विराटनगर । प्रदेश १ मा आज नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । राईको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गठबन्धन दलहरुले गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे मुख्यमन्त्रीको शपथ ग्रहणको तयारी गरेको छ । गठबन्धन दलहरुले मुख्यमन्त्रीसँगै गठबन्धन दलबाट कम्तिमा एक एक जना मन्त्रि पठाउने गरी छलफल गरिरहेको भएपनि अहिलेसम्म कुनै निष्कर्श नआएको बताइएको छ । अहिले सबै दलहरु आन्तरिक बैठकमा व्यस्त रहेको नेकपा माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाले जानकारी दिए ।
सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन गर्न आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले हिजो साँझै नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।
सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गरी मुख्यमन्त्रीले भीमप्रसाद आचार्यले राजीनामा घोषणा गरेका थिए ।