पुण्य पी अधिकारी
सशस्त्र द्घन्द्घको समयमा विद्यालयहरू राज्य पक्षबाट वा तत्कालीन विद्रोही पक्षको निशानामा परेका स्मरणहरू हाम्रो मष्तिकमा आज पनि छन् । सङ्कटकालको समयमा जस्तै झल्को दिने गरी मोरङको लेटाङ–५ स्थित खेरूवामा रहेको शिक्षा विकास माध्यमिक विद्यालय यसै साता एउटा घटनाका विषयमा रणभूमिमा परिणत भएपछि त्यसले अनेक समस्या निम्त्याएका छन् । शिक्षा विकासमा कार्यरत सामाजिक विषयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १२ वर्षीया बालिकालाई ०७८ फागुन ४ गते यौन दुव्र्यवहार गरेको विषयमा घटनाको विजारोपण भयो । सोही विषयमा पीडित बालिकाले विद्यालय प्रशासनलाई फागुन ६ गते शिक्षकले दुव्र्यवहार गरेको विषयमा लिखित उजुरी दिएपछि भएको छलफलका क्रममा विद्यालय रणभूमि बन्न पुग्यो । एक जना राष्ट्र सेवकले ज्यान गुमाउनु प¥यो ।
विद्यालयको भौतिक संरचनासहित एम्बुलेन्स र शिक्षक तथा शिक्षिकाले प्रयोग गर्ने सवारी साधनमा तोडफोड भयो । एक थान मोटरसाइकल र स्कुुटरमा आगजनी गरियो । अन्धाधुन्ध शिक्षक, कर्मचारी तथा प्रहरीमाथि कुटपिट, ढुङ्गा, मुढा, भाँटा, पेट्रोल बम र सीसाका बोटल प्रहार गरियो । प्रहरीसहित स्थानीय घाइते भए । प्रहरीले चलाएको गोली प्रहारबाट घाइते भएकाहरू उपचाररत छन् । एउटा विषयलाई लिएर विद्यार्थीहरूले गरेको विरोध र आन्दोलनलाई सिँढी बनाएर अदृश्य पक्षले रक्तपात निम्त्यायो । प्रशासनले कफ्र्यु लगाउनु प¥यो ।
नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ । विद्यालयलाई राजनीतिबाट टाढा राख्न विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको हो । तर, “धमिलो पानीमा माछा मार्ने” भनिए झैँ पीडित बालिकाको निवेदन विद्यालय प्रशासनमा परेपछि सोधपुछका क्रममा विकसित घटना क्रमले विद्यालयलाई युद्धभूमिमा परिणत ग¥यो । घटनापछि आन्दोलनका छिट्काहरूले समस्त लेटाङवासीलाई त्रासैत्रासको अवस्थामा पु¥याएको छ । प्रहरी त्रासमा, स्थानीय त्रासमा, शिक्षक, विद्यार्थी, अभिभावक त्रासमा । सबैलाई त्रासदीपूर्ण अवस्थामा पु¥याएर जुन शक्तिले अदृश्य रूपमा आन्दोलनलाई रक्तपात पूर्ण बनायो, उसले घटना पश्चात के विषयमा सफलता हासिल ग¥यो ? तमाम प्रश्नहरू उब्जिएका छन् ।
दोषी शिक्षकलाई कानुन बमोजिम कारबाही माग गर्दै आन्दोलन गर्नुपर्छ र गरिन आवश्यक छ । तर फागुन ६ गते साँझ ५ बजेसम्म विद्यालय परिसरमा विद्यार्थी, प्रहरी, जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अभिभावक रहेको अवस्थामा त्यसपछि विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई कुटपिट गरी सुरू भएको हिंसात्मक आन्दोलन महिला प्रहरीको हत्यासम्म पुग्यो । विद्यालयमा सुरक्षाका लागि खटिएका प्रहरीमाथि अचानक पेट्रोल बमहरू प्रहार गरी आक्रमण गरेपछि भड्किएको आन्दोलनले आजका दिनमा विद्यालय बन्द गराएको छ । एसइइको तयारीमा रहेका ७१ जना विद्यार्थी फागुन ६ गते ल्याकत परीक्षाको पहिलो दिनको परीक्षा दिएर मनोवैज्ञानिक तनावमा घरमै बसेका छन् । उनीहरूको परीक्षाको सुनिश्चिता हुन सकेको छैन ।
यसबाट विद्यार्थीसहित शिक्षक र अभिभावकले खेप्नु परेको मनोवैज्ञानिक दबाब र तनावको क्षतिपूर्ति के हुन सक्छ ? यसको जबाफ कसले दिन्छ ? प्रश्न उब्जिएको छ । अध्यापनका लागि बाहिरबाट पुगेका शिक्षकहरूलाई ज्यान मार्ने धम्की दिनु, विद्यालय नै जलाउने चेतावनी दिनुले विद्यालय सुधारका लागि आन्दोलन गरियो वा विद्यार्थी आन्दोलन विनाशका लागि प्रयोग गरियो भन्ने प्रश्न सतहमा आएको छ ।