गोकुल पराजुली
विराटनगर कञ्चनबारी चोक नजिकै उत्तरपट्टि हरेक साँझ गाडी रोक्न तम्सिने प्रहरी टोली त्यहाँबाट सरेको छ । चोक नजिकै दिनहुँ गाडीको जाम गराउने काममा ट्राफिक प्रहरी स्वयंको भूमिका थियो । दिनभरी खासै गाडीको चाप नहुने त्यस ठाउँमा रात परेपछि सँधै ठूला ट्रक लाम लागेका हुन्थे । स्टेट लाईनको बत्ती पनि मधुरो भएको सडकको किनारामा एकजना ट्राफिक बस्थे अनि नेपाल प्रहरीका अन्य कर्मचारी माझ सडकमा उभिएर सिड्ढी फुक्दै ठूला ट्रकलाई किनारा लगाउँथे ।
राति ९ बजेतिर घर जाँदा नियमित देखिने दृश्य थियो त्यो । कतिपटक त ट्राफिक जाँच रहेछ भनेर मोटरसाइकल रोक्थें, तर वास्ता गर्दैनथे । उनीहरुको तार्जेटमा प्राय मोटरसाइकल होइन ट्रकहरु हुँदा रहेछन् । त्यो क्रम लामो समय चल्यो त्यहाँ । त्यसपछि एउटा टिनको घुम्ती(सानो अस्थायी घर) नै सडक किनारमा राखियो । अनि त्यस घुम्ती भित्र बस्न थाले ट्राफिक प्रहरीका कर्मचारी ।
त्यो घुम्ती केही समययता त्यहाँबाट सरेको छ । धिताल पेट्रोल पम्पबाट उत्तर तर्फ करिव सुनसान ठाउँमा घुम्ती सरेपछि प्रहरी र ट्राफिकको सक्रियता त्यस ठाउँमा बढेको छ । अचेल भारतको जोगबनीबाट आउने प्राय ट्रकहरु त्यहाँ रोकिन्छन् । ट्राफिक र प्रहरीको त्यो कार्यले कञ्चनबारी चोकमा हुने जामको समस्या कम भएको छ । ट्रक रोक्ने, कागजपत्र हेर्ने, जरिवाना असुल्ने र छोड्ने ट्राफिक प्रहरीको दैनिकी भएको छ ।
भन्सारबाट उद्योगका कच्चा पदार्थ बोकेर आएका ट्रकहरु बीच बाटोमा रोक्ने र अधिक भारवहन गरेको नाममा हरेक पटक जरिवाना तिर्ने ढुवानी साधन सञ्चालकहरुको पनि दैनिकी हो । हाम्रो सडकको क्षमताभन्दा बढी भारवहन गर्न नदिने, रोक्ने र सडक पूर्वाधार जोगाउने प्रयास स्वरुप प्रहरीले गरिरहेको यो कामलाई नकारात्मक रुपमा हेर्न हुँदैन । शान्ति सुरक्षामा खटिएको प्रहरीको नियतमाथि पनि धेरै शंका नगरौं । तर, हरेक दिन यसरी जरिवानाको पूर्जी काट्नुको जे उद्देश्य हो त्यो प्राप्त भइरहेको छ ? एक पटक जरिवाना तिरेका मालवहाक ट्रकहरुले मापदण्ड अनुसार भारवहन गरिरहेका छन् कि त्यो क्रम दोहो¥याइरहेका छन् ? त्यसको अध्ययन र विश्लेषण पक्कै पनि ट्राफिक प्रहरीले गरेको होला । तर, भन्न खोजेको कुरा के हो भने प्रहरीले जतिनै जरिवानाको पूर्जी काटेपनि अधिक भारवहन गर्ने ढुवानीकर्ताहरुको कर्ममा कुनै परिवर्तन आएको छैन । ट्रकहरु पहिलेजस्तै ४०–४५ टन भार बोकेर हाम्रो सडकमा दौडिरहेकै छन्, ट्राफिकले पनि पहिलेजस्तै जरिवाना असुल गरिरहेकै छ । बरु यस बीचमा केही सूचनाहरु भने आएका छन् । कतिपय उद्योगमा अधिक भारवहनसहित आएका ट्रकहरु त्यस ठाउँमा रोकिन छाडेका छन् । सम्बन्धित उद्योगहरुले नै ट्राफिक प्रहरीसँग आन्तरिक छलफल गरेर वातावरणलाई सहज बनाइएको छ । राति अबेरसम्म मानिसको चहलपहल हुने ठाउँ कञ्चनबारी चोकबाट अलिपर एकान्तमा घुम्ती सर्नुले पनि त्यो कुरा पुष्टि गर्छ ।
खैर जे होस् सडकमा दिनहुँ मापदण्ड उल्लंघन गरेर सयौं ट्रकहरु गुडिरहेका छन् । हाम्रो सडक क्षमता भन्दा बढी भारले थिचिरहेकै छन् । तर, भन्सार बिन्दुमै ति ट्रक जोख्ने र अधिक भारवहन भए प्रवेश नै नदिने काममा न त ट्राफिकले सुझाव दिएको छ न त सरकारी नियकायहरु त्यो काम गर्न तयार छन् । यो त ‘पिने के लिए पिनेका बहाना चाहिए’ भने झैं भएको छ । कानून बनाउने, कार्यान्वयन गर्ने नाममा जरिवाना असुल्ने, प्रश्न उठे राजश्व बढेको छ भनेर आँखामा छारो हाल्ने काम चलिरहेको छ । एउटा प्रणालीको विकास नभएसम्म यो क्रम चलिनै रहने छ ।