विराटनगर । मोरङको जहदा गाउँपालिका–१ धुनीका ४० घरपरिवारसहितको सुकुम्बासी बस्ती जोड्ने सडक किनाराको माटो गाउँका एक व्यक्तिले मनखुसी बेचेका छन् । सार्वजनिकस्थलको माटो जथाभावी उत्खनन् गर्दा बाटो भत्किने जोखिम उच्च भएको छ ।
नालासहितको ४० फुटे सडक किनारको माटो झिकेर स्थानीय मिथिलेस भनिने शानदेव सरबरियाले बिक्री गरेका हुन् । व्यवसायसमेत गर्दै आएका सरबरियाले सुकुम्बासी बस्ती जोड्ने सडक किनारको माटो उत्खनन गरेका हुन् ।
सरबरियाले दुई साताअघि माटो झिकेर बिक्री गरेको जहदा १ धुनीका शिवप्रसाद सरबरियाले जानकारी दिए । ‘सडक छेउको सार्वजनिक जग्गाको माटो झिकेर बेचिएको दुई साता भयो । अहिले ठूलो खाडल बनेको छ । यसरी सडकको माटो झिक्दा वर्षामा डुवान हुने र सडक नै बगेर जाने खतरा बढेको छ’ उनले भने, ‘सार्वजनिक ठाँउको माटो झिकेर मनलाग्दी रूपमा बिक्री गरेको जानकारी पनि स्थानीय प्रशासनलाई गराएका थियौं । त्यसको एक सातापछि अहिले माटो उत्खनन् गर्न बन्द भएको छ । ’
सरबरियाले साढे चार फुट गहिरो खाडल बनाएर सडक छेउको माटो उत्खनन गरेको र कम्तीमा ३० देखि ४० ट्रयाक्टर माटो बचेको स्थानीयको भनाइ छ । जहदा गाउँपालिका १ नम्बर वडा कार्यालयदेखि सुकुम्बासी बस्ती जोडने सडक जोखिममा पारेर भएको उत्खननलाई प्रशासनले वेवास्ता गरेको स्थानीयबासी बताउँछन् । सडक हँुदै यहाँका ४० घरपरिवार सुकुम्बासीहरू जहदा गाउँपालिका र विराटनगर आवतजावत गर्दछन् ।
‘सडकबाट ट्रयाक्टरका ट्रयाक्टर माटो बोकेर बजारतर्फ गएपछि कहाँबाट यत्रो ठूलो संख्यामा माटो जाँदैछ भनेर खोजी गर्दा सडक किनारको माटो उत्खनन गरेको पाइएको थियो । त्यो पनि सार्वजनिक स्थानको माटो यसरी मनलाग्दी उत्खनन गरेर बिक्री वितरण भएको छ,’ स्थानीय युवा जगनाथ रायले भने, ‘सार्वजनिक सम्पत्ति बाटो नै मास्ने गरी उत्खनन् गर्नेलाई कडा कारवाही हुनुपर्दछ ।’
माटो बिक्री गरेको आरोप लागेका सरबरियाले प्रतिट्रयाक्टर १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म सडकको माटो बिक्री गरेका छन् । उनले विराटनगरमा ल्याइपु¥याउँदा प्रतिट्रयाक्टर ३ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । सरबरियाले सिंघीया खोलानजिक जमिनदेखि पनि भरौट र माटो उत्खनन गरेर बेचेको स्थानियको आरोप छ ।
सार्वजनिक सम्पत्ति त्यो पनि सडक मास्नेगरी उत्खनन गर्ने सरबरियालाई कारवाहीको माग राख्दै कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी पनि स्थानीयले दिएका छन् । जहदा १ धुनीका १२ जना स्थानीयले संयुक्त रूपमा हस्ताक्षरसहित बाटोको माटो उत्खनन् गरि बेच्ने सरबरियालाई कारवाही हुनुपर्ने माग गरेका छन् । सरबरियाले को त ३१४७ नम्बरको ट्र्याक्टरमा सडकको माटो लोड गरेर बिक्री गरेको स्थानीयको भनाइ छ ।
प्राकृतिक स्रोतको दुरूपयोग गर्नेविरुद्ध प्रशासनमा उजुरी गर्दा पनि माटो उत्खनन् रोक्ने कार्यबाहेक कुनै कारबाही भएको छैन । अहिले उनी खुलेआम धनीपूर्जा भएको नम्बरी जग्गाको माटो काटेर बिक्री गरेको भन्दै गाउँघरमा हिँड्ने गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केही दिन अगाडि सडकको माटो बिक्री गरेको निवेदन आएको र घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय रानीको टोलीलाई पठाएको बताए । ‘निवेदन आएपछि घटनाबारे बुझ्न र अनुसन्धान गर्न हामीले प्रहरी टोली परिचालन गरेका छौं,’ उनले भने ‘माटो उत्खनन गर्ने काम तत्काल रोक्ने र माटो झिकेको ठाउँमा पुर्न पनि मैले यसअघि निर्देशन दिएको छु ।’
सडकको माटो उत्खनन् गरेको आरोप लागेका शानदेव सरबरियाले आफुले नम्बरी जग्गाको माटो काटेर बिक्री गरेको दाबी गरेका छन् । ‘मैले सडकको माटो उत्खनन गरेको होइन, आफ्नो नम्बरी जग्गाको माटो उत्खनन गरेको हो,’ उनले भने । जग्गाको धनीपूर्जा देखाउन भन्दा उनले भने, ‘समय लाग्छ । अहिले मैले जग्गाको धनीपूर्जा बैंकमा राखेर ऋण लिएको छु । त्यही भएर अहिले आफूसँग धनीपूर्जा छैन ।’ चाडपर्व सकिएपछि मात्र जग्गा धनीपूर्जा झिक्न सक्ने उनले बताए ।