विराटनगर । शुद्ध पिउने पानीको अभाव झेलिरहेको विराटनगरलाई राहत हुने भएको छ । विराटनगर खानेपानी सुधार आयोजनाका लागि जापान सरकारले २ अर्ब रुपैयाँभन्दा बढी अनुदान रकम उपलब्ध गराउने निश्चित भएपछि विराटनगरवासीले शुद्ध खानेपानी पाउने भएका छन् ।

नेपाल सरकार र जापान सरकारका दुई अधिकारीबीच बिहीबार अनुदान सहायता सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

जापानी दातृ संस्था जाइकाका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले परियोजना कार्यान्वयन सम्बन्धी अर्को सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार विराटनगरको खानेपानी सुधार तथा विस्तार गर्ने प्रयोजनका लागि जापान सरकारले २ अर्ब ७ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ ।

जापान सरकारबाट प्राप्त भएको रकम सरकारले खानेपानी संस्थानमार्फत खर्च गर्नेछ । विराटनगरस्थित खानेपानी संस्थानले आफ्ना पुराना र जीर्ण पाइपलाइन परिवर्तन गर्ने, पानीको गुणस्तर सुधार गर्ने र शुद्ध खानेपानी नपाइरहेको क्षेत्रमा विस्तार गर्नेलगायतका काम गर्ने छ ।

विराटनगर महानगरपालिकाभित्र रहेका ६० हजार घरधुरीमध्ये करिव आधा जनसंख्या मात्र प्रशोधित पानीको पहुँचमा छन् । अहिले पनि महानगरको दक्षिणी र पश्चिमी क्षेत्रका अधिकांश नगरबासीहरु आइरन र आर्सेनिकयुक्त ट्युवेलको पानी पिउन बाध्य छन् ।

खानेपानी संस्थानको देवकोटा चोकस्थित आयोजनाले देवकोटा चोक, तीनपैनी र मिल्स एरियामा गरी तीन वटा ओभरहेड ट्यांकीबाट शुद्ध पिउनेपानी वितरण गर्दै आएको छ । त्यसबाट बजार क्षेत्रका उपभोक्ताले मात्र राहत पाएका छन् । त्यसबाहेक विराटनगरमा मानगढ खानेपानी आयोजना, पिचरा खानेपानी आयोजना, जामुनगाछी खानेपानी आयोजना समुदायस्तरबाट सञ्चालनमा रहेका छन् ।

मानगढ खानेपानी आयोजनाबाट जाइकाकै सहयोगमा आधुनिक फिल्टर जडान गरी शुद्ध पानी वितरण हुँदै आएको छ । अन्यत्र भने जमिनमुनीको पानी तानेर क्लोरिन मिसाएर सिधै उपभोक्तालाई वितरण गर्ने गरिएको छ । त्यसरी वितरण गरिने पानी पनि सबै नगरबासीको पहुँचमा नपुगेको विराटनगर महानगरपालिकाका इन्जिनियर भरतकुमार न्यौपानेले बताए ।

‘सहरको ठूलो क्षेत्रमा शुद्ध खानेपानी पु¥याउनुपर्ने आवश्यकता छ, विराटनगरमा महानगरले अहिलेसम्म खानेपानी सम्बन्धी छुट्टै आयोजना सञ्चालन गरेको छैन,’ इन्जिनियर न्यौपानेले भने ‘तर भर्खरै सम्झौता भएको आयोजनामा हाम्रो पनि भूमिका छ र एमओयू गर्दा हामी पनि एउटा साझेदारको रुपमा सहभागी भएका छौं ।’ उनले सबैलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने चुनौंती अहिले पनि कायमै रहेको बताएका छन् ।

जापान सरकारसँग भएको अनुदान सहयोगबाट विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।