विराटनगर । नेपालको संविधानले लैंगिक रुपमा विभेद गर्नुलाई दण्डनीय अपराध मान्छ । तर, समाजमा एउटा यस्तो तप्का पनि छ, जसले आफ्नो लैंगिक पहिचानकै आधारमा पाइलैपिच्छे अपमान र पीडा खेप्नु परिरहेको छ ।
लैंगिक विभेदको यही दुष्चक्रमा परेका तेस्रोलिंगीहरु अपमानपूर्ण दैनिकी बिताउन बाध्य छन् । उनीहरु समाजमा मात्रै होइन, पारिवारिक हेलाहोचोको शिकारसमेत बनेका छन् । तेस्रोलिंगीहरुको अवस्था कस्तो छ भन्ने जान्न हाम्रोमतले पछ्याएर कुरा गरेकी एक जना तेस्रोलिंगीको अवस्थाले छर्लङ्ग पार्छ ।
हालैको एक साँझ । विराटनगर बसपार्क क्षेत्र गुल्जार छ । त्यहीक्रममा एउटा दृश्य देखिन्छ । ‘जाने हो ?’ गाडीको हर्नसँगै आएको मोटो आवाजले आफ्नै रफ्तारमा कुदिरहेको बाइक रोकियो । अग्ली, कर्ली कपाल, छोटो स्कर्टमा स्लिभलेस लगाएकी अमृता (नाम परिवर्तन) बाइक अगाडि उभिइन् ।
उनी ‘तेश्रो लिङ्गी’ यौन व्यवसायी हुन् । उनी बेलामौका विराटनगर बसपार्क क्षेत्रमा भेटिन्छिन् । त्यही बसपार्कमा साँझको समय अमृताको आवाजले रोकिएको बाइकवाला मुन्टो हल्लाउँदै उनलाई धकेलेर आफ्नो गन्तव्यतर्फ अगाडि बढे ।
‘उफ ! आज त कसैले पनि लाइन मार्दैन त या र !’ छेवैको साथीसँग लेपासिँदै उनले दुखेसो पोखिन् । केही समयको अन्तरालमा प्रहरीको भ्यानको साइरनसँगै उनी र उनका साथीहरु तितरवितर भए । प्रहरीको लखेटाइपछि आफ्नै बाध्यता र परिस्थितिलाई गाली गर्दै गर्दा विराटनगरको गल्लीमा भेटिएकी अमृताले ७ वर्षको उमेरदेखि आफूलाई छोरी भएको महसुस गरेकी हुन् । ‘म ७ वर्षको हुँदादेखि आफूलाई छोरी भन्न रुचाउँथे, बाआमाले छोराको नामले बोलाउनु हुँदा रिस उठ्थ्यो,’ उनले विगत सम्झँदै भनिन्,‘ दिदीहरुको लुगा लगाएर मेकअप गर्थें, मेरो स्वभाव देखेर आमाले धेरैपटक पिट्नुभएको छ ।’
चार सन्तानमध्ये अमृताले छोराको रुपमा जन्म लिएकी थिइन् । उनी जन्मेको समय उनको घरमा उमङ्ग छाएको थियो । छोरी मात्रै जन्माएको भन्दै दिनरात बाको कचकच सुन्नुपर्ने आमाको कानले केही वर्ष विश्राम पाएको थियो । तर, अमृताको उमेरको संख्या बढेसँगै एक्कासी बद्लिएको स्वभावले पुनः उनको परिवारमा अशान्तिले डेरा जमायो ।
‘मेरो कारण बुवाले आमालाई फेरि कचकच गर्न थाल्नुभयो । मलाई मानसिक, शारिरीक यातना दिन थाल्नुभयो,’ उनले पीडा फुकाउँदै सुनाइन्, ‘धेरैपटक घरबाट निकाल्न खोज्नुभयो । तर, आमाको कारणले म घरनिकाला भइनँ, जे भएपनि आमा हो नि हैन ? जस्तो भएपनि सन्तानको माया हुँदोरहेछ ।’
घरभित्र आमाको ममताले आत्मसम्मानमा खोट लाग्न नदिएपनि घरबाहिर साथीभाई र गाँउलेको रुखो व्यहवारले उनलाई आफ्नै जीवन बोझ झैँ लाग्ने गरेको थियो । स्कूल जाँदा होस् या गाउँमा उनलाई साथीभाई, छिमेकीहरुले तेस्रो लिंङ्गीलाई अपमानपूर्वक प्रयोग गरिने शब्द प्रयोग गर्दा खपिनसक्नु हुन्थ्यो । त्यही अपमानबाट दिक्क भएर धेरैपटक आत्महत्या गर्ने कोसिसमै पुगिन्, उनी । ‘अरुको टर्चरले मलाई बाँच्न मन नै लाग्दैन थियो’ रसाएको आँखा लिएर उनले भनिन्, ‘तर, अरुको लागि यो सुन्दर जीवन किन खत्तम गर्नु भनेर हिंसा सहेर बाँचे, र आज पनि बाँचेकी छु ।’
उनलाई पढेर सम्मानका साथ केही राम्रो काम गर्ने इच्छा थियो । परिवर्तन हुँदै गएको उनको जीवनशैली र स्कूलमा साथीहरुले जिस्काएकै कारण उनले ३ कक्षा भन्दा धेरै अध्ययन गर्न सकिनन् । समाजको खिसिटिउरी, परिवारमा बुवाले दिएको पीडा असह्य भएर १४ वर्षको उमेरमा घर छोडेर हिँडेकी अमृता आमाको मृत्यु हुँदा ९ वर्षपछि घर पुगेकी थिइन् । घर पुग्दा मृत आमाको अनुहारसम्म हेर्न नपाइ बुवाले घरको आँगनबाट लखेटेको दुखेसो उनले सुनाइन् ।
‘बुवाको त्यो व्यहवारले झनै मन दुखेको छ, अब कहिल्यै घर जान्नँ होला ।’ उनले भनिन्, ‘अब त आमा पनि हुनुहुन्न, आत्मसम्मानभन्दा ठूलो परिवार होइन क्यारे ।’ घरबाट निस्किएर हिँडेपछिका अभाव, भोको पेट र नाङ्गो खुट्टाले विराटनगरको तातो सडक र कठ्याङ्ग्रिने चिसोको महसुसले जीवन जिउन थप बलियो बनाएको उनले बताइन् । गाउँको पीडा भुलाउन सम्भावनाको खोजी गर्दै शहर भित्रिएकी उनी शहरले झनै थेगी नसक्नुको पिडा दिएको सुनाउँछिन् ।
‘गाउँमा धेरै पीडा खेपेर शहर भित्रिएकी म यो शहरले त झनै पीडा थपिदिएको छ’, उनले विगत सम्झँ्दै सुनाइन्, ‘आफ्नो कोही थिएन । सडकमा नै मेरो बास हुन्थ्यो । प्रहरीको लात्ती र अपमानपूर्ण शब्दले धेरै पीडा हुन्थ्यो ।’ विराटनगर, इटहरी, दमकका पसल, होटलहरुमा कामको खोजी गर्ने क्रममा भौतारिँदै गर्दा उनले धेरै अपमान ब्यहोर्नुपरेको छ ।
करिब ३ वर्ष लामो सडकको बसाइ क्रममा साँझको समय विराटनगरको बसपार्कमा उनले आफू जस्तै स्वभावको साथीहरु भेटिन् । त्यसपछिको दिनबाट सडकको बासलाई बिट मार्दै उनको जीवनको यात्रा मोडियो । साथीहरुसँग मिलेर काम खोज्दै जाँदा आफूहरुलाई ‘अबासी लाग्छ’ भन्ने जस्ता शब्दले गालीगलौज गर्दै लखेटेका विविध घटनाले पनि यौन पेसालाई अंगालेको उनले बताइन् ।
‘रहरले कसैले खराब काम गर्छ र ? प्रश्न गर्दै उनले सुनाइन्, ‘काम खोज्दै जाँदा तिमीहरुको अनुहार हेर्नु हुँदैन, अलच्छिन लाग्छ भन्दै लखेटेपछि हामी के गर्नु ? बाँच्नु त प¥यो नि जसोतसो ।’ राज्यबाट पनि आफूहरु उपेक्षित भएको उनले गुनासो गरिन । उनी भन्छिन्, ‘सरकारले शिपमुलक तालिम र काम दिए सडक ढुक्नुपर्ने बाध्यताबाट मुक्त हुनेथियौं ।’