राजनीति पेशा हुन थाल्यो । कसरी ? राजनीति गर्ने व्यक्तिले पेशामा ‘राजनीति’ लेखेको धेरैठाउँ देखेको छु । ‘के गर्नुहुन्छ ?’ जवाफ आउँछ, ‘राजनीति गर्छु ।’ कसका लागि ?’ जवाफ आउँछ, ‘जनताका लागि ।’ कसको पक्षमा ? जवाफ आउँछ, ‘जनताको पक्षमा अनि जनताको सेवामा ।’ शब्द र व्यवहारमा कति धेरै फरक क्या ! शब्दमा सेवा, व्यवहारमा पेशा । कठै राजनीति !
के नेताहरु जनताको पक्षमा राजनीति गर्छन् ? धेरैको जवाफ आउँछ, ‘गर्दैनन् ।’ अधिकांशले दाबा गरेर जवाफ दिन्छन्, ‘नेताले आफ्ना लागि, आफन्तका लागि अनि गुटका लागि राजनीति गर्छन् ।’ उदाहरण हजारौं भेटिन्छन् यो प्रशङ्गमा । आखिर यो अवस्था आयो कसरी ? किन राजनीति विकृत बन्यो ? किन राजनीतिमा स्वार्थ मिसियो ? किन राजनीति समाजको कब्जाभन्दा बाहिर गयो ? किन जनताको राजनीति गरिएन ? सच्चा जनता को हुन् ? के कार्यकर्ता मात्र जनता हुन् ? के जनताको लागि राजनीति भएको छ त ?
जनता को हुन् भन्ने विषय ठूलो बहसको विषय हुनसक्छ । सबै नेता । सबै कार्यकर्ता । अनि, सबैमा राजनीतिको ट्याग । राजनीति गर्ने सबैले जनताको राजनीति गर्ने भन्छन् । हन, जनता चैं को हुन् ? कसका लागि केन्द्रित हुँदैछ राजनीति ?
पहुँच पुग्यो, सबै पायो । जसले पहुँच पुर्याएन, केही पाएन । चाकडी नगर्ने, पहुँच नपुर्याउने र शक्तिकेन्द्र नधाउने जनता ‘जनता’ होइनन् ? तल्लो वर्गको किसान जनता होइन ? श्रमिक जनता होइन ? मजदुर जनता होइन ? सुकुम्बासी जनता होइन ? आदिवासी, दलित, जनजाती जनता होइनन् ?
अब्राहम लिंकनले भनेका छन्, ‘शक्तिमा पुगेपछि अधिकांश व्यक्ति बिग्रिन्छन् ।’ उनको शब्दको आसय, राजनीतिमा असत्य, भ्रम, झुट, आतंक र अस्थिरता बिक्न थाल्यो । सत्य, न्याय, शान्ति, सहिष्णुता, विकास र परिवर्तन गौण बन्यो । ग्रीकका प्रसिद्ध दार्शनिक प्लेटोले भनेका छन्, ‘मूर्खहरुबाट सज्जनहरु शासित हुने विधि नै राजनीति हो ।’ यो किन हुन्छ ? मूर्खहरुबाट सज्जन शासित हुनु नै राजनीति हो त ? के सबै राजनीतिज्ञ मूर्ख नै छन् त ? कि अब्राहमले भनेजस्तो शक्तिमा पुगेपछि व्यक्ति मूर्ख नै हुने हो ?
थोरै व्यक्ति मात्र असल नेता बने । यो संसारकै समस्या हो । मार्टिन लुथर किङले भनेका छन्, ‘राजनीति सधैं जनताको लागि गर्नुपर्छ ।’ उनले सच्चाईमा जनताको राजनीति गरे । त्यसपछि कति लुथर किङ जन्मिए मलाई थाहा छैन । नेपालमै सन्दर्भमा चर्चा गर्ने हो भने वीपीले एकप्रकारको जनताको राजनीति गरे क्यार ! आजसम्म धेरैले उनलाई मान्छन् । मदन भण्डारीले पनि जनताको राजनीति गरे । प्रचण्डले पनि जनताको राजनीति गरे । रुपान्तरणको पक्षमा लडे । अरुका राजनीति खोक्रो राजनीति लाग्छ । सिद्धान्त नभएको । योजना नभएको । परिवर्तनको परिकल्पना नभएको । केवल जागिर खानका लागि राजनीति । केवल परिवार पाल्नका लागि राजनीति ।
म आफैंलाई समय समयमा प्रश्न गर्छु । आखिर जनताको राजनीति भनेको के हो ? के जनताले घरघरमा चामल ल्याइदेऊ भन्छन् ? के जनताले लत्ताकपडा किनिदिनु भन्छन् ? के जनताले रेष्टुरेन्टमा घुमाउन लैजाउ भन्छन् ? जनताले खोजेको अनि जनताले चाहेको राजनीति चैं के हो त ? जनताले खोजेको विकास र रुपान्तरण के हो त ? सच्चा जनताले खोजेको विकास सामाजिक विकास हो । सच्चा जनताले खोजेको रुपान्तरण सामाजिक रुपान्तरण हो । सच्चा जनताले खोजेको परिवर्तन समग्र समाजको सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तन हो । नेता र कार्यकताले खोजेजस्तो व्यक्तिको परिवर्तन होइन । व्यक्तिको रुपान्तरण होइन । व्यक्तिको मात्र विकास होइन ।
राज्यले चलाएका विद्यालयहरु उत्कृष्ट र अब्बल हुनुपर्छ । जनताले खोजेको विकास त्यही हो । सीप, संस्कारसहितको गुणस्तरीय शिक्षा जनताले पाउनुपर्छ । राज्यले चलाएको स्वास्थ्य संस्थाहरु उत्कृष्ट र सेवामुखी हुनुपर्छ । जनतादेखि नेतासम्मले स्वदेशकै सरकारी अस्पतालहरुमा समान र गुणस्तरीय सेवा पाउनुपर्छ । जनताले खोजेको परिवर्तन त्यही हो । किसानले समय अनुकुलको कृषि कर्म गर्न पाउने वातावरण र सेवा हुनुपर्छ । जनताले खोजेको रुपान्तरण त्यही हो । हरेक व्यक्तिमा सीप हुनुपर्छ । हरेक व्यक्तिमा संस्कार हुनुपर्छ । हरेक व्यक्तिमा अनुशासन र धर्म हुनुपर्छ । राजनीतिबाट जनताले खोजेको अपेक्षा त्यही हो । नेताले समाज बनाउने हो । नेताले संस्कार बसाउने हो । नेताले सपना देखाउने हो । अनि, कार्यान्वयन गराउने हो ।
जनताले खोजेको परिवर्तन पहुँचका आधारमा नभएर क्षमता र आवश्यकताको आधारमा पाउनुपर्छ । जनताले खोजेको समृद्धि समाजमा सुशासन हुनुपर्छ । कानूनको उचित पालन र संरक्षण गर्नु गराउनुपर्छ । हरेक व्यक्ति उद्यमशील हुनुपर्छ । उत्पादनमा लाग्नुपर्छ । त्यो हो नि रुपान्तरण त । तर, हाम्रा जागिरे नेताले यी विषयलाई बुझेका छन् ? बुझेकाले परिवर्तनको पक्षमा काम गरेका छन् ? काम गर्नेहरुबाट यस अनुरुपको नतिजा आएको छ ? ‘छ’ भनेर दाबा गर्ने हिम्मत ममा आएको छैन । तपाईंहरुमा आएको छ भने ठीकै छ, छैन भने अब रुपान्तरण खोजौं । जनताको राजनीति गर्नेलाई पदमा पु¥याऔं ।
हेर्नुस् न, दिल्लीमा केजरीवाल सरकारले सडक सडकमा झाडु लगाएर सुरु गरेको राजनीति आज समाज रुपान्तरणसम्म पुग्यो । उनीहरुले जनताकै काम गरे । विपन्नको हितमा काम गरे । किसानको पक्षमा काम गरे । महिलाको पक्षमा काम गरे । दलितको पक्षमा काम गरे । अल्पसंख्यकको पक्षमा काम गरे । हामीसँग त एजेण्डा नै छैन । काम कसरी होस् ? समाज सुधारको सपना नै छैन । रुपान्तरण कसरी होस् । परिवर्तन के हो ज्ञान नै छैन । अनि परिवर्तन कसरी होस् ? अन्त्यमा, राजनीतिज्ञलाई एउटा प्रश्न । ‘कहिलेसम्म राजनीतिलाई पेसा बनाउने ?’ अनि जनतालाई एउटा प्रश्न, ‘राजनीतिलाई पेशा बनाएर मूर्ख शैलीको शासन गर्नेहरुलाई कहिलेसम्म विश्वास गर्ने र पछि लाग्ने ?’

