स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन, माओवादी नेतृत्वका तीन सर्बोत्कृष्ठ

माओवादी नेतृत्वका तीन सर्बोत्कृष्ठ

विराटनगर । कार्यसम्पादनका मूल्यांकनका आधारमा देशभरका उत्कृष्ठ पाँच स्थानीय तहमध्ये तीन वटा स्थानीय तहको नेतृत्व नेकपा माओवादीले गरेको पाइएको छ । नेपालका ७५३ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा डडेलधुराको अजयमेरु गाउँपालिका सर्वोत्कृष्ठ भएको छ ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षसहित जितेको अजयमेरु गाउँपालिका कार्यसम्पादन मूल्यांकनका आधारमा सर्वाेत्कृष्ठ भएको प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनमा उल्लेख छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको विवरणमा अजयमेरु गाउँपालिकाले ७८.६९ अंक प्राप्त गरेको उल्लेख छ । अजयमेरु गाउँपालिकाको अध्यक्ष उमेशप्रसाद भट्ट हुन् ।

उत्कृष्ठ पाँच गाउँपालिकामध्ये कैलालीको कैलारी गाउँपालिका र गुल्मीको धुर्कोट गाउँपालिका पनि माओवादी केन्द्रकै नेतृत्व रहेका स्थानीय तह हुन् । अध्यक्ष लाजुराम चौधरीले नेतृत्व गरेको कैलारी गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनमा ७६.४९ अंक प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रका भुपाल पोखरेलले नेतृत्व गरेको गुल्मीको धुर्कोट गाउँपालिका ७६.५४ अंक प्राप्त गरी उत्कृष्ठ पाँचभित्र समेटिएको छ ।

उत्कृष्ट भएका पाँच स्थानीय तहमध्ये स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित मुस्ताङको दालोमे गाउँपालिका दोश्रो स्थानमा रहेको छ । अध्यक्ष लोरसाङ छोम्पेल विष्टले नेतृत्व गरेको दालोमे गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनमा ७७.११ अंक प्राप्त गरेको छ ।

उत्कृष्ठ पाँचमध्ये नेकपा एमालेले नेतृत्व गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका उत्कृष्ठ पाँचौ स्थानमा समेटिएको छ । आयोगको कार्यसम्पादन मूल्यांकनमा एमालेका सुरेन्द्रबहादुर विष्टले नेतृत्व गरेको भीमदत्त नगरपालिकाले ७६.३८ अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यसम्पादन मूल्यांकनमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ३५.०४ अंक ल्याइ सबैभन्दा कमजोर ठहरिएको छ । छिन्नमस्ता गाउँपालिका तत्कालीन नयाँशक्ति पार्टीका सूर्यनारायण मण्डल अमातले नेतृत्व गरिरहेका छन् ।

आयोगले स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कका लागि १७ वटा सूचकहरु निर्धारण गरेको थियो । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान असार १० गतेभित्र सभामा पेस गरे नगरेकोदेखि कर संकलन, राजश्व बाँडफाँड, बेरुजुको अवस्था, योजना सम्पादन क्षमता र अवधि लगायत विभिन्न विषयलाई सूचकमा समेटेको थियो ।

बिहिबार, ०३ चैत, २०७८, दिउँसोको ०२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर