विराटनगर । नदी तथा प्राकृतिक जलाशयहरुमा भएका जलचरको संरक्षण गर्ने उद्देश्यले आइतबार सुनसरीको दुई वटा प्राकृतिक तालहरुमा माछाका भुरा छोडिएको छ । नदीनाला र सिमसारहरुमा जलचरको संख्या सन्तुलित बनाइराख्न र प्राकृतिक रुपमा रहेका जलचर विनास हुनबाट जोगाउन नदीनालामा माछाका भुरा छोडिएको हो ।
सुनसरीको तालतलैया र रास तालमा एक हजार माछाका भुरा छोडेर पहिलो पटक प्रदेश १ मा मत्स्य दिवश मनाएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका मत्स्य विकास अधिकृत नेलसन पोखरेलले जानकारी दिइन् । नदीनाला, खोला र प्राकृतिक जलाशयमा माछा मारेर जीविको पार्जन गर्नेहरुको जीवनयापनलाई सहज बनाउन र यस्ता प्राकृतिक स्रोतहरुमा जलचरको संख्या सन्तुलनमा ल्याउन यस प्रकारको अभियान महत्वपूर्ण हुने उनले बताइन् ।
विश्वभर समुद्र, नदीनालामा माछा मारेर गुजारा गर्ने ठूलो समुदाय भएकोले उनीहरुले आफ्नो जीविको चलाउँदै गर्दा प्रकृतिमा जलचरको संख्या घट्दै गएको र त्यसबाट पर्ने प्रभावको बारेमा जानकारी नराख्ने भएकोले संरक्षणका लागि पनि यस्तो अभियान महत्वपूर्ण हुने उनले बताइन् ।
आइतबार सुनसरीमा मत्स्य बैज्ञानिक, प्रदेश नं १ को भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कृषि अनुसन्धान निर्देश्नालय तरहरा, पशु सेवा विज्ञ केन्द्र, सिमसार संरक्षण समिति, मलाहा समुदाय, मत्स्य कृषक, अनुसन्धानकर्ता र सामुदायिक वन आदि सरोकारवालाहरुको उपस्थितिमा जलचर संरक्षण सम्बन्धी कार्यक्रम गरिएको थियो । त्यस क्रममा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव डा. राजेन्द्र उप्रेतीले तालतलैयामा रहु र नैनी जातका माछाका भुरा छोडेर मत्स्य दिवश मनाएको सन्देश दिए । रहु र नैनी हाम्रो प्राकृतिक जातको माछा भएकोले त्यसबाट प्राकृतिक रुपमा पनि फाइदा पुग्ने बताइएको छ ।
सरकारले ‘जलचर संरक्षण हाम्रो प्रतिवद्धता, खाद्यपोषण तथा दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ विश्वस मत्स्य दिवश मनाएको हो ।
कार्यक्रमका सन्दर्भमा सरोकारवालाहरुलाई खोनानाला र जलाशयहरुमा जथाभावी माछा मार्न नहुने, माछा मार्दा बिष र करेन्टको प्रयोग गर्न नहुने भन्दै त्यसबाट हुने क्षति र विनासको बारेमा जानकारी गराएको थियो ।
नेपालमा सन् २०१५ बाट विश्व मत्स्य दिवश मनाउन थालिएको हो । नेपालमा पनि खोलानालामा माछा मारेर जीविकोपार्जन गर्नेहरुको संख्या उल्लेख्य रहेकोले उनीहरुको खाद्य स्रोतको सुनिश्चितता गर्नका लागि पनि जलचरको संरक्षण जरुरी पर्ने मत्स्य अधिकृत पोखरेलले बताइन् । त्यसबाहेक माछालाई खाद्य र पोषण सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिन्छ । माछा पोषणका हिसावले सहज र सस्तो हुने भएकोले पनि माछाको उपभोग प्रवद्र्धन गर्नुपर्ने उनी बताउँछिन् । ‘हाम्रोमा पहाडी क्षेत्रमा माझी र तराइतिर मलाहाजातिले माछा मारेर जीविकोपार्जन गर्ने गरेका छन्,’ पोखरेलले भनिन् ‘अझ समुद्र भएका मुलुकहरुले विश्व माछा दिवश भव्य ढंगले मनाउँछन् । समुद्रमा माछा मारेर लाखौंले जीविकोपार्जन गर्ने भएकोले उनीहरुको खाद्य सुरक्षा र जलचरको संरक्षण दुवै हिसाबले यो दिवशको महत्व रहेको छ ।’