विद्यार्थीलाई सताउने, सरकारलाई झुक्याउने

विराटनगर । सरकारलाई अतिरिक्त शुल्क नलिने जवाफ दिने तर त्यो शुल्क नबुझाउने विद्यार्थीलाई कक्षामा प्रवेशै नदिने नोवेल मेडिकल कलेजको हठले तनाव निरन्तर बढाइरहेको छ । आइतबार दिनभर पनि नोवेल परिसर तनावग्रस्त बन्यो ।

पछिल्लो तनावको मुख्य कारण नोवेलले सरकार र प्रशासनलाई झुक्याउँदाको परिणाम थियो । आइतबार बिहान विराटनगरस्थित नोवेल अस्पतालको गेटैमा भेटिएका एक हुल विद्यार्थीको भीडबाट अघि सरेर एक जना विद्यार्थीले भने ‘ऐनमा भएकै कुरा माग्दा पनि किन कलेजले जे भन्यो त्यही मान्नुपर्ने ?’

उनी रोकिएनन् । थपे ‘चिकित्सा शिक्षा पढ्ने सोच बनाउनु नै यति ठूलो अपराध हो ? जसका लागि हामीलाई नोवेलले २१ लाख जरिवाना र साढे पाँच वर्ष कैद सजाय सुनाएको छ ! के हामी यो देशका नागरिक होइनौं ? हाम्रो मर्म कसले बुझ्ने ?’

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे चार लाखभन्दा बढी रकम आफूहरुसित असुल्ने नोवेलको कदमको विरोधमा उत्रिएका विद्यार्थी आयोगको नियमभन्दा बाहिर कोही जानै नहुने बताइरहेका छन् । त्यसैले घरबाट धाउन सक्नेहरु, डेरामा बस्न खोज्नेहरु होस्टलमा बस्न मानिरहेका छैनन् । तर, होस्टल अनिवार्य भन्दै आएको नोवेलले अतिरिक्त शुल्क पनि नछाड्ने र पैसा पनि असुल्ने नीति लिएपछि विद्यार्थीले त्यसको तुलना जेलसँग गरेका हुन् ।

पूर्व सहमति विपरित आइतबार नोवेल प्रशासनले अधिकांश विद्यार्थीलाई बाहिरै राखेर कक्षा चलाउँदै गर्दा विरोधका लागि यी विद्यार्थी गेटमा भेला भएका थिए । बिहीबार मोरङ प्रशासनसँगको छलफलमा नोवेलले दुई बुँदे सहमति गरेको थियो । जसको पहिलो बुँदामा अतिरिक्त शुल्क नलिने र दोस्रो बुँदामा विवाद साम्य नभएसम्म कक्षा नचलाउने उल्लेख थियो ।

प्रशासनका अघि यस्तो सहमतिमा हस्ताक्षर गरेर फर्केको नोवेलले शुक्रबारबाटै विद्यार्थीलाई अतिरिक्त शुल्कका लागि फेरि ताकेता सुरु गरेको थियो । ‘बिहीबार प्रशासनको रोहबरमा भएको छलफलमा कुनै अतिरिक्त शुल्क नलिने भनेको नोवेलले शुक्रबार फोन गरेर ताकेता गरेको छ,’ एमबीबीएस प्रथम वर्षमा छोरी भर्ना गराएका विराटनगरका एक अभिभावकले भने ‘हाकाहाकी उता जे सहमति भए पनि हुँदै गर्छ, तपाइँहरुले पैसा नबुझाउने भए तपाइँको विद्यार्थीले कक्षामा प्रवेश पाउने छैन भन्छ । यो त सिधा डकैती भएन ?’

शुक्रबार मात्रै बुबाको फोनमा यस्तो धम्की सुनेकी उनकी छोरी आइतबार साथीहरुले बोलाएपछि कलेज पुगिन् । जहाँ कलेजले एक सय जनामध्ये करिब २० जनालाई धमाधम पढाइरहेको थियो । उनीहरुले त्यसो गर्न नपाइने भन्दै विरोध सुरु गरे । एकैछिनमा विभिन्न विद्यार्थी संगठनका विद्यार्थी पनि नोवेल परिसर पु्गे । उनीहरुले कक्षा रोक्न वा सबैलाई प्रवेश दिन माग गरे । तर, एक्कासी विद्यार्थी समूहमाथि ढु्ंगा प्रहार भएपछि झडप सुरु भइहाल्यो । ‘हामी विद्यार्थीहरुलाई विभेद गर्न पाइन्न भन्दै सम्झाउँदै थियौं,’ विद्यार्थी नेता निर्मल भण्डारीले भने ‘एक्कासी सुरक्षा गार्डहरुको दिशाबाट ढुंगा हानियो । दुई जना विद्यार्थी घाइते भए ।’ नोवेल परिसरमा गएको साता पनि यस्तै झडप भएको थियो ।

नोवेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले केही दिनअघि मात्रै टेलिभिजनहरुलाई अन्तरवार्ता दिने क्रममा अतिरिक्त शुल्क नलिइएको र नियमले पाउने मात्रै लिइएको दाबी गरेका थिए । सरकार र सार्वजनिक रुपमा एउटा कुरा भन्ने तर विद्यार्थी र अभिभावकसँग अर्कै व्यवहार गर्ने उनको र कलेजको दोहोरो शैलीको मारमा अभिभावक र विद्यार्थी परेका छन् ।

विद्यार्थी र अभिभावक कति त्रस्त छन् भने उनीहरु सार्वजनिक रुपमा नोवेलविरुद्ध बोल्नै मान्दैनन् । ‘मैले सञ्चयकोषको रकम निकालेर र ऋण काढेर छोरीलाई एमबीबीएस भर्ना गराएको छु,’ सरकारी कर्मचारी रहेका ती अभिभावकले भने ‘नोवेल सञ्चालकको दादागिरी र सिधा डकैती शैली गर्दा राज्य केही गर्दैन भने, भोलि मेरी छोरीको भविष्य र पढाइमा तलमाथि गर्दैनन् भन्ने के ग्यारेन्टी छ ?’ कुराकानी चलिरहँदा उनलाई अन्य अभिभावकले तारान्तार फोन गरिरहेका थिए । भर्खरै कलेजले फोन गरेर धम्क्याएको सुनाइरहेका थिए । ‘पैसा तिरेर नानीहरु पढाउन खोज्दा यति दुःख पाइँदोरहेछ,’ उनी फोनमा भन्दै थिए ‘सरकारलाई मेडिकल माफियाले फनफनी पार्दारहेछन् ।’ उनले भनिरहेको दृश्य आइतबार दिउँसो नोवेल परिसरमा व्यवहारतः प्रमाणित हुँदैथियो । प्रशासनसँग गरेको सहमति लत्याएर नोवेलले अतिरिक्त पैसा बुझाउनेलाई कक्षामा पढाउँदै थियो । अरु विद्यार्थी सदा झैं बाहिर आन्दोलनमै थिए ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा साढे ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ । यसपटक नोवेलमा एक सय जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन् । विद्यार्थी र अभिभावकहरु भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दवाव दिँदै आएको विद्यार्थीले बताएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोवेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजिरहेको हो । चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्षवापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् ।

विद्यार्थीको विपक्षमा व्यापारी

नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीहरूले प्रदर्शन गरेका छन् । एमबीबीएस पढ्ने विद्यार्थीसँग नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेको भन्दै विद्यार्थीहरू कलेजमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् ।

पुस दोस्रो साताबाट आन्दोलनमा उत्रिएका विद्यार्थीको पक्षमा विभिन्न दल निकट विद्यार्थी सङ्गठनले ऐक्यवद्धता जनाएका छन् । आइतबार भने व्यवसायीले विद्यार्थीको आन्दोलनविरुद्ध ‘काउन्टर’ प्रदर्शन गरेका हुन् ।

विद्यार्थीको आन्दोलनले व्यापार व्यवसायमा असर गरेको भन्दै व्यवसायी र सफारीचालकहरूले प्रदर्शन गरेका हुन् । ‘रोजिरोटी मार्न पाइँदैन, हस्पिटलभित्र आन्दोलन गर्न पाइँदैन’ भन्दै प्रदर्शन गरेका हुन् । मेडिकल कलेजमा तालाबन्दी हुँदा व्यवसायीलाई समस्या भएको बताउँदै उनीहरूले आन्दोलन राज्यका निकाय केन्द्रित बनाउन आग्रह गरेका छन् ।

‘नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलन ठिक ठाउँमा गएर गर्नुहोस्, सिडिओ कार्यालयमा गर्नुहोस् मन्त्रालयमा गर्नुहोस्, जहाँ गरे पनि भयो,’ एक व्यापसायीले भने, ‘यो हस्पिटलमा बन्द हुने गरी कोलाहल माहोल बनाएर त्रासको वातावरण सिर्जना गर्दा व्यवसायीहरूलाई असर गरिरहेको छ ।’ नोबेल मेडिकल कलेजअगाडि प्रदर्शन गरेका व्यवसायीले अस्पताल बन्द गर्ने स्थिति सिर्जना नगर्न माग गरे ।

आइतबार, २५ पुष, २०७८, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर