गोकुल पराजुली
जब चुनाव आउँछ, हाम्रा गाउँघरमा आश्वासनको बिस्कुन पहेँलपुर भएर फिँजारिन्छन् । आश्वासनको बिस्कुन नफिँजाइ चुनाव लड्ने , जित्ने कल्पना अब धेरै टाढाको विषय भइसक्यो । स्थानीय तहको चुनाव नजिकिदै छ । राजनीतिक दलहरु चुनावी नारा र आकर्षक एजेण्डा खोज्दै होलान् । मैले अहिलेसम्म देखेको र भोगेको कुनै पनि चुनाव नाराविहीन थिएनन् । विकासका एजेण्डाहरु पनि एकसे एक नै ल्याइएका हुन्थे । यसपटक पनि त्यस्तै नारा र एजेण्डाहरु पक्कै आउने छन् । सिलसिला मिलाएर पार्टीहरुले एउटा सपनाको महल फेरि पनि जनतालाई बेच्नेछन् । निराश भएर जीवन चल्दैन । सबै नपत्याए पनि कसै न कसैको नारा अनि मुद्दा जनताले अवश्य बोक्नै पथ्र्यो, बोक्थे ।
धेरै परको कुरा नगरौ ती सबैं स्मृतिमा छैनन् । २०७४ सालको चुनावताका पार्टीहरुले देखाएका सपनाहरु जनताले सम्झिए भने के सोच्दा हुन् ? म त सम्झेर झस्किएँ पनि । मैले विराटनगरको मात्र कुरा गर्न खोजें । किनभने जनतालाई कतिपय सपना त मैले पनि बिक्री गरेको थिएँ । भलै सपनाहरु अरुकै बिक्री भएको हुँदा धेरै अपजसको भारी बोक्ने लेठो छैन । यसो सम्झेर ल्याउँदा संविधानसभाबाट संविधान बनेपछि हुँदै गरेको चुनावमा जनताका कति धेरै आकांक्षाहरु थिए । चुनाव प्रचारमा हिँड्दा प्रष्ट शव्दमा भन्थे ‘हाम्रा छोराछोरीको नागरिकता बनाउने विश्वास जसले दिलाउँछ उसैलाई भोट दिन्छौं ।’ त्यो चुनावमा सबै पार्टीले हामी नागरिकता दिलाउँछौं भनेर सपना देखाए । किनभने नेपाली उखानै छ ‘ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।’
चुनावमा सबैको ध्यान सुकुम्बासी बस्ती र पिछडिएको टोलहरुमा हुन्थे । टोलका मुखियाहरु सबै पार्टीको सम्पर्कमा रहेर भोटको ठेकेदारी गर्थे । जसरी पनि चुनाव जित्न भनेर लागेकाहरुको धेरैजसो उठबस उनीहरुसँगै हुन्थ्यो । भोट ठेकेदारमार्फत जनताका मागहरु प्रस्तुत गरिन्थे ।
आशयमा जे सुकै भएपनि यसो भनिन्थ्यो ‘हामी गरिबको घर जसले बनाउने कबोल गर्छ भोट उसैलाई दिने कुरा छ ।’ यो सर्त भुँईमा खस्न नपाउँदै हामी बनाउँछौं भन्नै पथ्र्यो । सबैले भने र भोटको याचना गरे । त्यतिबेला प्रतिवद्धता जनाए अनुसारका बाटोघाटो बनेका हुन्थे भने सायद यसपटकको उम्मेदवारले कुन बाटो बनाउँछु भनेर भोट माग्थे होलान् ? सम्झिँदा हाँसपनि उठ्छ ।
यी त भए गाउँ टोलका कुरा । चुनावमा त्यति साना सपनाले मात्र काम गर्ने कुरा भएन ।
नेपालको झण्डावाला पानी जहाज चलाउने, कोशी, गण्डकीमा मालवहाक पानी जहाज ल्याउने, पूर्वपश्चिम रेल चलाउने, घरघरमा ग्यास पाइपलाइन जडान गर्ने सपना देखाउने राष्ट्रियस्तरका नेताहरु हाम्रै मुलुकमा थिए । त्यही स्तरको सपना नबाँडे पनि स्थानीय तहका उम्मेदवारहरुले यस्तै थुप्रै सपनाहरु देखाएका थिए । स्मार्ट सिटी बनाउँछौं, स्याटेलाइट सिटी बनाउँछौं, सरकारी स्कुललाई पहिलो रोजाइको र आकर्षक बनाउँछौं, अस्पताल त वडैपिच्छे खोल्छौं, भ्यूटावर बनाउँछौं, गतिलै प्रदर्शनीस्थल बनाउँछौं, खेलमैदान र पार्कहरु बनाउँछौं, डुवान नियन्त्रण गर्छौं आदि इत्यादि सपना राम्रैगरी बिक्री भयो विराटनगरमा ।
यसपटकको चुनावमा नारा र मुद्दा खोजीरहेका पार्टीहरुलाई धेरै अप्ठ्यारो छैन । २०७४ सालको घोषणापत्र कपिपेस्ट गरे पुग्छ । अरु थप्न थाल्नुभयो भने पानी जहाजका प्रवद्र्धकलाई जित्नुहुनेछ । त्यस्तो गल्ती नगर्नु बेस । दलहरुले रोजगारी बढाउने, कृषि उत्पादन बढाउन किसानलाई सहयोग गर्ने, स्वास्थ्य सेवामा स्थानीय तहले नै सहयोग गर्ने जस्ता अनेकौं सपनाहरु पनि घोषणा पत्र मार्फत बाँडे ।
यसो फर्केर हेर्नुभयो भने के के पुरा भएछन् प्रष्ट हुन्छ । न हिजो विश्वास गरेर भोट हाल्नेका सन्तानले नागरिकता पाए, न तिनका घरको टाटी फेरियो, न भ्यूटावर चढ्न पाए, न शुद्ध पिउने पानी खान पाएका छन्, न त रोजगारी बढाए न त्यसका लागि गाउँटोलमा कुनै कार्यक्रम नै लगे । कार्यालयमा बसेर प्रशासनिक कर्मचारी जस्तै बनेका जनप्रतिनिधि वास्तविक जनताको प्रतिनिधि बन्न सके त ? जनताले समीक्षा गर्छन् होला । हुन त सबैं ढाँट भएको ठाउँमा जनताले कुनै एउटालाई औंलो नदेखाउलान् । हिन्दीमा एउटा भनाइ ‘जो जिता वो सिकन्दर’ । त्यो औंला त्यही सिकन्दरलाई पहिले देखाउनु पर्छ । अरु गफाडीको पालो त्यसपछि मात्र ।