हिमा मैनाली
८ मार्च अर्थात ११२ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको । यो हामी महिलाहरुको दिन, यो दिनलाई दिवसका रुपमा मनाउन थालिएको पनि ११२ बर्ष पुगेछ । यसरी बितेको यो लामो समय मैले सम्झिरहँदा मेरा आँखाबाट अनयासै आँसु झरेको महसुस भयो ।
अनि ती मेरा भावनाहरु केलाउँदै मन बुझाउन खोज्दा कति पनि मन बुझाउने आधार कमजोर भएको महशुस गरे । यसरी नारी दिवसको शुभकामना दिन पनि किन आज मेरा शब्दहरु हराईरहेका छन् ? दिनप्रतिदिन मानिसहरु किन यति धेरै क्रुर बन्दैछन् भन्ने कुराले मलाई पिरोलिरहेको छ ।
मैले ८ मार्चलाई सम्झिरहँदा ती छोरीबुहारी र अबोध बालिकाहरु जो नारी भएकै कारण ज्यान गुमाउनु परेको छ, उनीहरुले आज पनि सुरक्षित भएर बाच्न नपाएको घटनाहरुलाई स्मरण गरिरहेकी छु । यो कारुणीक बेदनालाई सम्झिँदै गर्दा फेरि मैले एउटी नारीलाई मृत्युवरण गराउन कहिले सासुका रुपमा, कहिले बुहारीका रुपमा कहिले भाउजु त कहिले नन्द, देवरानी, जेठानी र साथीका रुपमा खेलेको भूमिकालाई सम्झिरहेको छु । यस्ता कार्यमा कतै न कतै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिलाकै सहभागिता देख्दछु ।
दिन प्रतिदिन हामी महिलाहरु एक आपसका सारथी बन्नुका सट्टा किन दुष्मन बनिरहेका छौ ? प्रश्न आफैंमा उब्जिन्छ । यो प्रश्नको उत्तर कसले दिने सोचनीय विषय बनेको छ । यसरी भावनाहरुसँग खेल्दै जाँदा मेरो मानसपटलमा निर्मला पन्तको हत्या, उनको चित्कार अनि ७ वर्षे बालिका आफन्तबाटै बलात्कृत भएर ज्यान गुमाउनु परेको घटना आउँछ ।
ती अबोध बालिकाहरुको चित्र र चित्कार जसले मलाई महिला हँु भन्ने कुराले निकै चिन्तित तुल्याउछ । यी त प्रतिनिधिमुलक घटनाहरु मात्र हुन् । यस्ता अनगिन्ती घटनाहरु संचार माध्यमबाट दिनैपिच्छे सुनिन्छन् र हेरिन्छन् । २१ आंै शताब्दीका हामी सभ्य भनेर चिनिएका मानिसहरुबाट यस्ता दर्दनाक र अमानवीय ब्यवहारहरु किन हुन्छन् ? प्रश्न गम्भीर छ ।
प्रविधिको विकासले सिङ्गो संसारलाई एक बनाएको छ । विश्वका जुनसुकै कुनामा भएका सकारात्मक र नकारात्मक दुबै कुराहरुको जानकारी प्रत्यक्ष प्राप्त गर्ने अवसर मिलेको छ । तर, नेपाली समाज सकारात्मक पक्षको आयातभन्दा नकारात्मक पक्षलाई अंगीकार गरिरहेको यी माथिका घटनाहरुबाट पुष्टि हुन्छ । आज यस्ता घटनाहरु घट्दो होइन, बढ्दो क्रममा छन् ।
हिजो महिला स्वतन्त्रताको लडाई लडेका हामी महिलाहरुले अझसम्म पनि न्यायको लडाई लडिरहनु परिरहेको छ । केही शहरिया, सभ्रान्त र कानुनलाई खरिद बिक्री गर्नसक्ने महिलाहरुका लागि मात्र स्वतन्त्रता प्राप्त भएको अनुभुति भइरहेको छ । यस्ता ब्यक्तिहरुले महिला अधिकारको नारा लगाई यसको दुरुपयोग गरिरहेका छन् ।
तर, आम रुपमा आज पनि महिलाहरुले स्वतन्त्रता प्राप्त गरेका छैनन् । साच्चिकै पीडित महिलाहरु आज पनि न्यायवाट बन्चित छन् । आज पनि विहान विद्यालय पठाएकी छोरी सुरक्षित घर फर्किन्छे कि फर्किन्न ? भन्ने पिरले आमालाई सताईरहेको हुन्छ ।
विहान आर्थिक उपार्जनका लागि घर बाहिर निश्केका छोरी, बुहारी, श्रीमती सुरक्षित छन् कि छैनन् ? भन्ने पिरले परिवार रुमलिरहेको हुन्छ । वर्षौदेखि न्यायको लागि लडिरहेका निर्मला जस्ता पीडितहरुले आजसम्म पनि न्याय पाउन सकिरेहका छैनन् । यस्तो अवस्थामा म आज कुन शब्दले आन्तराष्ट्रिय नारी दिवसको शुभकामना दिन सकौं ।
त्यसैले आज म शुभकामना होईन, ती नारीहरु जसले महिला भएकै कारण आफ्नो ज्यान गुमाए, तिनीहरुलाई श्रदाञ्जली दिन चाहन्छु । अनि ती नारीहरु, जो न्यायका निमित्त लडिरहेका छन् । तिनीहरुलाई न्याय प्राप्तिको शुभकामना दिन चाहन्छु । साथै ती नारीहरु, जो अन्यायबाट पिल्सिरहेका छन्, उनीहरुलाई नारी स्वतन्त्रताको संघर्षका लागि एकजुट हुन आव्हान गर्दछु ।
(लेखक महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा कार्यरत प्राध्यापक हुन्)