटनगरको कोशी अस्पताल, टिचिङ्ग हस्पिटल र माल्दिभ्समा पनि गएर सेवा गरे ।

त्यसपछि उनी इङल्याण्ड गए । लन्डनको युनिर्भसिटी कलेज अफ लण्डन को इन्स्टिच्युट अफ न्युरोलोजी, क्विन स्क्वायर बाट न्यूरोलोजीमा ‘पिजी’ गरेका थिए । उनले न्यूरोलोजीमा पिजी गरेको सन् १९९९ मा हो । न्यूरोलोजिष्ट भएपछि स्वदेशमै सेवादिने उद्देश्य विराटनगर आए र आफ्नै लगानीमा १० शैय्याबाट न्यूरो अस्पताल खोलेर सेवा सुरू गरे । त्यसपछि ५० शैय्या हुँदै अहिले १ सय ५० शैय्याको अस्पताल रहेको छ । थप विकास गरेर ३ सय शैय्याको अस्पताल बनाउने योजना रहेको उनले सुनाए ।

‘आमा मधुमेहको विरामी हुनुहुन्थ्यो । आमा विरामी भइराख्ने समस्याले गर्दा पनि आफूलाई डाक्टर भएर विरामी सेवा गर्ने इच्छा थियो,’ उनले आफ्नो लक्ष्य सुनाउँदै भने, ‘डाक्टर भएर स्थानीय स्तरमा विरामीको सेवा गर्ने इच्छा थियो । त्यो पूरा भएको छ ।’
बिरामीसँगको उनको सामीप्यता अझ लोभ लाग्दो छ । डाक्टरले बिरामीबाट सुनेर, बिरामी छामेर र आँखाले हेरेर पनि जटिलताबारे बुझ्न सक्ने भएकाले यो प्रक्रिया डा विष्टले अवलम्बन गर्दै आएका छन् । बिरामीका घरायसी पक्ष, रोजगारी, पारिवारिक, आर्थिक अवस्था, व्यक्तिगत तनाव, स्वास्थ्य जटिलता आदिबारे डाक्टरले सुनेपछि बिरामीमा विश्वास बढ्ने उनको बुझाइ छ । आधुनिक प्रविधिको रिपोर्टमा मात्र पूर्ण भर पर्दा बिरामीको मर्म बुझ्न नसकिने भएकाले निकटता र विश्वास नबढ्ने उनको निष्कर्ष छ ।
‘हालसालै एक जना विरामी यहाँ आएका थिए । उनले धेरै ठाउँमा उपचार गर्न गएका थिए । तर, कतै ठिक भएको थिएन । दुखाईका कारण उनको शरिरभरी पेटी बाँधेर ल्याएको थियो । उपचारको लागि धैरे ठाउँ भौतारिएका थिए । कतै सीप नलागे पछि न्युरो अस्पताल आएका थिए । तीनदिन हस्पिटलमा राखेर उपचार गरेपछि ठीक भएर गएका थिए,’उपचार गरेको घटना सुनाउँदै डा. विष्टले सुनाए, ‘यस्ता थुप्रै विरामीहरू यसरी निको भएर गएका छन् ।’

नेपालमा न्यूरो सेवाका डाक्टर एकदमै कम छन् । डा. विष्ट न्यूरोलोजी सकेर नेपाल फर्किँदा एक जनामात्रै थिए । डा. दिनेश बिक्रम साह पछि दोस्रो न्यूरोलोजिष्ट डा. विष्ट हुन् । अहिले पनि देशभरीमा न्यूरोलोजिष्ट औलांमा गन्न सकिने मात्र छन् । डेढ लाख जनसंख्यामा कम्तीमा एक जना न्युरोलोजिष्ट र न्युरो सर्जन चाहिने हो ।
‘नेपाल सरकारको तर्फबाट न्युरोलोजी सेवा सम्बन्धि नीतिगत सुधार हुनुपर्ने खाँचो रहेको छ । यसमा साथै न्यूरोलोजी सम्बन्धमा समय–समयमा अन्तर्राष्ट्रिय स्तरमा हुने गरेको सेमिनार गोष्ठीहरू नेपाल भित्र पनि आयोजना गर्न सके विज्ञहरुको सल्लाह सुझावलाई अवलम्बन गर्न सहज हुने र प्रभावकारी उपाय पद्धतिको विकास हुने थियो,’ डा. विष्टले भने, ‘न्यूरोलोजी साइन्स राज्यको प्राथामिकताको क्षेत्रमा परेको देखिँदैन । राज्यको तर्फबाट विशेषज्ञ जनशक्ति उत्पादनमा बढावा दिनुपर्ने देखिन्छ । देशमा विज्ञ जनशक्ति भएमा दिनानु दिन बढ्दै गएको न्यूरोलोजीका रोगीहरूलाई सहज र सरल ढंगबाट उपचार सम्भव हुने थियो ।’ जनचेता मुलक कार्यक्रमहरू स्थानीयस्तरबाट गरिनुपर्नेे उनले बताए ।

पेशाले चिकित्सक भएपनि डा विष्ट सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । उनी विभिन्न संघसंस्थाहरूमा आवद्ध रहेका छन् । उनी रोटरी क्लब अफ विराटनगर मिड टाउन पूर्वअध्यक्ष, लायन्स क्लब अफ विराटनगरका पूर्व अध्यक्ष पनि हुन् । उनले सामाजिक संघसंस्थाहरूको माध्यमबाट सामाजिक कामगर्दै आएका छन् । फुर्सद्मा परिवारसँग रमाइलो गर्न रूचाउने डा. विष्टको दुवै छोरा .छोरी चिकित्सा क्षेत्रमा छन् । छोरी रोश्नी विष्ट पनि डाक्टर हुन् । छोरा ऋतिक विष्ट एमबीबीएस गर्दैछन् । सुप्रवल जनसेवाश्री पदकबाट पनि डा. विष्ट विभूषित बनेका छन् । पुर्वाञ्चलमा चिकित्सा क्षेत्रबाट यो पुरस्कार पाउने डाक्टर विष्ट पहिलो व्यक्ति हुन् ।