सम्पादकीय
पछिल्लो समयमा कृषिलाई ठूलो व्यवसाय बनाउन नयाँ पुस्ता अग्रसर बन्नु सुखद् छ । विदेश बसेका, विदेशमै पढेका युवाहरुले विदेशको सीप र प्रविधि भित्र्याएर कृषिकर्ममा नयाँ आयाम ल्याइरहेका छन् । कृषिकर्मलाई आधुनिकीकरण र यान्त्रिकरणको माध्यमबाट नयाँ सम्भावनाको बाटो देखाउने युवाहरु आफू उद्यमी मात्रै बनिरहेका छैनन्, अरुका लागि प्रेरक पनि बनिरहेका छन् । कृषिलाई प्रविधियुक्त रुपमा अघि बढाउँदा हुने फाइदा पनि ठाउँ–ठाउँमा सकारात्मक रुपमा देखापरिरहेका छन् । यसले कृषिलाई आशालाग्दो पेशाका रुपमा स्थापित गरिरहेको छ । यो सुखद् छ ।
प्रदेश १ कै राजधानी विराटनगरमै पनि युवाहरुले ठूलो लगानीमा कृषिकर्म गरिरहेका छन् । झण्डै ८ करोडको लगानीमा विराटनगर १२ का सञ्जय चापागार्इँं र गजेन्द्र शर्मा बञ्जराले सोही वडाको दरैया बस्तीमा आधुनिक कृषि उद्यम सञ्चालनमा ल्याएको घटना कृषिले उद्यमको रुप लिएको एउटा प्रमाण हो । उनीहरु प्रतिनिधि पात्र मात्रै हुन्, यसरी कृषिमा तरक्की गर्नेहरुको संख्या बढिरहेको छ । सर्वसाधारणको यो होस्टेमा सरकारी हैंसे थपिए यसले अझै सकारात्मक परिणाम दिनसक्छ ।
नेपालमा कृषि पेशा अधिकांश समय अपहेलित अवस्थामै रह्यो । मुलुक कृषिप्रधान भनिए पनि यहाँको कृषि अवस्था भने सधैं कमजोर रह्यो । कृषिको आधुनिकीकरणका लागि नीतिगत, प्राविधिक विषयमा जबलियो गृहकार्य गर्नुपर्ने हुन्छ । जमिन र बजारको व्यवस्थापन, बीउबिजनमा अनुसन्धान, उत्पादनलाई बजारसम्म जोड्ने पूर्वाधार, तिनको उचित मूल्य निर्धारणसम्मका कुरामा ध्यान पु¥याउनुपर्ने हुन्छ । अब सरकारले द्रुत गतिमा यसबारे गृहकार्य गर्न जरुरी छ ।
कृषिमार्फत मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने कुरा चलेको धेरै भयो । यो नारा सुन्दा कर्णप्रिय छ । समृद्धि यत्तिकै आउने होइन । समृद्धिका लागि उत्पादन आवश्यक छ । नेपालको उत्पादनको मुख्य आधार कृषि नै हो । त्यसैले कृषिजन्य उत्पादनमा जोड नदिई समृद्धि हासिल गर्न सकिँदैन । कृषिजन्य उत्पादनमा आधारित उद्योग मात्र हाम्रो समृद्धिका आधार बन्न सक्छन् । त्यसैले समृद्धिका लागि राज्यले कृषिमा लगानी गर्न जरुरी छ । कृषि क्षेत्रमा देखिएको श्रमदेखि बीउबिजन र सिँचाइलगायतका समस्यामा ध्यान पु¥याउन आवश्यक छ । सरकारले सार्वजनिक हित हुने गरी कृषकमैत्री नीति ल्याउनु पर्दछ । नेपालको धेरै जनसंख्या अझै पनि कृषिमा आधारित भएकोले कृषिको विकास नै नेपाल समृद्धिका आधार बन्न सक्छन् ।