विराटनगर । छैठौँ संस्करणको कर्पाेरेट क्रिकेट लिग (सिसिएल) क्रिकेट प्रतियोगिताको उपाधि आरती ब्लास्टर्सले जितेको छ ।
माहेश्वरी युवा मञ्च विराटनगरले शंकरपुर खेल मैदान विराटनगरमा आयोजना गरेको सिसिएलको फाइनल खेलमा आरतीले एनबीएससी लायनलाई ७ विकेटले पराजित गरि उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको एनबीएससीले निर्धारित ८ ओभरमा ३ विकेट गुमाई ७८ रनको सामान्य स्कोर बनाएको थियो । एनबीएससीका दिपेश कँडेलले ३१ रन बनाउँदा फिर्दोस अन्सारीले १५ रन बनाए । आरतीका नितिष कुमारले सर्वाधिक २ विकेट लिए ।
जवाफमा ७९ रनको सामान्य लक्ष्य पछ्याएको आरतीले ५ दशमलव ५ बलमा १ विकेट गुमाई सो विजय लक्ष्य भट्टाएको थियो । आरतीका लागि धिरज कुमार २४ रन बनाए । नितिष कुमार १९ रन जोडे । उनीहरु दुवै जना अविजित रहे । एनबीएससीको तबरेज आलमले १ विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच आरतीका अलराउण्डर खेलाडि नितिष कुमार घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडि एनबीएससीका फिर्दोस अन्सारी घोषित हुँदा उत्कृष्ट ब्याटर एनबीएससीकै दिपेश कँडेल भए । उत्कृष्ट बलर आरतीका नितिष कुमार भए ।
विजेताले नगद ४१ हजारका साथै ट्रफि र चाँदीको सिक्का तथा उप–विजेतालाई नगद २१ हजारका साथै ट्रफि र चाँदीका सिक्का वितरण गरिएको थियो ।
प्रतियोगिता सकिए लगतै एनबीएससीका समर्थहरुले एम्पियर मिनस थापामाथि हातपात गरेका थिए । खेल सकिएलगतै एमपिय थापाले निष्पक्ष खेल नखेलाएको आरोप लगाउँदै एनबीएससीका समर्थहरुले खेलमैदानमा हातपात गरेका हुन् । थापाको शरिरमा चोटपटक लागेको थियो । थापाले बोकेको मोवायल पनि फुटेको थियो । आइतबार एनबीएससीले मोवाइल बनाइदिने र माफी मागेपछि सहमति भएको बुझिएको छ ।

