पाठेघर नै सुम्पिदिए

 सुजाता निङ्लेकु

सँधै जस्तो उर्जा छैन । कहिलेकाँही त स्वास फेर्न गाह्रो भए जस्तो हुन्छ । त्यो समय लाग्छ मेरो अन्तिम समय आँउदैछ । त्यहीबेला उसलाई सम्झन्छु जसले मेरो मन, मुटु म बाट खोसेर लगेको छ । हो, उही नजिकको मान्छे मेरो नजिक भइदियोस् झँै लाग्छ ।

तर, मेरो छेउछाउमा एक्लोपन र मेरो छटपछीबाहेक केही पाउँदिन । यस्तै गहिरो सोँचाइले होला, रातभर निदाउन सक्दिन । अनिदोले पनि होला बिहान चाँडै उठ्न गाह्रो हुन्छ । बिहानै घरको गल्लीबाट आउने सब्जिवालाको आवाजले निन्द्रा विथोलिदिन्छ ।

सँधै मोबाइलको अलरामसँगै मलाई आजभोलि सब्जिवालाको आवाज अलराम बनेको छ । त्यहीमाथि गोली झैँ बर्सने आमाको गाली । मौन भएर सुनिरहन्छु, त्यसमा पनि मिठास नै छ ।
आमाको एउटै प्रश्न हुन्छ, ‘तलाई के भएको छ ?’ मौनताबाहेक मसँग आमालाई दिने प्रश्नको जवाफ केही छैन । किनकी मलाई नै थाहा छैन, के भइरहेको छ । या चाहेर पनि मनमा साँघुरिएर बसेको कुन्ठा आमालाई पोख्न सक्दिन ।

यस्तै–यस्तै कुरा मनमा खेलाउँदा खेलाउँदै अफिस जाने बेला भएछ । आमाको दबाबले थोरै खाना खाए । हतारहतार तयार भएर, स्कुटर स्टार्ट गरेर अफिस लागे । आज अलिक चाँडै अफिस पुग्नुथियो । तर, निर्धारित समयमा अफिस पुग्न सकिन । आज पनि हाकिमको गाली बर्सियो, मौन भएर सुन्न बाहेक के नै पो थियो र ?

कामको चाप । अनिन्दो र ढाड दुखाइले सँधै जस्तो काम गर्न सकिरहेकी थिइनँ । ‘दिनै जस्तो तौल घट्दै गएको छ, के भयो सिमा ?’ मेरो क्याविन छेउको साथीले प्रश्न गरिन् । म झस्किए । तर, जवाफविहिन भए ।

‘खै यार ! के भएको छ आजभोलि खाना पनि रुच्दैन त्यही भएर होला’ मेरो जवाफ थियो । ‘ए ! ओके, ल काम गर यार’ ढाडमा धाप मार्दै सान्तवानाको भाव व्यक्त गरेर उनी पुनः आफ्नै काममा गइन् ।

मलाई असह्य पीडा भइरहेको थियो । घर जाउँ त कामको चाङ थुप्रिरहेको थियो । नजाउ ढाड दुखेर थेगिनसक्नु पीडा । काम र पीडाबीचको दोसाँधमा कार्यालय समय कटाउनु थियो । र, कटाएँ पनि ।

मलाई घर पुगेर एकान्तमा बस्नु थियो । ढाडलाई आराम दिनुथियो । तर, बदलिदो स्वभावले परिवारै चिन्तित थिए । परिवारदेखि टाढिएर पीडा लुकाएको पनि तीन महिना भईसकेको रहेछ ।
चार वर्ष अगाडि ठिक फागुन २ गते अर्थात ‘भ्यालेन्टाइन डे’ कै दिन दिपेनसँग भेट भएको थियो । त्यहि दिनदेखि मेरो जीवनमा हर्ष, उल्लास, उमंग छाएको एकाएक खुशी उजाडिएको देख्दा परिवार नै अचम्मित थिए । घण्टौ टेलिफोनमा हुने संवाद एक सेकेन्डमा नै सकिन्थ्यो । खै उसको मनमा के चल्दै थियो म आफै अनविज्ञ थिए । मैले सोध्न चाहिन या उसले भन्न चाहेन ।

‘के भयो तँलाई ?’ आमाको यही प्रश्नले दिपेनको सोँचमा डुबेको म पुनः आफंैतिर फर्किए । मलाई आराम चाहिएको थियो । तर, परिवारको चिन्ताले सहजै कोठा जान सकिन । तर, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्याले सताइरहेको थियो । धेरै दिनपछि आमासँगको लामोे बसाइमा पनि केही पिडा पोख्न सकिन ।

आजभोलि प्रविधिले सहज बनाएको छ । त्यहि प्रविधिको प्रयोग गर्दै आफूलाई देखिएको समस्या बारे गुगल सर्च गरेर हेरे चित्त बुुझ्दो केही आएन । यस्तै समस्याका चाङले थुपरिएको मेरा रातहरु सँधै अनिन्दो वित्यो । तर, समाधान भेटिनँ ।

दुःखेको शरीर, भारी मन लिएर कार्यालयसम्म त पुगे तर कामलाई निरन्तरता दिन सकिनँ । बिदा मागेर अफिसबाट अस्पताल लागे । विज्ञ गाइनोको डाक्टर भएकोमा पुगे र महिनौंदेखि रोगको भारी बोकेर हिँडेको म डाक्टरमाझ पुगेर सबै पीडाको पोको फुकाए ।

डाक्टराको सल्लाह अनुसार सबै चेकजाँच भयो । म रिपोर्टको पर्खाइमा थिए । त्यो समय परिवार थियो । तर, आफूलाई एक्लै पाए । करिब तीन घण्टाको एक्लो बसाई, पर्खाइ र छटपटीपछि रिपोर्ट आयो । म छाँगाबाट खसे । संसार अन्धकार भयो । म छेउको डाक्टरलाई देखिन । खै कहाँ पुगे पुगे ? निक्कै समयपछि आफैंलाई सम्हाले । म पाठेघरको क्यान्सरले ग्रसित भएको रहेछु ।
क्यान्सर दोश्रो चरणमा पुगिसकेको रहेछ । करिब ४ वर्षदेखि कहिले गर्भनिरोधक चक्की खाए, कहिले गर्भपतन । अब, अप्रेशन गरेर पाठेघर नै फाल्नुपर्ने रे । उसको खुशीका लागि मैले लगातार दुई पटक बच्चा गुमाए । त्योसँगै मेरो पाठेघर पनि गुमाएछु ।

थाहा छैन, दिपेन कुन दुनियाँमा रमाइरहेको छ । सुन्दैछु परिवारले खोजिदिएको केटीसँग घर संसार जोड्न लागिरहको छ रे । उसलाई एकपटक कल गरे, सबै समस्या ‘शेयर’ गरे । तर, मेरो मायाँ, त्याग र समर्पणलाई पैसासँग तुलना गरिदियो । म माया मा हारें, हारिन मात्रै पाठेघर नै सुम्पिदिएँ । परिवारलाई कसरी भनौँ म मौन छु यार !

पथरी आयो । झर्ने होइन ? सहचालकको खर्सो आवाजले म झस्किएँ । त्यहि समय गाडीमा बजेको खेमराज गुरुङको आवाजमा रहेको ‘बेहाल भयो जिन्दगी यो, त्यहि मोरीको जालमा परी, आँशुको त मूल्य छैन । बलेसीको पानीसरी…. ’

गीत बजिरहेको थियो । त्यही गीतको शब्दले केही दिन अगाडि मेरी साथी सिमासँगको फेसबुक म्यासेन्जरको संवादभित्र डुबेछु । मन भारी बनाएर गाडीबाट ओर्लिए । र गन्तव्यतर्फ लागें ।

मङ्गलबार, ०३ फागुन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर