अभिषेक गिरीलाई सप्तरी पठाइयो, गिरीको मोरङ कारागार नै आउन किन मरिहत्ते ?

विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिए ।

गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि विरोधमा यहाँका कैदीहरूले दिनभरी आन्दोलन गरे । कारागारभित्र कैदीबन्दीहरू छत र जस्तापाता माथि बसेर ‘कैदीबन्दीलाई यातना र असुली धन्दा चलाउने गिरीलाई ल्याउन पाइँदैन’ भन्दै निरन्तर आन्दोलनमा उत्रिएका थिए । कैदीबन्दी आन्दोलनमा उत्रिएपछि कारागार बाहिर र भित्र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । कैदीबन्दीको आन्दोलन साम्य पार्न प्रदेश प्रहरी गण विराटनगरदेखि मोरङ जिल्ला प्रहरी कार्यालयदेखि ठूलो संख्यामा प्रहरी परिचालन भयो । कारागारमा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसि, डिएसपी दिपक श्रेष्ठसहितको टोली थियो ।

ठूलो संख्या कैदीबन्दीहरूले मंगलबार विहानदेखि निरन्तर आन्दोलनमा उत्रिएर गिरीलाई जेलभित्र पस्नै नदिने भएपछि उनलाई सप्तरी कारागार पठाएको मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । ‘उनी बिहानै कारागार हाताभित्र प्रवेश गरे पनि जेलभित्र छिर्न पाएनन्, कैदीहरूले उनलाई इन्ट्री नदिइयोस् भनेर आन्दोलन निरन्तर गरेका थिए,’ उनले भने । कारागारमा आन्दोलन भएपछि गिरीलाई तत्कालका लागि सप्तरी कारागार पठाइएको उनले बताए । गिरीलाई सप्तरी पठाएपछि कैदीबन्दीले आन्दोलन रोकेका छन् ।

कारागार व्यवस्थापन विभागले गिरीलाई गत भदौ १७ गते नै सरूवा गरेको थियो । सरूवालगत्तै विरोध सुरू भएपछि विभागले उक्त निर्णय कार्यान्वयनमा नआउने बताएको थियो । विभागले राजनीतिक दबाबमा गिरीलाई मोरङ पठाएको बुझिएको छ । गिरी विराटनगर देवकोटा चोकका स्थानीय हुन् । मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो । गिरीलाई कांग्रेस नेतृत्वमा सरकार बनेलगत्तै मोरङ कारागार पठाउन स्थानीय नेताहरूले गृहमन्त्री बालकृष्ण खाणसँग ‘लबिङ’ सुरू गरेको बुझिएको छ ।

पहिले मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए । चौकीदारले जेलभित्र राम्रो आम्दानी गर्छन् । गिरीलाई चौकीदार बनाउने योजनाअनुसार भदौ १७ गते उनलाई सरूवा गरिएको थियो । गिरीको सरूवाअघि चौकीदार रहेका नवीन राईलाई झुम्का कारागार सरूवा गरिएको थियो । तर, विभागको निर्णय तत्काल कार्यान्वयनमा नआएपछि मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दा दोषी किरण गुरुङ चौकीदार बनाइएको छ ।

युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए । रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो । रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए ।

यही प्रकरणमा गिरी जेलमा छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ । पछिल्लो पटक पक्राउ पर्नुअघि २०६९ सालमा उनी कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए ।

जेलमा चौकीदार बन्न मरिहत्ते

कारागार व्यवस्थापन विभागका अनुसार जेलमा कानुनसम्मत रूपमै चौकीदार चयन हुन्छन् । चौकीदारको पछिपछि विभिन्न तहमा ‘नाइके’हरू हुन्छन् । कैदीहरूको व्यवस्थापन, औषधी–उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको भूमिका हुन्छ । उसले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ । यसबाट निकै राम्रो आम्दानी हुने भएकाले चौकीदार बन्न जेलभित्रका अपराधीहरू सक्रिय रूपमा लाग्ने गर्छन् ।

त्यसबाहेक पनि चौकीदार दिनभरी बाहिर घुम्न र स्तन्त्रपूर्वक हिंडडुल गर्न पाउँछन् । साँझसम्म कारागार प्रवेश गरिसक्नेपर्ने दिनभरी जहाँपनि हिंड्न मिल्ने र दिनभरीमा आफ्नो गृह नगरीमा अरूपनि धन्दा चलाउन पाइने भएकोले पनि गिरी मोरङ कारागार आउन खोजेका हुन् ।

यसअघि गिरी मोरङ कारागारको चौकीदार रहँदा दिनभरी हिंडडुल गरि ठेक्का पट्टा चलाउनेदेखि कारागारभित्र कैदीबन्दीलाई यातना दिने र असुली धन्दामा लाग्ने गरेको कैदीबन्दी नै बताउँछन् । राजनीतिक दलसँग निकट र सहयोगी रहेका व्यक्तिले त नेताहरूलाई प्रयोग गरेर जेलभित्र आफ्नो प्रभाव बढाउन खोज्छन् । गिरीले पनि त्यही चाहेको देखिन्छ ।

चौकीदार चयनका लागि जेलभित्रका कैदीबन्दीबीच सहमति वा चुनावै पनि हुने गर्छ । त्यसरी जो चयन हुन्छ उसलाई चौकीदार बनाउन कारागार प्रशासनमा कुरा पु¥याइन्छ । प्रशासनले कारागार व्यवस्थापन विभागलाई जानकारी गराएर चौकीदार तोक्छ । तर, काँग्रेस सत्तामा आएपछि पावरको भरमा गिरीले मोरङ कारागार सरूवा मिलाएका थिए । मोरङ कारागारमा ९ सय ७२ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७२ जना महिला रहेका छन् ।

मङ्गलबार, १६ कार्तिक, २०७८, साँझको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर