विराटनगर । मोरङको लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया बालिका करुणा राईको हत्याको आशङ्कामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले दुई जना पक्राउ परेको पुष्टि गरे । ‘घटनामा संलग्न हो कि भनेर दुई जना पक्राउ परेका छन्, अहिले नाम सार्वजनिक गर्न मिल्दैन,’ उनले भने ।

मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा ती बालिकाको शव आज बिहान फेला परेको थियो । उनको शव नाङ्गो अवस्थामा भेटिएको थियो । शवको पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बालिकाको बलात्कार पछि हत्या भएको हो कि भन्ने आशङ्का रहेको भएपनि पोष्टमार्टम रिपोर्ट नआइ यसै हो भन्न नसकिने मुकारुङले बताए ।

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेदेखि बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई सूचना दिएका थिए ।

घटनास्थल बालिकाको घरबाट लगभग ३ किलोमिटरजति दक्षिण र उनी अध्ययनरत विद्यालयबाट लगभग २ किलोमिटरजति पश्चिममा पर्ने स्थानीय राज थापाले बताए । थापाका अनुसार प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । चार/पाँच सयको संख्यामा भेला भएका स्थानीयले आक्रोसित हुँदै नाराबाजी र प्रदर्शन गरिरहेको उनले बताए ।