अनन्तराज न्यौपाने
पत्रकार मित्र गणेश लम्सालले केही समययता हेर्दा सूक्ष्म तर अत्यन्त जायज विषयमा आफूलाई आन्दोलित बनाएका छन् । उनको विषय हो– विराटनगर महानगरका सडकपेटीमाथि भएको अतिक्रमण र ती सडकपेटीको दुरावस्था । साँच्चै नै, यहाँका सडकपेटीको बेहाल हेर्ने हो भने यो नगरलाई कसैले यो महानगर भनेर ठोकुवा सक्तैन । महानगर भएपछि त्यसको सभ्यता, संस्कृति र परम्परा विशिष्ट प्रकारको हुन्छ । महानगर निर्माणका हार्डवेयर हुन् वा सफ्टवेयर, ती व्यवस्थित हुन खोजेका देखिनुपर्छ । तरकारी र फलफूल पसलदेखि मासु बजारसम्म उच्च हाइजिनको मेन्टेन गरिनुपर्दछ । मुख्य सडकहरू सफा र धूलोरहित हुनपर्छ । अनि फोहर व्यवस्थापन अत्यन्त नियमित हुनपर्छ । तर, यस्ता के मापदण्ड छन् त विराटनगर महानगरपालिकामा ? कसैले सोध्यो भने हात लाग्यो शून्य भन्नुबाहेक अर्को उत्तर छैन ।
महानगर क्षेत्रका घरघरमा दशैँअगाडि फोहर उठाउनेहरू आएका थिए । त्यसपछि तिहार र छठसम्म उनीहरू झुल्किएनन् । दशैँतिहार र छठसम्मको फोहर थुप्रिएर महानगरका घरहरू डुङ्डुङ्ती गह्नाउने अवस्थामा पुगे । फोहर व्यवस्थापनको मासिक रकम उठाउन नियमित रूपमा हरेक महिना घरघरमा कर्मचारी आइपुग्छन् । यो रकम पनि मङ्सिर महिनादेखि वृद्धि हुने भएको छ । तर, फोहर उठाउनेहरू भने नियमित छैनन् । कहिले तलब नपाएर आन्दोलनमा छौँ भन्छन् त कहिले ठेकेदारको परिवर्तन भएको बहाना गर्छन् । दशैँतिहारदेखि छठसम्मसको फोहर घरघरमा थुप्रिँदा नगरवासीको दशा के भयो होला आफैँ कल्पना गर्न सकिन्छ । वास्तवमा विराटनगरवासी अत्यन्त सहनशील, सहिष्णु र भद्र छन् । महानगरको यति ठूलो अव्यवस्था र अनियमितताका विरूद्ध कुनै महानगरवासीले चूँ सम्म गरेको सुनिएन । महानगरवासीको यही सज्जनता र सहिष्णुताको फाइदा जनप्रतिनिधिलाई छ । उनीहरूले जेजस्तो काम गरे पनि भएको छ । जनताले सहेकै छन् ।
ठूला–ठूला नारा दिएर अनि सपना देखाएर मेयरमा जितेका भीम पराजुलीलाई यस्ता सानातिना कुराको वास्ता छैन । उनी अब ठूला मान्छे भइसके । व्यावसायिक नगरीका ठूला घरानासित उनको उठबस झ्याम्मिइसकेको छ । अर्बपतिभन्दा तलका कुरा उनले अब सुन्न सक्तैनन् वा चाहँदैनन् । सडकका पेटी कस्ता अवस्थामा छन् भन्ने कुराको जानकारी वा हेक्का राख्ने अब उनको स्तर भएन । बरु रकमका पेटीका कुरा भए उनको ध्यानाकर्षण हुन्थ्यो होला । सडकका पेटी अब उनको स्तरको कुरा रहेन । उनी माथि, धेरै माथि पुगिसके ।
विराटनगरको मेनरोडमै सांसद् मोती दुगडका घरअगाडि एउटा कबाडी पसल छ । त्यस पसलले सडकको नालामै चापाकल बनाएको छ । त्यस पसलले आफ्नो निजी प्रयोजनका लागि त्यो चापाकल धेरै पहिले बनाएको थियो रे । पछि सडक विस्तार गर्दा त्यो चापाकल नालाको भागमा परेछ । तर, कवाडी पसल राम्रै पहुँचदार हुनुपर्छ, उसको चापाकल भत्काउने हिम्मत सडक र नालाका पेटी ठेकेदारले गरेरनन् । ठेकेदारले चापाकललाई बचाएर नै नाला बनाए र स्ल्याब ओछ्याइदिए । यसरी चापाकल अहिले पनि चलिरहेको छ । प्रश्न यतिमात्र हो, नाला मिचेर बनाएको र नालाबाट निस्केको चापाकल उचित हो कि अनुचित ? यस्तो पानीले मानव स्वास्थ्यको हित गर्छ कि अहित ? यसरी चापाकल चलाउन पाइन्छ कि पाइन्न ? के भन्छ महानगरको नियमले ? मेयर पराजुली आफ्नो घरदेखि महानगरपालिकाको कार्यालयसम्म हरेक दिन हिँड्ने बाटो हो यो । तर, यस चापाकलमा उनको आँखा पुगेको छैन । महानगरको चिल्लो, महँगो र वातानुकूलित गाडीमा हिँड्ने नगरपिताले कुन पेटीमा के छ भन्ने ध्यान दिँदै हिँड्ने पनि होइन होला । तर, महानगरले पनि यस्ता कुरामा ध्यान दिँदैन भने कसले देला, सर्वसाधारण रनभुल्लमा छ ।
मूल कुरा के हो भने विराटनगरका सडक, नाला र पेटीप्रति मेयर पराजुलीको कुनै भित्री मोह, लगाव र आकर्षण छैन । किनभने यसमा उनको ठोस लगानी छैन । विराटनगरको अहिले देखिएको सडक विस्तार र नाला निर्माणको श्रेय तत्कालीन कार्यकारी अधिकृत गोपाल रेग्मीलाई दिनु सर्वथा उचित हुन्छ । रेग्मीले विराटनगरका सडक र नालाको जति नक्सा कोरे, पराजुली आएपछि त्यसमा एक इञ्च पनि बढाउने काम गरेनन् । मोती दुगडको पर्खाल भत्काउन सक्ने रेग्मीले सिटौलाको घरको व्यवस्थापन गर्न पनि सक्थे होला । मुरारकाका घरपूर्वदेखि शनिहाटसम्मको सडक पनि चौडा गर्थे होला । तर, उनी त कर्मचारी न थिए, सरुवा भइहाले । यता मेयर पराजुलीसित आश र विश्वास गर्नु महानगरवासीको केवल सज्जनता थियो । धनाढ्यका सामुन्ने उनको किन नूर गिर्छ, किन आत्मविश्वास खस्कन्छ र किन हिम्मत पराजित हुन्छ खोजीको विषय हो ।