विराटनगर । मोरङको लेटाङमा एक जना महिला प्रहरीको हत्या भएको घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ ।
आइतबार मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षिय उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । आक्रमणकारीले घाँटीमा छुरा प्रहार गर्दा गम्भीर घाइते उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । घटनामा २५ प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए ।
मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको छ । प्रदेश १ प्रहरी कार्यालयका एसएसपी राजेन्द चौधरीको नेतृत्वमा छानबिन समिति बनाएको छ । ‘अनुसन्धान टोलीले संयुक्त रुपमा अनुसन्धान थालेको छ,’ एसपी जिसीले भने ।
प्रहरीको ज्यान जाने गरी भएको आक्रमणपछि कफ्र्यु लगाइएको लेटाङ क्षेत्रबाट प्रहरीले दर्जनौं स्थानीयबासीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी राखेको छ । बुधबारसम्ममा दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई जिल्ला प्रहरी विराटनगरमा ल्याएर प्रहरीले सोधपुछ गरिसकेको छ । ‘नियन्त्रणमा लिएर ल्याउने र सोधपुछ गर्ने क्रम जारी छ,’ एसपी जिसीले भने ‘त्यसैले अहिलेसम्म कतिलाई नियन्त्रणमा लिइयो भन्ने अवस्था छैन ।’
स्रोतका अनुसार लेटाङ क्षेत्रका लागु्औषध प्रयोगकर्ताहरु प्रहरी टार्गेटमा बढी परिरहेका छन् । लेटाङ तनाव सुरु भएलगत्तैदेखि लागुऔषध प्रयोगकर्ताहरु प्रहरीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको जानकारी आएको प्रहरी स्रोतको दाबी छ । ‘यसअघि आपराधिक पृष्ठभूमि भएका, लागुऔषधका प्रयोगकर्ताहरुमाथि शंका बढी छ,’ स्रोतले भन्यो, ‘उनीहरुसहितकालाई ल्याएर सोधपुछ गर्ने क्रम जारी छ ।’