लोड हुँदैछ...

मेनु

अन्ततः जरासन्धको झैं हविगत डनेकपाले भोग्नुपर्यो

अन्ततः जरासन्धको झैं हविगत डनेकपाले भोग्नुपर्यो

डनेकपाबारे चर्चा तथा टिप्पणी गर्नु बासी सन्दर्भ भयो भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । तर नेपाली कम्युनिष्ट आन्दोनको इतिहासमा त्यो एउटा महत्वपूर्ण कालखण्डको महत्वपूर्ण घटना एवम् सन्दर्भ अवश्य बनिरहनेछ । दुई स्कूलिङबाट हुर्केका दुई महत्वपूर्ण कम्युनिष्ट घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) २०७५ जेठ ३ गते एकीकरण भई नेकपा (नेकपा) बने (अर्थात् डबल नेकपा छोटकरीमा डनेकपा) । कालान्तरमा यी दुवै छुट्टिए । हुन त कम्युनिष्ट आन्दोलनमा मिल्नु र छुट्टिनु कुनै नौलो र अनौठो घटना मानिदैन तर नेपाली राजनीतिमा तिनले पारेको दुरगामी प्रभाव तथा असरहरू भने रहि नै रहने छ । यसो हुनुको कारण र कारकको पनि खोजी गर्नु अत्यावश्यक छ । आज मैले यस सन्दर्भलाई महाभारतको एउटा कथासँग जोडेर डनेकपाको एकीकरण र विभाजनबारे समीक्षा गर्ने अनुमति चहान्छु ।

महाभारत कथामा निक्कै चर्चामा रहेका पात्रहरूमध्ये एउटा पात्रको नाम हो जरासन्ध । जरासन्धका पिता बृहद्रथ मगध देशका राजा थिए । उनका दुई रानी थिए तर उनीहरूबाट धेरै वर्षसम्म सन्तान भएनन् । राजा दुवै रानीलाई बराबरी माया गर्थे तर उनी निसन्तान भई मरिएला कि ! भन्ने पीरमा रहन्थे । सन्तान प्राप्तिका निम्ति धेरै तीर्थब्रत,धामी झाँक्री, वैद्य आदि गरेतापनि कुनै उपाय काम लागेन । एक पटक उनको राज्यमा ऋषि चण्डकौशिक आएर एउटा आँपको रुखमुनी ध्यानगरी बस्न थाले । ऋषि आएको खबर राजाको कानमा पुग्यो । सन्तानको लिप्साले सताइएका राजा बृहद्रथ सन्तान प्राप्तिको आशा लिएर ऋषिका शरणमा पुगे । राजाको निसन्तान हुनुको पीडालाई बुझेर ऋषिले एउटा पाकेको आँप दिदै भने, ‘यो लगेर रानीलाई खुवाउनु !’ दुवैलाई बराबरी माया गर्ने राजाले त्यो आँप पनि दुबैलाई बराबरि बाडेर खान दिए । नभन्दै दुबै रानी गर्भवती भए । अब राजा बृहद्रथको खुसीको सीमा रहेन । दश महिनामा दुबैले छोरा जन्माए । तर शीरदेखि पिँधसम्म आधा–आधा मात्र शरीर भएका छोरा जन्मिए । यस्तो देखेपछि राजा भयभित भए र ती दुबै अर्धपुत्रलाई जंगलमा लगी मिल्काउन लगाए । ती मिल्काइएका अर्धपुत्रको नजिकबाट जरा नाम गरेकी एक दैत्य महिला जाँदैथिन् । उनले यस्ता बालक देखेपछि दुबैलाई दाहिने र देब्रे हातमा राखी जोडिन् । ती दुई टुक्रा बालक पनि जोडिएर एक सुन्दर बालक बन्यो । जराले त्यो बालक दरबारमा लगेर राजालाई जिम्मा लगाइन् । जरा नामकी महिलाले जोडेकी हुनाले उक्त बालकको नाम जरासंध राखियो ।

अब जरासंध राजदरबारमा रानीहरूको स्तनपान गर्दै हुर्कियो । त्यो बालक बिस्तारै शक्तिशाली राजकुमार हुँदै एकदिन राजा बन्यो । जरासंध युद्ध कौशलमा निपूूर्ण थियो । उसलाई कसैलेपनि हराउन सक्दैनथे । उसले आफ्नो साम्राज्य विस्तार गरी ८६ वटा देशका राजालाई बन्दी बनायो । अब १४ देशका राजालाई जितेर १०० जनालाई बन्दी बनाई तिनको एकैसाथ बध गरेपछि ऊ चक्रबर्ति राजा हुने निश्चित थियो । यहाँसम्म कि कृष्णको राज्यको राजधानी मथुुुरामा जरासन्धले सत्र पटकसम्म आक्रमण ग¥यो । जरासन्ध कै डरले गर्दा कृष्णले आफ्नोे राज्यको राजधानी मथुराबाट द्वारिका सार्नुपरेको थियो । यसरी राजधानी छोडेर भागेका कारण कृष्णलाई रणछोड (भगौडा) पनि भनिन्छ ।

उता हस्तिनापुरमा पाण्डवहरूलाई धृतराष्ट्रले दिएको अंश इन्द्रप्रस्थलाई शक्तिशाली राज्य बनाउन नारदले सल्लाह दिन्छन् । त्यसरी शक्तिशाली राजा बन्नको निम्ति युधिष्ठिरले राज सुयोग यज्ञ गर्नुपर्छ भन्ने पनि नारदले नै सल्लाह दिए । तर राजसुयोग यज्ञ गर्न चक्रवर्ति राजा बन्नु पर्दथ्यो । पाण्डवहरु पराक्रमी र शक्तिशाली हुँदाहुँदै पनि युधिष्ठिरलाई चक्रवर्ति राजा बन्न जरासन्ध बाधक थियो । त्यसैगरी कृष्णलाई पनि जरासन्धको तेजोबध गर्नु अत्यावश्यक थियोे । किनकि कृष्ण त जरासन्धदेखि पहिला नै भयभित थिए । त्यसैले उनले पाण्डवहरुलाई जरासन्धको विरुद्ध लड्न उक्साए ।

जरासन्धको दरवारमा भीम र अर्जुन ब्राह्मण भेषमा पुगे तर यो कुरा जरासन्धले आफ्ना सुराकीमार्फत थाहपायो । कृष्णले तुच्छ बचनहरु बोल्दै उसलाई क्रोधित बनाई युद्ध गर्न उक्साए । जरासन्ध मल्लयुद्ध गर्ने तर त्यो पनि भीमसँग मात्रै गर्ने भनि तयार भयो । भीम र जरासन्धको २८ दिनसम्म भिषण युद्ध चल्यो तर भीमले जरासन्धलाई पराजित गर्न सकेनन् । जरासन्धको कमजोरी थाहा पाएका भीमले जरासन्धको खुट्टाबाट चिरेर जतिपटक मिल्काए पनि जोडिएर झन् शक्तिशाली बन्थ्यो । जरासन्धको मरणको रहस्य थाहापाउने कृष्णले भीमलाई चिरेर विपरीत दिशामा फ्याँक्ने हातले इसारा गर्दा पनि भीमले कुरो बुझेनन् । पछि एउटा घाँसलाई चिरेर विपरीत दिशामा फ्याँकिदिएपछि बल्ल भीमले इसारा बुझेर जरासन्धलाई दुई चिरा पारी विपरीत दिशातर्फ मिल्काएपछि उसको अन्त्य भयो ।

सोहीपरी बुर्जुवा संसदमा झण्डै दुईतिहाई सीट जितेको डनेकपाको नेतृत्व मण्डली भित्र अब चक्रबर्ति को बन्ने भन्ने होड चल्यो । साँच्चिकै डनेकपा चक्रबर्ति भयो भने हाम्रो के हविगत होला भन्ने अन्य दलहरूलाई पनि लागिरहेको थियो । त्यसैगरी शक्तिशाली जरासन्ध रुपी डनेकपा अझै सशक्त (चक्रवर्ती) भयो भने हाम्रो मिशन पनि सफल नहोला भन्ने डर भारतीय गुप्तचर संस्था RAW ‘र’, CIA र युरोपेली युनियनलाई प¥यो जो कृष्ण जत्तिकै भयभित थिए । अर्कोतर्फ डनेकपाको नेतृत्व सम्हाल्ने खड्ग ओली साँच्चिकै चक्रवर्ती झैं मैमत्था थिए । उनले आफ्ना आशेपाशे, हुक्के बैठकेहरुका सम्पूर्ण अपराध आँखा चिम्लेर समर्थन गर्दथे । चाहे वाइडबडी प्रकरण होस वा ललिता निवास प्रकरण, सांसद अपहरण काण्ड होस् वा गोकुल बाँस्कोटाको प्रेस मेसिन खरिद प्रकरण अथवा ईश्वर पोखरेलको अम्नी प्रकरण होस वा पप्पु कन्सट्रक्सनका प्रकरणहरु यी सबै अपराधमा डनेकपा रूपी जरासन्ध बद्नाम भइसकेको थियो । संसद विघटन प्रकरण त उनीहरुको नेतृत्वमा को हाबी हुने र चक्रवर्ति बन्ने कसरतको परिणति थियो ।

यसरी महत्वकांक्षा, आडम्बर, दम्भले फुलेको साथै पापैपापको संसोधनवादी घडाले भरिएको डनेकपा नामको जरासन्ध अन्ततः अदालत रुपी भीमद्वारा दुई विपरीत दिशामा मिल्काइए पछि चक्रवर्ति (कथित कम्युनिष्ट) शासक बन्ने खड्गप्रसाद ओलीको लालसा र पुष्पकमल दहाल (प्रचण्ड)को तृष्णा पनि सदाको निम्ति अन्त्य भयो । सबैमा चेतना भया !

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।