जनयुद्ध दिवसको आयाम र औचित्य

 राजेन्द्र किराती

‘आजसम्मको मानव समाजको इतिहास नै वर्गसङ्घर्षको इतिहास हो ।’ कार्ल माक्र्सले सन् १८४८ मा जारी गरिएको कम्युनिष्ट घोषणा–पत्रमा यो भनाइलाई असाध्यै मर्मको साथ व्यक्त गर्नुभएको छ । यो युवा माक्र्सको लहड, सनक, झोंक अनि आवेशकै अभिव्यक्ति मात्र थिएन । यो उनले मानव समाजको वर्ग अन्तरविरोधपूर्ण चरित्र र यसको ऐतिहासिक विकास प्रक्रिया अन्तर्गत गरिएको असाध्यै गहन खोज, अनुसन्धान र अध्ययनको निष्कर्ष थियो । माक्र्सभन्दा अघि नै पनि ठूला–ठूला क्रान्ति र विद्रोहहरू नभएका होइनन् । यसमा स्पार्टकसको विद्रोह, अमेरिकी स्वतन्त्र सङ्ग्राम अनि फ्रान्सेली राज्यक्रान्ति मुख्य रहेको देखिन्छ । माक्र्सले यस्तै आन्दोलनहरूलाई वर्गसङ्घर्ष भनेर सैद्धान्तीकृत र दार्शनिकीकृत गर्नुभयो । त्यसपछि वर्गसङ्घर्ष पदावली स्थापित भयो ।

वस्तुतः विश्व मानव समाजको यही सार्वभौम गतिशील र परिवर्तनशील चरित्रकै कारण इतिहासको विभिन्न कालखण्डहरूमा अघि–पछि कतै न कतै ठूला–ठूला विद्रोह, सङ्घर्ष र आन्दोलनहरू हुँदै आएका छन् । यही सिलसिला अन्तर्गत नेपालमा पनि वि.सं. २०५२ सालमा जनयुद्धको उद्घोष गरियो । वास्तवमा यो कुनै लहड, सनक, झोंक र रिसको अभिव्यक्ति मात्र थिएन । अर्थात् दलगत र व्यक्तिगतरूपमा कसै र कोहीप्रति मात्र लक्षित थिएन । यो मान्छे मार्न रहर लागेर गरिएको रोमाञ्चित र भावोत्तेजनापूर्ण दिनचर्या पनि होइन । किनकी स्वयम् जनयुद्धमा लामबद्ध युवायुवतीहरू सबै तपाईहरूकै जस्तो कमलो मन, मुटु, भावना, संवेदना र करुणा भएकैहरू थिए । चट्टानकै मन र मुटु कसैको थिएन । तर यो भावनाको सवाल थिएन । समग्रमा तत्कालीन अन्याय र विभेदपूर्ण राज्यसत्ता विरुद्धको वर्गसचेत, सङ्गठित र योजनाबद्ध राजनैतिक आन्दोलन भने अवश्य नै थियो ।

युद्ध आफैमा निर्मम ऐतिहासिक राजनैतिक प्रक्रिया हो । माओले युद्धलाई रक्तपातयुक्त राजनीति र राजनीतिलाई रक्तपातहीन युद्ध भनेर परिभाषित गर्नुभयो । यो साँचो कुरा हो । खास गरेर युद्ध कसैको रहर, भावावेश र उत्तेजनामा अभिव्यक्त हुने कुरा होइन । किनकी सामान्यतया चिसो बन्दुक बोकेर युद्धमोर्चामा सहभागी हुने रहर कसैलाई पनि हुँदैन । यस्तो युद्धको राजनैतिक लक्ष्य, योजना र सङ्गठित शक्ति अनिवार्य हुन्छ । अन्यथा त्यो आतङ्क सृजना गर्ने र आफ्नो स्वार्थ पूर्ति गर्ने बहाना मात्र बन्दछ, जुन सरासर गलत हुन्छ । वास्तवमा नेपाली राष्ट्रिय राजनीतिमा दश वर्षे जनयुद्ध एउटा यस्तो ऐतिहासिक प्रक्रिया थियो, जसले थुप्रै परातनवादी सोच, चिन्तन, मनोविज्ञान, जीवनशैली र कार्यशैलीहरूमा आमूल रूपान्तरण गरेरै छाड्यो ।

आज हाम्रो राष्ट्रिय राजनीति यही जनयुद्धकै बलमा स्थापित एजेण्डाहरूद्वारा निर्देशित रहेको छ । यो वस्तुगत सच्चाइ हो । यति लेख्न र भन्न पाउँदा पनि गर्व लाग्छ । कुनै आग्रह, पूर्वाग्रह, स्वार्थ र नियत नराखी भन्ने हो भने सिङ्गो नेपाली राजनीति नै जनयुद्धको विरासत वरिपरि घुमिरहेको छ । आज हाम्रो संविधानले व्यवस्था गरेको गणतन्त्र, सङ्घीयता, समावेशी, धर्मनिरपेक्षता र समानुपातिक सिद्धान्तहरू जनयुद्धकै राप र चापमा जबरजस्त स्थापित भएका मुद्दाहरू हुन् । महिला, दलित, अल्पसंख्यक, सिमान्तीकृत र लोपोन्मुख उत्पीडित समुदायहरूलाई अरु सरह गणना गर्ने राजनैतिक वातावरण तयार हुनु पनि जनयुद्धकै उपज हो ।

यता जनयुद्धलाई हेर्ने दृष्टिकोण पनि फरक–फरक रहेको छ । पहिलो यो मानव समाज विकासको ऐतिहासिक प्रक्रिया अन्तर्गतकै आन्दोलन भनेर स्वीकर गर्नेहरू छन् । उनीहरू यसलाई इतिहासको नियम भनेर परिभाषित गरिरहेका छन् । दोस्रो, यो गर्नु हुन्थेन तर भइहाल्यो भन्दै विकसित राजनैतिक धरातलमा तर मार्न पल्किनेहरू छन् । उनीहरू फेरि यस्तो काम गर्नु हुँदैन भनेर फरक भाष्य प्रयोग गरिरहेका छन् । तेस्रो, यो पूर्णरूपमा गलत थियो, छ र हुनेछ । यो भुलेर पनि पुन दोहोर्याउनु हुँदैन । यो नितान्त काटमार नै थियो । यस्तो ऐतिहासिक गल्ती फेरि गर्नु हुँदैन भन्नेछ । यसमा पहिलो मत समाज गतिशीलता र परिवर्तनशीलताको मर्मबाट आएको सत्य कुरा हो । दोस्रो अवसरवादी र बाध्यात्मक स्थितिको बोली हो । तेस्रो जनयुद्धमा अभिव्यक्त वर्गपक्षधरता विपरीत फरक वर्गदृष्टिकोणजन्य अन्तरविरोधपूर्ण अभिव्यक्ति हो । तर कुरा विडम्बनापूर्ण यसकारण पनि छ कि जनयुद्धको भरमार विरोध गर्नेहरू नै जनयुद्धद्वारा प्राप्त भौतिक राजनीतिक परिवेशमा रमाइरहेको देखिन्छ ।

यतिखेर नेपालमा जनयुद्धद्वारा निर्देशित राजनैतिक एजेण्डाहरू कार्यान्वयनको सिलसिलामा रहेको छ । अझ संविधानमै यसको कतिपय मर्म र भावना समेटिएको छ । समग्र राजनीतिक मुद्दाहरू नै जनयुद्धको आधारभूत उद्देश्य अनुरूप देखिन्छ । राजनीतिकरूपमा यो सुखद् र गर्व गर्नलायक सूचक हो । यस्तो वस्तुगत राजनीतिक धरातलमा अझै पनि जनयुद्ध र जनयुद्ध दिवस बारे भ्रम र अन्यौलता कायम रहनु विडम्बना बाहेक अरु केही होइन ।

तसर्थ, नेपाली राजनीतिमा जनयुद्धको बहुआयामिक एवम् दूरगामी महत्व रहेको छ । मूलतः यसको राजनैतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक आयाम र विरासतको महत्व भावी दिनहरूमा झन् बढ्दै जानेछ । त्यसैले जनयुद्ध दिवस मनाउने सन्दर्भमा सङ्कुचित भएर होइन, चौडा छाती पार्नुहोस् । इतिहासतर्फ फर्किनु होस् । धन्य भनेर गर्व गर्नुहोस् । लड्न साहस गर्नेहरूलाई सलाम गर्नुहोस् । शहीदहरूको सामुन्ने शिर झुकाउनुहोस् । वर्तमान भौतिक राजनीतिक परिवेश सम्झेर गौरवान्वित हुनुहोस् । यसको इतिहासले मूल्याङ्कन गर्नेछ । वास्तवमा यो ऐतिहासिक प्रक्रियागत आन्दोलन थियो । यसको रणनैतिक उद्देश्य भनेको समानता र न्यायमा आधारित उन्नत समाजव्यवस्था स्थापना गर्नु नै हो । त्यो महान् लक्ष्य प्राप्त गर्नु त अझै धेरै बाँकी छ । यसको लागि लामो सङ्घर्षको ऐतिहासिक प्रक्रिया गुजार्नै पर्दछ । तर जनयुद्धको यस्तो औपचारिक र प्राविधिक कार्यक्रमहरू आयोजना गरेकै भरमा ऐतिहासिक प्रक्रिया पूरा हुँदैन । यसमा कोही भ्रममा हुनुहुन्छ भने बेलैमा मुक्त हुनुहोला ।

आइतबार, ०१ फागुन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर