आचरण सुधार्नु पर्छ कि कमरेड !

 विमल लामिछाने

एक साताभन्दा बढी लगाएर नेकपा (माओवादी केन्द्र)ले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ । माओवादी केन्द्रको यो आठाँैं महाधिवेशन हो । प्रक्रियाबाट नै पदाधिकारी तय गर्न नसकेपनि यो महाधिवेशन विगतका तुलनामा बढी लोकतान्त्रिक अभ्यास गर्दै सम्पन्न हुनु पार्टी चिन्तकहरुका लागि आफैँमा ठूलो सफलता पनि हो ।

माओवादी केन्द्रको विधान अनुसार महाधिवेशनले माओवादी केन्द्रको केन्द्रीय समितिका सदस्यहरू निर्वाचित ग¥यो । पदाधिकारीमा आउने सबै केन्द्रीय समितिमा पर्नुपर्ने सो पार्टीको वैधानिक व्यवस्था रहेको छ । त्यस अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिमा विधिपूर्वक चयन भएर पुनःअध्यक्षकै नेतृत्व सम्हाल्न पुगे । माओवादी केन्द्रको सन्दर्भमा विगतको तुलनामा यसलाई निकै सकारात्मक तथा उपलव्धिमूलक मान्नुपर्छ । घटनाक्रमले पनि माओवादी केन्द्रको यो महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित थोरै नेपाली नेताहरूमा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै तीन दशकदेखि नेतृत्व सम्हाल्दै आएका छन् । कम्युनिस्ट अध्ययन केन्द्रबाट पाँच दशकअघि खारिँदै नेतृत्वमा अगाडि बढेका प्रचण्डले वि.सं. २०५२ देखि माओवादी सशस्त्र विद्रोहलाई नेतृत्वप्रदान गरेको इतिहास छ । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौताका साथै संविधानसभा निर्वाचन, गणतन्त्र, संविधान निर्माण जस्ता मुलुकका लागि दूरगामी महत्वका विषयमा सुरक्षित अवतरण सम्भव भएको इतिहास माओवादी केन्द्रको राजनीतिक इतिहासको एक महत्वपूर्ण पक्ष पनि हो ।

भनिन्छ, पार्टीमा नेतृत्वभन्दा नीति महत्वपूर्ण हुन्छ । अझ कम्युनिस्ट पार्टीमा मालेमावादी दृष्टिकोणको फे्रममा नगइ त नयाँ ढंगले अघि बढ्न सकिने कुरै भएन । पार्टीभित्रको विचारधारात्मक संघर्षको संश्लेषणले पार्टी नयाँ बन्ने बाटो खुल्छ । माक्र्सवाद कुनै जडसूत्र होइन । कुनै धार्मिक गुरु ग्रन्थझैं जड भएर बस्दैन । यसलै माक्र्सवादको परिमार्जन लेनिनवाद हुँदै माओवाद वा विचारधारासम्म आइपुगेको छ । १८ औं शताब्दीमा माक्र्सवादले मार्ग निर्देशन कम्युनिस्ट घोषणापत्र मार्फत गरेको थियो । यतिमै कम्युनिस्टहरु बसेको भएआज कम्युनिस्ट आन्दोलन यहाँसम्म आउने थिएन । १९ औं शताब्दी मामाक्र्सवादलाई सम्पन्न गर्न लेनिनवादका आधार विकसित भयो । तेस्रो विश्वका देशहरु वा अर्ध–सामान्ती तथा अर्ध–औपनिवेशिक देशको मुक्तिका लागि माओवाद कारागार सावितभयो । यी सार्वभौम सिद्धान्तको समीक्षा र देशको वस्तुस्थिति सामाजिक बनोटको आधारमा आजको अन्तरविरोधलाई विज्ञानसम्मत ढंगले हल गर्ने कार्यदिशाको निर्माण र त्यो अन्तर्गतको पहलकदमीले मात्र नयाँ नेपालको परिकल्पना गर्न सकिएको कुरा भुल्न मिल्दैन ।

जनयुद्ध, जनआन्दोलन र परिवर्तनको पहरेदारको रुपमा हेर्ने हो भने माओवादी अन्तरनिहित अनेकौँ प्रश्नभने रूपान्तरणसँग जोडिएका छन् । शक्ति र गुमेको साख फर्काउने लक्ष किटान त दस्तावेजमा भएपनि त्यो पवित्र योजना र चाहानाले मात्रै समाज परिवर्तन हुँदैन भन्ने कुरा विगतका अनुभवबाट पुष्टि भइसकेकै विषय हो । नयाँघर बनाउन जति सजिलो हुन्छ भत्किएको, ढलेको घर फेरि बनाउन कठिन हुन्छ । दृष्टिकोण र आदर्शले निर्देशन गरेको पार्टी आचरण र जीवन व्यवहारसँग जोडिएका छन् या छैनन् यो मुख्य प्रश्न हो ।

माओवादीसामुु अब निक्कै ठूला चुनौती पनि छन् । पछिल्लो समय देशकामूलभूत समस्या कुनै पार्टी र नेताले एक्लै गर्ने अवस्था छैन । मिलेर नै देशको भविष्य अगाडि बढाउनु पर्ने बाध्यात्मक अवस्था पनि छ । देशमा मूलभूत रूपमा राजनीतिक व्यवस्थामा निकै ठूलो परिवर्तन आएपनि सामान्य जनताको जीवनयापन लगायतका आम सरोकारका विषयमा खासै परिवर्तन आउन नसकेको तीतो यथार्थ हाम्रोसामु छ । पार्टी सुदृढीकरण, माओवादीको मुख्य मुद्दाका रूपमा रहँदै आएको सामाजिक, आर्थिक रूपान्तरण अबको कार्यसूची हुनुपर्छ ।

महाधिवेशन पछिको नेतृत्वले नागरिक सपनाहरू साकार गर्ने अलौकिक योजना र बाटोसमेत तय गर्नुपर्छ । सघन सकारात्मक सुधार र वैज्ञानिक प्रगतिशीलता ल्याउनु पर्छ । नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ । देशको आर्थिक, सामाजिक, नैतिक, मनोवैज्ञानिक तथा भौतिक विकासमा विशाल फड्को मार्ने अठोट गर्न सक्नुपर्छ ।

महाधिवेशनबाट खारिएर जनतासँग आएका दलहरुले अब साँच्चै जनतालाई राजनीति फेरिएको महसुस गराउने हो भने महाधिवेशनबाट चुनिएको नेतृत्वले आर्थिक विकास सहित गरिबी र बेरोजगारी अन्त्यको दिगो मार्गचित्र तयार पार्नुपर्छ । पछिल्लो विश्व राजनीतिको सर्वप्रिय शब्द समृद्धि, समुन्नति, सम्मान र सर्वाधिक अपेक्षित अवस्था समाजवादको लक्ष्यमा पुग्ने रणनीति अनि नागरिकले प्रस्ट बुझ्ने गरी अनुपम योजना पस्कन सक्नुपर्छ ।

अब नेतृत्व र कार्यकर्ता सबैमा राजनीतिक नैतिकता, इमान र चरित्रमा सुधार आउनै पर्छ । कार्यशैली र आचरणमा सुधार आउनै पर्छ । लोकतन्त्रको मूल्यमर्यादा कायम राख्ने हो भने महाधिवेशनबाट जित्नेहरू सबैको अभिभावक हुनुपर्छ र हार्नेले सहयोग गर्नुपर्छ । कुँडिएका र भाँचिएका मन र मतलाई एकीकृत गर्नसक्नुपर्छ । यो प्रक्रिया पूरा गर्न आचरण सुधार्नु पर्छ कि कमरेड !

bmllamichhane@gmail.com

आइतबार, २५ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर