सप्तकोशी बैंकको १५ करोड हिनामिना प्रकरण

हिनामिना रकम मिटरब्याजसहित सुरा र सुन्दरीमा खर्च गरेको आरोपीको बयान

विराटनगर । विराटनगरस्थित कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको रकम घरजग्गा, मिटरब्याज, सुरा र सुन्दरीहरूमा खर्चिएको पाइएको छ । घोटला प्रकरणमा समातिएका मध्ये एक जना प्रतिवादीले दिएको बयान अनुसार बैंक हिनामाबाट आएको पैसा घरजग्गा, मिटरब्याजसहित सुरा र सुन्दरीमा खर्चिने गरेको पाइएको हो ।

बैंक घोटाला प्रकरणमा बैंकका तत्कालिन सिइओ नविन सुवेदीसहित चार जना पक्राउ परेका छन् । मोरङ प्रहरीले उच्च अदालत विराटनगरमा ‘बैंकिङ कसुरमा’ म्याद थप गरि अहिले अनुसन्धान गर्दै आएको छ । बैंकको घोटला प्रकरणसँग जोडिएर आएका अनौठा तथ्यहरूले यी चार कुराबीच गजबको कनेक्सन देखाउँछ ।

पक्राउ परेका मध्ये सिइओ सुवेदीको आफन्त खातामा झण्डै १४ करोड रकम ‘ट्रान्सफर’ भएको देखिएको छ । सिइओ सुवेदीका नातेदार बबिता बस्नेतको खातामा सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।

यही एक वर्षको आसपासमा सुवेदीले विराटनगर ५ स्थित नीजि निवाससँगै सँधियारको एकतले घरसहित २ करोडमा खरिद गरेका छन् । ‘खरिद गरेको घर घोटला गरेको रकमले खरिद गरेको हो, होइन यस पाटोतर्फ पनि अनुसन्धान भइरहेको छ,’ बैंकिङ कसुरको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले भने, ‘घोटाला गरेको रकम घरजग्गा, मिटरब्याज, सुरा र सुन्दरीमा पनि खर्चिएको देखिएको छ । कसले कति के– के मा हिनामिना गरेको रकम केमा लगानी गरेका छन् । त्यसतर्फ पनि अनुसन्धानको दायरा बढाएका छौं । त्यो पनि केही दिन भित्रमा खुल्नेछ ।’ यस घटनामा प्रहरीले सुक्ष्म रूपले अनुसन्धान गर्दै आएको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए ।

१४ पुसमा बैंकका तत्कालिन सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरि अहिले मोरङ प्रहरीले उच्च अदालत विराटनगरमा बैकिङ कसुरमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ । यसअघि १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । भट्टराई सिइओ सिइओ सुवेदीका भान्जा हुन् । सामान्य ब्याट्री सम्बन्धि सप्लायर्समा काम गर्ने कनिष्ट सहायमा ल्याएर छोटो अवधिमा सुवेदीले नातामा भान्जा पर्ने भट्टराईलाई जुनियर अफिसरमा नियुक्ति गरि जीएसडी प्रमुख बनाएका थिए । भट्टराईले पाएको जिम्मेवारी हर्ने रेमिट्यान्स तर्फको करोडौं रकम हिनामिना भएको थियो । भट्टराईले १ करोड बढी घोटला रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको नाममा पाँच वटा विभिन्न बैंकको खाताबाट एक करोड बढी रकम झिकेको देखिन्छ ।

बैंकको रकम हिनामाबाट आएको पैसा भट्टराईले सुरा र सुन्दरीमा खर्चिएको तथ्य खुलेको छ । बैंकमा जागिर सुरु गरेपछि भट्टराई विराटनगरका नाम चलेको होटल र रेस्टुराँ सुराको अखडा भएको खुल्न आएको छ । यस्ता होटल र रेस्टुराँमा दिनहुँ हुने ‘जाँड पार्टी’मा रम्नेहरूलाई पनि प्रहरीले ‘मार्क’ गरेको छ । विराटनगरको एयरपोर्ट मोडमा रहेको एउटा रेस्टुरेन्टमा उनले बाक्लै ‘जाँड पार्टी’ गर्ने गरेका थिए । यस्तै यहाँका विभिन्न सेकुवा कर्नर तथा काठमाडौंका रेस्टुराँ एवम् लजहरूमा हुने जमघटले पनि उनीहरू मदिरा र मस्तीका सौखिन रहेको देखाउँछ ।

धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको खुलेको थियो ।

नियन्त्रणमा लिएकामध्ये सिइओ सुवेदी र लेखाप्रमुख भण्डारी नेरुडे लघुवित्त कम्पनीमा लामो समय सँगै काम गरेका थिए । सप्तकोशीमा उनीहरु आएपछि बैंकको अनियमिता गर्न कानुनी, नीति, नियम र प्रक्रिया विधि मिलाउन भण्डारीले ‘आइडिया मेकिङको’ रुपमा सिइओ सुवेदीलाई विश्वासिलो साथ दिएका थिए ।

अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन् । मगरको खातामा पनि सन् २०१६ देखि २०१७ मा दुईवटा फर्जि कारोबार भएको देखिएको छ । प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. नामबाट बित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘ख’ वर्गको बित्तीय संस्था हो ।

तस्बिर : तत्कालिन सप्तकोशी डेभलपमेन्ट बैंकका सिइओ नविन सुवेदीले दुई करोडमा जग्गासहित किनेको एक तले घर  (रातो टिन लगाएको)।

बिहिबार, ०६ माघ, २०७८, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर