सम्पादकीय
दुई वर्ष अगाडि सुरु भएको विश्वव्यापी महामारी कोभिड– १९ को तेस्रो लहरसँग विश्व जुधिरहेको छ । पहिले चीनमा फैलिएको कोरोनाको महामारिलाई धेरैले सामान्य ठानेका थिए । तर, विस्तारै यसले आफूलाई विस्तार गर्दै लैजाँदा विश्वभर ठूलो क्षति गसिकेको छ । नयाँ–नयाँ र बढी संक्रामक एवं घातक भेरियन्टहरू विकसित भएर यसले विश्वलाई आक्रान्त पारिरहेको छ । नेपालमा अल्फा र डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरिएन्ट आएको छ । विश्वका सयभन्दा धेरै मुलुकमा फैलिएको यो भेरिएन्टसँगै संक्रमितको संख्या अहिले तीब्र गतिमा फैलिरहेको छ । ओमिक्रोन धेरै नै संक्रामक ठहरिएको छ । धेरै देशमा यसले डेल्टा भेरियन्टलाई पनि विस्थापित गरेको छ ।
दक्षिण अफ्रिकामा चौथो लहर आएर त्यो उच्च बिन्दुमा पुगेर अहिले घट्ने क्रममा छ । त्यहाँ पहिलो लहर वुहानको उत्परिवर्तन नभएको भेरियन्टले, दोस्रो लहर बिटा भेरियन्टले, तेस्रो लहर डेल्टाले र चौथो लहर ओमिक्रोनले गर्दा भएको हो । चौथो लहर, अरू लहरभन्दा छोटो रह्यो । यसले ओमिक्रोन भेरियन्ट अरू भेरियन्टभन्दा संक्रामक रहेको जनाउँछ । ओमिक्रोन भेरियन्ट फैलिएको सुरुवाती मुलुक दक्षिण अफ्रिकामा अस्पताल भर्ना हुनेको संख्या बढेपनि सघन उपचारमा राख्नुपर्ने तथा भेन्टिलेटरै प्रयोग गर्नुपर्नेको संख्या न्यून रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्ट छ । अघिल्ला भेरियन्टमा दैनिक औसत ५०० जनाको मृत्यु भएकोमा यसमा ९० नकटेको अफ्रिकाको तथ्यांक छ । संक्रमणको संख्या उच्च भएपनि अस्पताल भर्नाको संख्या तथा सघन उपचार कक्षको प्रयोग कम नै रहेकोले धेरै आत्तिनुपर्ने अवस्था भने छैन । त्यसमाथि करिब आधा नेपालीले कोरोना विरुद्धको खोप पनि लगाइसकेका छन् । यद्यपी खोपले यो भेरियन्टलाई रोक्न कति प्रभाबकारी काम गर्छ भन्ने चाहि यकिन भइसकेको छैन ।
अध्ययन अनुसार ओमिक्रोनले दक्षिण अफ्रिकामा धेरै असर गरेन । तर, नेपालमा पनि असर गर्दैन भन्न सकिन्न । दक्षिण अफ्रिकाको उमेर समूह नेपालको भन्दा फरक छ । नेपालमा भन्दा भिन्न भेरियन्टले दक्षिण अफ्रिकामा असर गरेको छ । अरू भेरियन्टभन्दा ओमिक्रोनमा शरीरको प्रतिरक्षा भेदन क्षमता उच्च रहेको बताइन्छ । अरू भेरियन्ट संक्रमणबाट विकास भएको प्रतिरक्षा प्रणाली पनि भेदन गर्ने क्षमता यस भेरियन्टले राख्ने वैज्ञानिकहरु बताउँछन् । पछिल्लो अवस्था हेर्दा वैज्ञानिकहरुले कोरोनालाई फ्लुजस्तो भाइरस बन्नसक्ने आँकलन गरिरहेका छन् । किनकि हरेक वर्ष स्वरूप बदलेर यो आइरहेको छ । यसैले कोरोना डेंगुजस्तो भाइरस बन्नसक्ने अनुमान पनि भइहरको छ ।
ओमिक्रोन भित्रिसकेको अवस्थामा खोपको अर्काे मात्रा लगाएर आफूलाई सुरक्षित राख्नसक्छौँ । त्यसको लागि सरकारले छिटोभन्दा छिटो नागरिकलाई खोप दिनुपर्छ । खोप भण्डारमा थुप्रिएको अवस्थामा पनि सरकारको फितलो व्यवस्थापनको कारण धेरै नागरिकले लगाउन पाएका छैनन् । खोप लगाउनुअगाडि नै महामारी फैलिएर धेरै क्षति हुनसक्छ । यसैले छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था हुनुपर्छ । मास्क लगाउने, भिडभाडमा सकेसम्म नजाने, बन्द कोठा र बसभित्र हावा आवतजावत गर्ने स्थिति बनाएर बस्नेजस्ता व्यक्तिगत सुरक्षाका सावधानी अपनाएर, जनजीवन सामान्य राखेर, अस्पताललाई तयारीको अवस्थामा राख्नु अहिलेका लागि उपयुक्त छ । मुलुक र आम नागरिकको लागि फेरि अर्को लकडाउन थेग्न सहज छैन । त्यसैले सतर्कता र खोपको व्यवस्थान नै अहिलेको खाँचो हो ।