विराटनगर । काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत पूर्वजनमुक्ति सेनाका कमाण्डरले मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएको भन्दै सहयोगको याचना गरेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका ८ का ४२ वर्षीय जितेन्द्रबहादुर महरा (महावीर) ले आफ्ना दुबै मिर्गाैला फेल भएको भन्दै प्रत्यारोपण गर्न आर्थिक अभाब भएको गुनासो गरेका हुन् ।

२०५५ सालदेखी माओवादी जनयुद्धमा पूर्णकालिन रुपले सहभागी भएका महरा तात्कालिन जनमुक्ति सेना फस्ट डिभिजन अन्तर्गतको १८ औं बटालियनको कम्पनी कमाण्डर थिए । माओवादी पार्टी विभाजन भएपछि हाल नेपाल कम्युनिष्ट पार्टीको ब्युरो सदस्य रहेका महराले हालसम्म उपचार गर्दा आफूसँग भएको १५ लाख रुपैयाँ खर्च भइसकेको बताउँदै उनले थप उपचार गराउने र मिर्गाैला प्रत्यारोपण गर्ने क्षमता नभएकोले सहयोगको याचना गरेको बताए ।

काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका महराले एउटा मिर्गाैला फेर्न सके बाँच्न सकिन्छ डाक्टरको सुझाव रहेको बताउँदै प्रत्यारोपण गर्न २० लाख रुपैयाँ लाग्ने बताए । आफूलाई ९८४४२३९९५ मा सोझै सम्पर्क गरेर वा प्राइम बैंकमा रहेको खाता नम्बर ‘०४२०००१० जीएल’ मा रकम जम्मा गरेर सहयोग गरिदिन दयालु दाताहरुलाई आग्रह गरेका छन् ।

नेत्र विक्रम चन्द विप्लबले नेतृत्व गरेको नेकपा निकट श्रमिक संघ मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रहेका महराका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।