‘बाह्रै महिना पाथीभराको दर्शन गर्न सकिन्छ’

 मनमणी काफ्ले

पाथीभरा नेपालको एक प्रसिद्ध तीर्थस्थल हो । शक्तिकी स्वरुप देवीको आराधना गर्ने भक्तजनहरुका लागि महत्वपूर्ण धार्मिकस्थल पाथीभरा मन्दिर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पर्दछ । विश्वास एवं आस्थाकी देवी पाथीभराको यो पवित्रस्थल समुद्री सतहबाट ३७९४ मिटर उचाईमा अवस्थित छ । यो मन्दिर अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पहाडको शिखरमा छ । पवित्र मनले चिताएको पूरा हुने विश्वास गरिएकाले यस मन्दिरमा वर्षभरि दर्शनार्थी एवम् भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरबाट विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजंघासहित पूर्वि नेपालका धेरै हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा करिव २५ प्रजातिका लालीगुँरास पाइन्छन् । पाथीभरा क्षेत्रमा पाइने विभिन्न प्रकारका जडीबुटी, चराचुरुङ्गी र वन्यजन्तुहरुले यस क्षेत्रको जैविकतालाई झल्काउँछन् । यो क्षेत्र विश्वबाट लोपोन्मुख रेडपाण्डाको वासस्थान हो । पाथीभरा क्षेत्रको सुन्दरतामा डाँफे, मुनाल जस्ता चराहरूले थप सौन्दर्यता थपेका छन् । पाथीभरा मन्दिर पुग्ने मार्ग, दर्शन गर्ने उचित समय आदि विषयमा पाथीभरा क्षेत्र विकास समितीका निर्देशक मनमणी काफ्लेसँग हाम्रोमत संवाददाता एलिना दियालीले गरेको कुराकानीको सम्पादित अंशः

पाथीभरा मन्दिरको उत्पतिबारे बताईदिनुस न ?

–परापूर्वकालमा गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा आसपासमा राख्ने गर्थे । एकदिन अचानक अप्रत्यासित ढंगले ती गोठका बथानका बथान भेडाहरू अलप भए । यस्तो अकल्पनिय घटनाले स्तब्ध भएका गोठालालाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउनु भयो । ति गोठालाहरूले देवीको उत्पतिस्थलमा भक्तिभाव पूर्वक पूजाअर्चना गरे । यसो हुदाँहुँदै हराएका भेडाहरू जस्ताको तस्तै अलप भएकै ठाउँमा देखा परे । यो देखेर गोठालाहरूले देवीको जय जयकार गरे । त्यसपछि यहाँ देवीको पूजाअर्चना सुरु भएको मानिन्छ । अहिले नेपाल तथा भारतवाट प्रतेक वर्ष लाखौंको संख्यामा तिर्थयात्रीहरु पाथीभरा देवीको दर्शन गर्न यहाँ आउने गरेका छन् ।

पाथीभरा जाने मार्ग बताईदिनुस् न ?

– पाथीभरा जान सिक्किम तथा दार्जिलिङबाट भारतको सिमानामा पर्ने नेपालको काँकडभिट्टा प्रवेश गर्नुपर्छ । यहाँबाट करिव २५ मिनेटमा विर्तामोड पुग्न सकिन्छ । विर्तामोड वसपार्कबाट ताप्लेजुङको लागि हरेक विहान नियमित बस सेवा उपलब्ध छ । आफ्नो निजी वा रिजर्भको मोटर भए काँकडभिट्टाबाट करिव १५ मिनेटमा चारआली चोकमा आइपुगिन्छ । यहाँबाट मेची राजमार्ग हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । मेची राजमार्गका मनोरम चियावगान छिचोल्दै प्राकृतिक रमणीयतामा झुम्दै करिव ८ घण्टाको यात्रामा ताप्लेजुङ पुग्नुहुने छ । दार्जिलिङबाट नेपालको पशुपतिनगर हुँदै पनि पाथीभरा मन्दिर पुग्न सकिन्छ ।

ताप्लेजुङबाट पाथीभरासम्म पुग्ने मार्ग बताइदिनुस न ?

– ताप्लेजुङको सदरमुकामबाट १७ किलोमिटर मिटर यात्रा पछि करिव एक घण्टामा सुकेटार विमानस्थल हुँदै काफ्लेपाटी पुगिन्छ । यहाँबाट पैदल मार्ग सुरु हुन्छ । काफ्लेपाटीबाट १ घण्टाको पैदल यात्रामा फेदी (कान्छीथान) पुगिन्छ । काफ्लेपाटी र फेदिमा बस्नका लागि प्रसस्त होटलहरु रहेका छन् । फेदिवाट करिव २ घण्टाको उकालो हिंडेपछि पाथीभरा माताको चरणमा पुग्नुहुने छ । जब तपाई माताको यस पवित्र भूमिमा पुग्नुहुने छ, तपाईलाई आश्चार्यजनक आनन्दको अनुभूति हुनेछ । अघि हिँड्दाको तपाईको थकान पुरै हराएको महसुस हुनेछ । पाथीभरामाताको चरणमा शरण लिँदै गर्दा आफूलाई प्रफुल्लित महशुस गर्नुहुने छ । यसरी खुसी र पवित्र मनले माताको दर्शन गरेर आशिर्वाद ग्रहण गर्नुहुने छ । निश्चित छ, मनचिन्ते देवी पाथीभराले तपाईको मनोकांक्षा पूरा गरिदिनु हुनेछ ।

पाथीभरा मन्दिरको दर्शन तथा भ्रमण गर्नका लागि उचित समय कुन हो ?

– बाह्रै महिना पाथीभराको दर्शन गर्न सकिन्छ । असोज, कात्तिक, मङ्सिर महिना र चैत्र, वैशाख, जेठ महिनामा तिर्थालुहरुको अत्याधिक भीड हुने गर्छ । हिँउद याममा चिसो ज्यादा हुने तथा हिमपात हुने हुनाले न्यानो लुगाफाटा र बन्दोबस्तिका सामाग्रीका साथ दर्शनमा जान सकिन्छ ।

पाथीभरा क्षेत्रको विकासका लागि समितिले चालेका कदम के कस्ता छन् ?

– सर्वप्रथम त मन्दिरसम्म पुग्ने पैदलमार्गको स्तरोन्नति, पैदल मार्गमा ट्रस निर्माणको थालनी, ठाउँ–ठाउँ विश्रामस्थल निर्माण गरेका छौं । त्यस्तै गरि अपलिफ्टिङ प्रविधिबाट पाथीभरा पानी पुर्याउने योजना निर्माणाधिन अवस्थामा छ । पाथीभरामा टि स्टेशन (चिया र तातोपानी घर), रेस्क्यू सेन्टर (विरामीका लागि अक्सिजन व्यवस्थापनसहित) तथा शौचालय निर्माणको चरणमा रहेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका आगामी योजना के छ ?

– हाम्रो समितिको पहिलो योजना त निर्माणाधिन योजनाको पूर्णता दिनु नै हो । त्यस्तै गरि पैदल मार्गको सुधार गर्न बाँकी खण्डको निर्माण, मन्दिर जाने बाटोमा थप शौचालय र पानीको धारा जडान, फेदी माथिको पैदल मार्गको सम्पूर्ण खण्डमा ट्रस निर्माण, सन्त ध्यान केन्द्रको निर्माण, सुकेटार–काफ्लेपाटी सडक खण्डको कालोपत्रे (ठेक्का खुलेर सम्झौताको प्रक्रियामा भएको) आदि योजना रहेका छन् ।

पाथीभरा मन्दिरमा दर्शनार्थी तथा भक्तजनले चढाउने भेटीपातिको के कसरी व्यवस्थापन गरिएको छ ?

– पाथीभरा क्षेत्र विकास समिति अन्तरगत भेटीपाती व्यवस्थापन समितिको नाममा आन्तरिक आम्दानीको बैंक खाता संचालन रहेको छ । प्रहरी तथा समितिको कर्मचारीद्वारा भेटी जम्मा शिलवन्दी गरि समितिको सदरमुकामस्थित कार्यालयमा ल्याउने गरेका छौं । त्यस्तै गरि कार्यालयमा भेटीको व्यवस्थापन, सटिङ, काउन्टिङ गरेर बैंक जम्मा गर्दै आएका छौं ।

सोमबार, ०८ कार्तिक, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर