विराटनगर । सन् २०५० भित्र नेपाललाई क्षयरोगमुक्त देश घोषणा गर्ने तयारी चलिरहेकै बेला प्रदेश १ मा भने यो रोगका विरामी निरन्तर बढिरहेका छन् । सबैभन्दा डरलाग्दो तथ्य त के छ भने ७० प्रतिशत हाराहारी संक्रमितहरु अहिलेसम्म स्वास्थ्य संस्थासम्म पुगेकै छैनन् ।
‘प्रदेश १ मा हरेक वर्ष १२ हजार हाराहारी संख्यामा क्षयरोग संक्रमित रहेको सर्भेक्षणले देखाएको छ,’ राष्ट्रिय क्षरोग निवारण केन्द्रकी सूचना अधिकृत थुमा पुनले हाम्रोमतसँग भनिन् ‘तर, त्यसको ७० प्रतिशत विरामीको अहिलेसम्म परीक्षण हुनै सकेको छैन ।’ उनका अनुसार परीक्षणको पहुँचबाट टाढै रहेका ती विरामीहरुको उपचार प्रक्रिया सुरु हुने कुरै भएन ।
सरकारले क्षयरोगविरुद्धको अभियानलाई लामो समयदेखि निरन्तरता दिइरहेको छ । क्षयरोग पत्ता लगाउने र उपचार गर्ने विषयमा पनि सरकारले ठूलो लगानी गरिरहेको छ । यसका वावजुद विरामी संख्या बढ्दै जानु र दुई तिहाईभन्दा बढी विरामीहरु रोग पालेर बसेको अवस्थाले डरलाग्दो अवस्थाको संकेत गर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
अहिले प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोगका विरामी फेला परेका छन् । यसको अर्थ अझै पनि ८ हजार ५ सयभन्दा बढी विरामी बिना परीक्षण रोग पालेरै बसिरहेका छन् । राष्ट्रिय क्षयरोग केन्द्रले सन् २०१८–१९ मा गरेको सर्भेक्षण अनुसार प्रदेश १ मा प्रत्येक वर्ष १२ हजार क्षयरोगका नयाँ विरामी थपिने गरेका छन् । जसमध्ये ३५ सय हाराहारीको मात्रै रोग पत्ता लागेको छ ।
अहिले प्रदेश १ मा सबैभन्दा बढी झापामा क्षयरोगका विरामी भेटिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । झापामा ९ सय ९२, मोरङमा ९६८ र सुनसरीमा ८ सय ८९ जना क्षयरोगका विरामी भेटिएको उनले बताए । तेह्रथुम जिल्लामा सबैभन्दा कम विरामी भेटिएको छ । तेह्रथुममा २१ जना विरामी भेटिएको छ । प्रदेश १ मा ९२५ वटा उपचार केन्द्र ३ वटा डिआर उपचार केन्द्र, एउटा डिआर होस्टेल १३ वटा जिन एक्स्पर्ट साइट रहेको छ । ८३ वटा माइक्रोस्पकोपिक सेन्टरहरु रहेका छन् ।
देशभरीमा २८ हजार ६ सय ७७ क्षयरोगका विरामीहरू रहेका छन् । क्षयरोगको विरामी संख्या वृद्धि भइरहँदा पनि समुदायमा अझै पनि सचेतनाको कमी रहेको निर्देशक बस्नेतले जानकारी दिए । ‘१४ जिल्ला रहेको प्रदेश १ का सबै जिल्लामा जिन एक्स्पर्ट मेशिन नभएको अवस्था छ,’ उनले भने, ‘यो मुख्य चुनौतिको विषय हो । भएका मेसिनहरू पनि पूर्ण क्षमतामा संचालनमा आएको छैन ।’
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले सामूहिक प्रयत्नमा जोड दिएर क्षयरोग नियन्त्रण गरिनुपर्ने बताए । सन २०५० सम्ममा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको लागि यो आर्थिक वर्षमा संघीय सरकारबाट प्रदेश १ का ४ वटा पालिकाहरुमा बजेट तथा कार्यक्रम प्राप्त भएर कामहरू पनि सुरु भएको उनले बताए । क्षयरोग विरामीहरुको स्याहार तथा रोकथामका लागि उपर्युक्त श्रोत साधन सहितको राजनीतिक प्रतिवद्धता पनि आवश्यक रहेको उनले बताए ।
विश्व क्षयरोग दिवसको अवसर पारेर विराटनगरमा ¥याली निकालिएको छ । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने मुल नाराको साथ विराटनगरमा बिहीबार ¥याली निकालेको हो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा भेला भएर विभिन्न ६ वटा संघसंस्थाले संयुक्त रुपमा ¥याली निकालेको थियो । ¥यालीले विराटनगर महानगरपालिका परिक्रमा गरि बी प्लटमा कोणसभामा परिणत भएको थियो । ¥यालीमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवको पनि सहभागिता रहेको थियो । ¥यालीमा स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, प्रदेश स्वासथ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य, विराटनगर महानगरपालिका, नेपाल क्षयरोग निवारण संस्था, बागमती सेवा समाज नेपाल, विराटनगर नर्सिङ क्याम्पसले ब्यानर लिएर ¥यालीमा सहभागिता जनाएका थिए ।