सन्दर्भ ‘पीर’ गीतिनाटक

 अनन्तराज न्यौपाने

साहित्यमा सतप्रतिशत तथ्य र सत्यको माग सापेक्ष हुँदैन । सतप्रतिशत सत्य र तथ्यमा आधारित सृजना त रिपोर्टिङ अर्थात् समाचार हुन्छ । अथवा इतिहास लेखनले पनि सतप्रतिशत सत्य र तथ्य माग्दछ, साहित्य सृजनाले होइन । साहित्यमा कल्पनाशीलता नै प्रबल हुन्छ । कल्पनामा आधारित सृजना जब सत्य प्रतीत हुन्छ, अनि मात्र त्यो सफल र सशक्त साहित्यमा दरिन्छ । तर, रिपोर्टिङ, सामचारिक विषयवस्तु वा इतिहासमा रती पनि कल्पनाको स्पर्श स्वीकार्य छैन । जब तिनमा किञ्चित् कल्पनाको प्रवेश हुन्छ, ती मिथ्या र कपोलकल्पित कहलिन्छन् । स्वैर कल्पनामा आधारित साहित्य पनि यथार्थवादी धारमा आइपुग्छन् । साहित्य, इतिहास र समाचारको यो सैद्धान्तिक पार्थक्य र विश्लेषणलाई बुझ्नु आवश्यक छ । राजा दुष्यन्त र युवती शकुन्तलाको मूल कथा महाभारत ग्रन्थमा छ । पछि कलियुग लागेपछि कालीदासले यही कथामा आधारित भएर संस्कृत भाषामा ‘अभिज्ञान शाकुन्तलम्’ भन्ने नाटक लेखे । तर, महाभारतमा भएको मूल कथाको संवाद र ‘अभिज्ञान शाकुन्तलम्’–को संवादमा आकाश– जमिनको फरक छ । कालीदासको नाटकमा प्रखर कल्पनाशीलता छ । तर, महाभारतीय कथा र संवाद तथ्यमा आधारित छन् भनिन्छ ।

दुष्यन्त–शकुन्तलाकै कथावस्तुलाई लिएर नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको शाकुन्तल महाकाव्य नेपालकै उत्कृष्ट साहित्यिक कृतिमध्ये एक हो । तर, अचम्म, यस महाकाव्यमा संवाद त परै जाओस्, कथावस्तु पनि धेरै ठाउँमा मिल्दैन । देवकोटाले आफ्नै कल्पनाशक्तिद्वारा विभिन्न उपकथा र उपघटना थपेका छन् । संवाद त सर्वशः देवकोटीय छन् । कतिपय कथावस्तुलाई छाडेका पनि छन् । देवकोटाले एक ठाउँ भनेका छन्, ‘शाकुन्तल महाकाव्य लेख्नुपूर्व मैले महाभारतको कथा र अभिज्ञान शाकुन्तलम् दुबै पढेको थिइनँ । मैले आफैँले बुझेका र सुनेका कथाका आधारमा महाकाव्य तयार पारेँ ।’

कालीदासले अर्को कृति लेखेका छन्– कुमार सम्भवम् । संस्कृत भाषामा कालीदासको यो बेजोड काव्यकृति मानिन्छ । यस काव्यमा शिवजीका छोरा कुमारको उत्पत्ति कसरी भयो भन्ने वर्णन छ । यही वर्णनका क्रममा कालीदासले शिव–पार्वतीका बिचको प्रेम, रोमान्स र सम्भोगको विलक्षण वर्णन गरेका छन् । सम्भोग श्रृङ्गारको यस्तो सशक्त र कलात्मक वर्णन अन्य कुनै पूर्वीय ग्रन्थमा पाइँदैन । कालीदासको समय भनेको आजभन्दा २५ सय वर्षअघिको हो । २५ सय वर्षअघिको समाजमा देवीदेवता बिचको अभिसारलाई काव्यमा काल्पनिक रूपमा उतार्नु कम बहादुरी थिएन । उनलाई त्यति बेलाकै समाजले पनि मृत्युदण्ड दिनसक्थ्यो । किनकि तत्कालीन समाज धर्मान्ध थियो । एउटा किंवदन्ती पनि यो प्रसङ्ग निकै चलेको छ । त्यो के भने, कालीदासले शिव–पार्वतीको अभिसारको वर्णन लेख्तालेख्तै उनलाई पार्वतीको श्राप पर्यो र उनले काव्य पूरा गर्नै पाएनन् । श्रापका कारण कालीदासको असमयमै कष्टकर मृत्यु भयो । देवीदेवताको सम्भोगको वर्णन गरेकाले यस्तो भयो भन्ने जनश्रुति छ । पछि उनका छोराले काव्य पूरा गर्नुपर्यो भन्ने गरिन्छ । तर, यस किंवदन्तीलाई पुष्टि गर्ने ठोस र प्रामाणिक आधार चाहिँ छैनन् ।

तर, अढाई हजार वर्षपहिले यस्तो अलौकिक काव्य लेख्ता पनि कालीदास आलोचनाका पात्र भएनन् । साहित्यका पारखीले उनको उच्च मूल्याङ्कन गरे । किनभने यो फगत साहित्य थियो । रुद्रराज पाण्डेले १९९१ सालमा ‘रुपमती’ उपन्यास प्रकाशित गरेपछि नेपालका धेरै नागरिकले मेरो घरको कथा किन लेखिस्, कसरी थाहा पाइस् भनेर कसैले सोधेका र कसैले हपारेका थिए रे । तर, पाण्डेको स्वीकारोक्ति के थियो भने उनको यो उपन्यास फगत कल्पनामा आधारित थियो ।

डाइमन्ड शमशेरका ‘सेतोबाघ’ र ‘वसन्ती’ उपन्यास पढेर कसैले ‘मैले राणा शासन सबै बुझें’ भन्ने धक्कू लगाउँछन् भने तीभन्दा महामूर्ख अर्को हुन्नन् । यता कृष्ण अविरलका ‘रक्तकुण्ड’ र दरबारसम्बन्धी अन्य उपन्यास पढेर नारायणहिटी बुझेँ भन्नेहरू त्यस्तै डेढ अक्कली र लाल बुझक्कडमा पर्छन् । बीपी कोइरालाको ‘सुम्निमा’ पढेर कसैले पनि किराँत सभ्यता बुझ्ने प्रयास नगरून् । वसन्त बस्नेतको केही महिनाअघि मात्र छापिएको ‘महाभारा’ उपन्यास पढेर माओवादी युद्धलाई समग्रमा बुझ्न खोज्नु त्यति नै गल्ती हुनेछ । किनकि सबै कृतिमा कल्पनाशीलताको आधिक्य छ ।

मदन पुरस्कारका निर्णायक र सञ्चालकहरूले एक पटक कस्तो बौद्धिक दरिद्रताले युक्त काम गरेका छन् भने नीलम कार्की निकारिकाको ‘चीरहरण’ उपन्यासमा धेरै ठाउँ महाभारतको भन्दा पृथक् कथा घुसाइयो भनेर उपन्यासकारलाई पुरस्कारबाट वञ्चित गराए । यसपछि उनै नीलम कार्कीले अर्को पटक महाभूल गरिन् । ‘चीरहरण’पछि उनले ‘योगमाया’ लेखिन् । मदन पुरस्कारका ठेकेदारहरूको आरोपले रन्थनिएकी नीलमले ‘योगमाया’ उपन्यासमा कल्पना होइन सत्य–तथ्यलाई बढी प्रयोग गरिन् । यसका लागि उनी भोजपुर, दिङ्ला, अरुण नदीको किनार, खोटाङ, विराटनगर सबैतिर गएर तथ्य सङ्कलनमा लागिन् । इतिहासकार र अन्य विज्ञलाई भेटिन् । तर, दुर्भाग्य, ‘चीरहरण’ जसरी एकाएक हिट भयो ‘योगमाया’ त्यसरी नै फ्लप । बरु उनले त्यो अनुसन्धानको समय र शक्ति कल्पनाको प्रयोगमा लगाएको भए अर्कै रिजल्ट आउन सक्थ्यो ।

सुब्बा कृष्णलाल अधिकारीको १९७७ सालमा प्रकाशित ‘मकैको खेती’ पुस्तक शुद्ध परिकल्पना, प्रतीक र विम्बमा आधारित थियो । तर, राणा प्रधानमन्त्री चन्द्र शमशेरले यसलाई सहन सकेनन् । उनले अधिकारीलाई जेल हाले र जेलमै उनको मृत्यु भयो । प्रसङ्ग यतिबेला प्रकाश सपुतको ‘पीर’ गीति नाटकको छ । प्रकाशले यसलाई पनि काल्पनिक भनेका छन् । तर, चन्द्र शमशेरलाई झैं धेरै राजनीतिक मनुवालाई ‘पीर’ पचेको छैन । सिद्धान्तच्युतहरू, सुशासनमा चुकेकाहरू, भ्रष्ट र कमिसनखोरहरू, तानाशाहहरू, अधिनायकवादीहरू, विचार–सिद्धान्त र आदर्शलाई बिर्सनेहरू न कृष्णलाललाई सहन्छन् न प्रकाश सपुतलाई । सत्य हो, अन्तमा आफैँ पतन हुन्छन् ।

मङ्गलबार, ०१ चैत, २०७८

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर