विराटनगर । नेपालको जनसंख्याको ४० प्रतिशत जनताले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्ममा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ करोड ५ लाख कटेका हुन् ।
विराटनगरमा समाजवादी प्रेस संगठन मोरङको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनले १८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको जानकारी दिए ।
उनले २ करोड डोज भन्दाबढी थप खोप सुनिश्चित भइसकेकोले खोपको कुनै अभाव नरहेको भन्दै उनले पछिल्लो समय खोप लगाउन आउनेको संख्या न्यून भएकोले सरकारले गाउँटोलमै पुगेर खोप सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले नियमित खोप लगाउने खोप केन्द्र बाहेक सर्वजनिक स्थलमा खोप डेस्क स्थापना गरेर नागरिकलाई पहिलो र दोस्रो मात्रा खोप लगाउने तयारी बढाएको बताए । ‘सरकारसँग प्रयाप्त खोप छ तर खोप लगाउनेहरु खोप केन्द्रसम्म आइरहेका छैनन्,’ मन्त्री खतिवडाले भने, ‘पहिलो र दोस्रो मात्रा खोप नलगाएसम्म बुस्टर डोज दिन नमिल्ने भएकोले सबैलाई खोप लगाउन गाउँ टोलमै पुग्ने गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्न हामीले तीनै तहका सरकार र निकायलाई निर्देशन गरेका छौं ।’ अभियान कम चलेका जिल्ला र गाउँटोल पहिचान गरी खोप कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
प्रदेश १ मा अहिले पनि २ लाख डोजभन्दा बढी खोप मौज्जात रहेको जानकारी दिँदै मन्त्री खतिवडाले थप खोप आवश्यक परेमा तत्काल उपलब्ध गराउने जानकारी दिए । १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका लागि आवश्यक खोप सरकारसँग मौज्जात भएपनि त्यसमा लाग्ने घोलन र सिरिञ्ज विश्वभर अभाव भएकोले केही ढिलाइ भएको मन्त्री खतिवडाले जानकारी दिए । पछिल्लो समय घोलनको आपूर्ति हुन थालेको र सिरिञ्ज पनि केही दिनमा आइपुगेपछि एकैपटक सबैतिर १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने उनले बताए ।
बुस्टर खोपको समस्या छैन
दुई मात्रा खोप लगाएको ६ महिना पुरा भएकाहरुले बुस्टर डोज लिन सक्ने मन्त्री खतिवडाले बताए । पहिले लगाएकै खोपको थप मात्रा लगाउनु पर्ने भएकोले यसै अभियानमा नागरिकहरुले बुस्टर खोप लगाउन सक्ने उनले जानकारी दिए । अहिले फ्रन्टलाइनर, दीर्घ रोगी, जेष्ठ नागरिकलाई बुस्टर डोज दिने योजना रहेको भन्दै सोही अनुसार बुस्टर डोज पनि उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन गरिसकिएको मन्त्री खतिवडाले जानकारी दिए ।
मैले पनि बिमा रकम पाइँन
मन्त्री खतिवडाले कोरोना बिमा वापतको रकम आफैंले नपाएको गुनासो गरे । ‘मैले पनि बिमाको रकम पाएको छैन,’ कोरोना बिमा वापतको रकम कहिले आउँछ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘मेरो म्याडमले पाउनु भयो, कति कारणले हो मैले पाएको छैन ।’ उनले कुनै कारणले बिमा वापतको रकम रोकिएको हुनसक्ने बताए । बिमा कम्पनीहरुले आवश्यकताभन्दा बढीको नामावली पठाएकोले पनि बिमा रकम निकासा नभएको हुनसक्ने उनले बताए ।