सम्पादकीय
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकार सुरुमै गतिहीन देखिनु प्रदेशबासी नागरिकका लागि दुःखद् छ । प्रदेशको सत्ता सम्हालेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि मुख्यमन्त्री राई बधाई थापेर, माला लगाएर हिँड्नै व्यस्त देखिएका छन् ।
मुख्यमन्त्री राईको यो शैली उनले प्रदेशमा केही नविन कामको सुुरुआत गर्लान् भन्ने आम अपेक्षा विपरित छ । युवा पुस्ताका नेताहरु स्वभावैले राजनीतिक आडम्बरमुक्त र लक्ष्यमुखी हुने अपेक्षा विपरित मुख्यमन्त्री राईले जे गरिरहेका छन्, त्यसले राम्रो संकेत गरेको छैन । मुख्यमन्त्री बनेको महिना दिनभन्दा बढी समय उद्घाटन, औपचारिक र सांगीतिक कार्यक्रममा बिताएर मुख्यमन्त्रीले मुख्य कार्यसूची भुलेका छन् । यो शैलीमा उनले सुधार ल्याउन जरुरी छ ।
निश्चय नै कुनै पनि राजकीय पद अझ कार्यकारी पदमा आसिन कुनै पनि व्यक्तिलाई एकै महिनामा मूल्यांकन गर्नु हतारो हुन्छ । तर, राजेन्द्र राई र उनको मन्त्रीपरिषदले भुल्न नहुने तथ्य के हो भने उनीहरुसँग समय ज्यादै थोरै छ । यो थोरै समयलाई सकेसम्म उपलब्धिमुलक काम र योजनामा खर्चिनु सरकार र प्रदेशबासी नागरिकका लागि फाइदाकारी हुनेछ । तर, सुरुको महिना दिनमा प्रदेश १ सरकार सकारात्मक सन्देश प्रवाह गर्न पूर्णतः विफल बनेको छ । यो अपजसको सम्पूर्ण दायित्व मु्ख्यमन्त्रीले लिनुपर्छ । पाँच दलीय गठबन्धनको सरकारतिर अब जनताले अनुभूत गर्ने गरी कुन काम वा योजना सुरु भयो भनेर प्रश्न तेर्सिने बेला भयो ।
तत्कालीन भीम आचार्य नेतृत्वको सरकार करिब दुई महिना मात्रै टिक्दा द्रुत गतिमा काम गरेको थियो । तर, राजनीतिक रुपमा विपरित ध्रुवमा उभिएका कारण यो सरकारले आचार्य सरकारले गरेका नियुक्तिहरु खारेज गर्यो । शेरधन राईले तीन वर्षभन्दा बढी मुख्यमन्त्री हुँदा खाली छाडेका महत्वपूर्ण निकायहरुको नियुक्ति आचार्य सरकारले गरेको थियो । एकपक्षीय रुपमा नियुक्ति भन्दै खारेज मात्रै गरेर सरकारको दायित्व पूरा हुँदैन । रिक्त पद र खारेज गरिएका संस्थाहरुको विकल्प पनि सरकारले पेश गर्नुपर्छ । यसबाहेक प्रदेश नामकरण अलपत्र छ । विकास निर्माण, सेवा प्रवाह, नयाँ थिति बसाल्ने सवालमा पनि सरकारले काम गर्न जरुरी छ । तर, सुरुको महिना दिनमा यी कुनै पनि पाटोमा सकारात्मक छनक दिन प्रदेश सरकार विफल छ ।
विपक्षी बेन्चमा छँदासम्म प्रदेश सरकार कसरी चल्नुपर्छ भनेर संसद्मा लामो प्रवचन दिने नेताहरु नै मुख्यमन्त्री र मन्त्री बनेका छन् । तर, तिनै नेताहरु सहभागी भएको सरकार भने दिशाहीन देखिनुले उनीहरुको शासकीय क्षमतामाथि प्रश्न उठाएको छ । प्रश्न सोध्ने ठाउँबाट उत्तर दिने आसनमा पुगेकाहरुले काममार्फत आफ्नो क्षमता देखाउनुपर्छ । मौजुदा अवस्थाको अलमल जारी राख्ने हो भने युवा भनिएका नेताहरुले अघिल्लो पुस्ताभन्दा राम्रो काम गर्नेछन् भनेर पत्याउने आधार समाप्त हुनेछ ।
प्रदेश सरकारले तत्कालै गर्नुपर्ने अनेकौं काम छन् । प्रदेशको सामुदायिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा, कृषि र पूर्वाधारका क्षेत्रमा, साँस्कृतिक र सामाजिक विकासका अनेकौं कामहरु थाल्न सरकारले सक्छ । तर, यतिका समय सरकार के गर्दैछ भन्ने जानकारी आम नागरिकले पाउन सकेका छैनन् । दिनहुँजसो मुख्यमन्त्री र मन्त्रीहरुले माला र खादा लगाएको तस्विरले सामाजिक सञ्जाल रंगिदा ठोस कामको सुरुआत भएको सूचना भने आउनै सकेको छैन । यसको अर्थ सरकारले त्यस्तो थालनी गरेकै छैन भन्ने हुन्छ । वर्तमान सरकार पाँच वर्षका लागि बनेको होइन । यो तथ्य आत्मसात गर्दै मु्ख्यमन्त्री र मन्त्रीहरुले कामको गति बढाउने नागरिकलाई व्यवहारबाटै आश्वस्त पार्न आवश्यक छ ।