लीलाबल्लभ घिमिरे
यसपटकको मेयरको टिकट मलाई नै चाहिन्छ भन्ने मेरो जिकिर छ । मेयरको टिकट पाउनका लागि मबाहेक अरु योग्य छैनन् भन्ने कुराको हेक्का मेरो दल र तिनका नेतालाई हुनु आवश्यक छ । पार्टीभित्रको मेरो लगानी उठाउने यहि नै उपयुक्त समय भएकाले यसपटक मैले मेयरको टिकट नपाए कसले पाउने ? र यस पटक नपाए कहिले पाउने ? भन्ने प्रश्नको उत्तर मैले खोजेरै छोड्नु छ ।
स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पार्टीहरुमा टिकट माग्नेको लाम लागेको छ । गएको निर्वाचनमा मेयर जितेकाहरु बाँकी काम पुरा गर्न मेयरको टिकट पाउनुपर्ने दावी गरिरहेका छन् भने हारेकाहरु हार्ने बेलामा मैले उठ्नुपर्ने अनि जित्ने बेलामा अर्काले टिकट पाउने भन्ने दावी गर्छन् । यदि आफूले टिकट नपाए ‘देखाइदिने’ साझा धम्की सबैको आउने गर्छ । पार्टीभित्रका सुकिलामुकिलाहरुको आवाज पनि निकै ठूलो हुन थालेको छ । उनीहरु ठूलो स्वारमा मेयरको टिकट आफूले पाउनुपर्ने वकालत गरिरहेका छन् । तर, बिडम्बना विगतका निर्वाचनमा झैं यतिबेला पार्टीका इमान्दार र नैतिकवान कार्यकर्ता र नेताहरुको स्वार मलिन हुन थालेको छ । जीवनभर पार्टीको झण्डा झोलामा बोकेर हिँड्नेहरु झोलामा झण्डा हैन डण्डा र पैसा बोकेर आउने सुकिलामुकिलाहरुका अगाडि निरिह हुन्छन् र दुईचार छाक दारु र मासुमा आफ्नो जीवनको राजनीतिक नैतिकतालाई दाउमा राख्दै अय्या.. अय्या.. गर्दै पिर बोकेर चुनावमा मरेको विरालो च्यापेर ठिमीको उकालो हिँडेजसरी नै हिँड्न बाध्य हुन्छन् ।
आजीवन आफ्नो परिवारभन्दा पार्टीलाई सर्वोपरि मानेर हिँड्नहरुको हाल यतिबेला प्रकाश सपुतको गीतले भने जस्तै अय्या… अय्या.. गरेको आवज मात्र सुन्न पाइन्छ । धन, डन र चाकडीका भरमा नेताहरुलाई सुरा मात्र हैन, सुन्दरीहरु समेत पस्केर टिकट ल्याउने अनि मतदातालाई भेडाबाख्रा जस्तो खरिद गरी कुर्सीमा पुग्ने अभिलासा बोकेर पार्टीमा पसेकाहरुसँग पार्टीभित्रका सच्चा र इमान्दार नेता तथा कार्यकर्ताहरु पीडित छन् र अय्या… आय्या.. भन्ने आवाज निकाल्न बाध्य छन् । मनभरी पिर छ । तर, छोडेर जाने ठाउ“ कही छैन् । मनभरी पिर बोकेर यसपाली त यस्तै भयो, अर्को पटक पार्टीले सम्झेला भनेर सिरानीमुनिको सिद्धान्तको ठेली निकालेर पावर सकिएको चस्मा लगाएर पढ्ने प्रयास गर्छन् । तर, दुर्भाग्य त्यो सिद्धान्तको ठेली पनि मधुरो देखिन्छ । फेरि अय्या… अय्या… गर्दे ओछ्यानमा पल्टन्छन् । अनि विपी, मदन भण्डारी, कार्ल माक्स, लेनिन मात्र हैन प्रचण्डपथसमेत सम्झदै आँखा चिम्लन्छन् । उता उनका नेता सेयर बजारमा जस्तै टिकटको मोलतोल गरिरहेका हुन्छन् । विचरा हाम्रो राजनीति तैपनि चलिरहेको छ । निर्वाचन आउन आँट्यो, मेयरको सेयर बजार कति अंकले बढ्ने हो पार्टीका महामहिम नेताहरुको चिन्ता यतै छ ।
बहालवाला मेयर सावको पहिलो दावी छ, मेयरको टिकट मैले नै पाउनुपर्छ । किनकि म यसअघि पनि योग्य नै भएर चुनाव जितेको छु । मभन्दा मेरो पार्टीमा मेयरका लागि योग्य उम्मेदवार कोही छैन । पाँच वर्षमा मैले वस्तीहरुमा पानीको पाइप पु¥याएको छु, अब पानी पु¥याउन म नै चाहिन्छ । सडक खनेको छु, त्यसलाई कालो पत्रे गर्न म नै चाहिन्छ । स्कूल बनाएको छु, शिक्षक पठाउन अरुले सक्दैन । बजारमा फोहोर थुर्पान सिकाएको छु, डम्पिङ साइड बनाउन म नै चाहिन्छ । मैले ५ वर्षमा गरेका ७० प्रतिशत काम पुरा गर्न बाँकी छ, त्यसैले मेरो विकल्पमा पार्टीले अर्को मान्छे अघि सारो भने म देखाइदिन्छु । मलाई घर परिवार, ससुराली, नातागोता सबैले हाइहाइ गरेका छन् । मेरा कामको प्रसंशा नगर्ने मेरा आफ्ना कोही छैन्, आफ्ना नभएकाहरुले विरोध गरे होलान् । त्यसैले टिकट मैले पाउनुपर्छ । २–४ जनाले चिया पसलमा बसेर मेरा बारेमा नराम्रा कुरा गरेर के भो ? म भनेको म नै हुँ, त्यसैले मेयरको टिकट मैले पाउनुपर्छ ।
म अर्को पात्र हुँ, मलाई टिकट नदिएर कस्लाई दिने ? गएको निर्वाचनमा म झिनो मतले पराजित भएको हु । यसपटक मबाहेक अरु कसैले जित्ने वाला छैन । त्यसैले मैले नै टिकट पाउनुपर्छ । गएको निर्वाचनमा पनि मेरो धेरै पैसा खर्च भयो । त्यही कारण पार्टीका धेरै काममा हिँड्नसमेत सकिएन । यसपटक निर्वाचन जितेर त्यो सबै हिसावकिताव मिलान गर्नुछ । त्यसैले मेयरको टिकट म बाहेक अरुले पायो भने देखाइदिन्छु ।
मेयरको टिकट दावी गर्ने म अर्को पात्र हुँ । मैले टिकट नपाउने कारण नै देख्दिन । पार्टीमा धेरै लगानी गरेर समानुपातिकतर्फ नाम झुण्ड्याउने नेताको नियत मैले बुझिसकेको छु । यो समानुपातिकतर्फको सुचीमा नाम पर्नु भनेको गोरु व्याएर दुध खाने सपना देख्नु जस्तै हुँदो रहेछ । त्यसैले यसपटक म अरुतिर भुलिनेवाला छैन । मलार्ई यस पटक उधारोले चल्नेवाला छैन, नगदमा चाहिन्छ । त्यो पनि मेयरको टिकट नै चाहिन्छ ।
पार्टीमा लागेदेखि केन्द्रीय नेतादेखि जिल्लाका नेतासम्मलाई रोजीरोजी मासु र रक्सी खुवाएकै छु । जुन नेता आउ“दा पनि माला बोकेर एयरपोर्ट पुगेकै छु । नेताले चढ्ने मेरो गाडीको नम्बर कार्यकर्तालाई समेत कन्ठ भइसकेको छ । अब मैले मेयर पाउनका लागि अरु के योग्यता पुरा गर्नुप¥यो ? पार्टीका मात्र हैन्, उसका भातृ संस्था र सुभेच्छुक संस्थालाई समेत बेलाबेला हरिया घाँस हालेकै छु, त्यसैले मैले नै टिकट पाउनुपर्छ । यदि मैले टिकट पाइएन भने….। सबैले बुझ्नुभएको होला । त्यसैले मैले टिकट पाउनुपर्छ । यदि टिकट पाइन भने म पनि ‘देखाइदिन्छु’ ।