विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष एउटै मोर्चामा उभिनपर्ने बताएका छन् ।

निर्वाचन प्रणालीलाई कम खर्चिलो, पारदर्शी र निष्पक्ष बनाउन स्थानीय तहदेखी नै राजनैतिक दल, नागरिक समाज सरकार र निर्वाचन आयोग एउटै मोर्चामा उभिनु पर्ने उनको भनाइ थियो ।

आगामी निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे विराटनगरमा बुधबार भएको प्रदेश स्तरीय छलफलमा प्रमुख निर्वाचन आयुक्त थपिलियाले स्थानीय तहदेखिनै अनुगमन समिति बन्ने भएकोले सबै पक्ष एउटै मोर्चामा आवद्ध हुनुपर्ने उनले बताए । राजनैतिक दल, नागरिक समाज, सरकार निर्वाचन आयोग सबै एक ठाउँमा उभिन उनले आग्रह गरे ।

स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँ नगरपालिकाका कार्यकारी अधिकृत, पत्रकार, प्रहरी र नागरिक समाजका प्रतिनिधिहरु सम्मिलित अनुगमन समिति बनाउने व्यवस्था रहेको उनले बताए । आचारसंहिता उल्लंघन गरेको पाइए ठाउँको ठाउँ कारवाही गर्ने प्रमुख आयुक्त थपलियाले दाबी गरे । यसले आचारसंहिता पालना गराउन बाध्य बनाउन सकिने उनको बुझाइ छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता केवल डकुमेन्ट मात्र नभएर उल्लंघन गरे कारवाही गर्ने आधार भएकोले त्यसलाई कमजोर नआँक्न आग्रह गरे । उनले सबैभन्दा धेरै आचारसंहिता उल्लंघन हुने मौन अवधिमा कडाइपूर्वक अनुगमन गरिने बताए ।

देशमा लोकतन्त्र आएपनि खर्चिलो निर्वाचन प्रणालीले लोकतान्त्रिक व्यावस्थामै प्रश्न उठाएकोले देशको संबिधान, निर्वाचन कानुन र अन्तराष्ट्रिय मूल्यमान्यताको आचारमा निर्वाचन आयोगले एक लाख रुपैया जरिवाना गर्ने र उम्मेदवारी खारेजसम्म हुनेसक्ने जनाएको छ ।

छलफलमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले लोकतान्त्रिक निर्वाचन प्रणाली सम्पति, साधन र शक्तिको आधारमा प्रभावित भए निष्ठा हार्ने भएकोले सबैले एक भएर निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिए । छलफलमा राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु सहभागी थिए ।