विराटनगर । मोरङको पथरी शनिश्चरे २ स्थित नगर अस्पतालमा अव आकस्मिक र अन्तरंग सेवाका लागि चौविसै घण्टा उपचार सञ्चालन हुने भएको छ ।

सविधानसभा सदस्य चण्डीप्रसाद राईले आज आकस्मिक र अन्तरंग सेवाको उद्घाटन गर्दै नगरवासीकालागि स्वास्थ्यको पहुँच पुर्याउन नगरपालिकाले महत्वपूर्ण काम गर्दै आएको बताए । उनले प्रत्येक वडामा समेत स्वास्थ्य केन्द्र सञ्चालन गरेर प्रभावकारी काम गरेको बताउँदै नगर अस्पताल क्षेत्र आपपासको सडक निर्माणमा नगरले ध्यान दिनुपर्ने समेत सुझाव दिए ।

नगर प्रमुख एवम् नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले स्वास्थ्यको क्षेत्रमा नगरले ध्यान दिइरहेको जनाउँदै संघीय सरकारको बजेटको नयाँ भवन बनिसक्दा ५० शैयाको अस्पताल सञ्चालन व्यवस्थापनको तयारीमा रहेको बताए । उनले नगरले २८ करोडको लागतमा पथरी बजारमा नगरको व्यवसायिक भवन बन्ने कामको ठेक्का प्रक्रिया अघि बढेको, विपद व्यवस्थापन गण स्थापनको पहल भएको सहितका थप गतिविधिका बारेमा जानकारी गराए ।

उपप्रमुख एवम् समिति उपाध्यक्ष यमुना विष्ट वास्तोला, नगर प्रवक्ता एवम् समिति सदस्य यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितले स्थानीय जग्गादाताको सहयोगमा १ विगाहा बढी जग्गा दान भएपछि अस्पताल सञ्चालनमा सहयोग मिलेको बताए ।

१५ शैयाको अस्पताल सञ्चालनको सरकारी स्वीकृति प्राप्त भएपछि भौतिक व्यवस्थापनमा जुटेर नगरले चौविसै घण्टा सेवा प्रदान गर्न सुरु गरेको हो । स्थानीय तहको निर्वाचन अगावै स्थानीय जग्गादाताले जग्गा प्रदान गरेपछि केन्द्र सरकारको बजेटमा स्वास्थ्य चौकी भवन बनेको थियो ।

१ करोड १२ लाखको लागतमा १८ कोठे २ तले भवन निर्माण भएको थियो । त्यो बेला स्थानीयको ठूलो उत्साहमा ११ जनाले ४ करोड बढी मुल्य पर्ने साढे १२ कठ्ठा जग्गा दान गरेका थिए । बाबुराम राई र सुनाहाङ्ग सवेन्हाङ्गले ३/३ कठ्ठा, श्रीनारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहालले १/१ कठ्ठा तथा होमबहादुर गुरुङ, रामबहादुर गुरुङ्ग, यक्षप्रसाद ढुङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापाले १०/१० धुर जग्गा दान गरेका थिए ।

त्यहाँ, अन्यले पुनः जग्गा थप गरेका सोही स्थानमा शरणार्थी सम्बन्धी राष्ट्संघीय उच्चायोगको सहयोगमा ८० लाखमा एउटा भवन निर्माण भएको थियो । हाल संघीय सरकारले १८ करोड रुपैयाँ अस्पताल भवनका लागि छुट्याएपछि भवन निर्माणको काम धमाधम अघि बढेको छ ।

२ नम्बर वडामा नगर अस्पताल, ५ मा हसन्दह स्वास्थ्य चौकी, ९ मा शनिश्चरे स्वास्थ्य चौकी र बाँकी ७ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र, १६ वटा खोप क्लिनिक, १२ वटा गाउँघर क्लिनिक छन् । प्रत्येक वडामा ३ जनाका दरले ३० जना स्वास्थ्य स्वयमसेविका कार्यरत रहेका छन् । नगरको ३ वटा एम्बुलेन्स र एउटा शव वाहन सेवा सञ्चालनमा छ । ७० वर्षमाथिका ज्येष्ठ नागररिकलाई प्रदेशभित्र उपचार गर्न जानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेको छ ।