श्रमशोषणमा परी विदेशबाट घर फर्केकालाई समाजमा पुनःस्थापना गराउन कठिन

सबैभन्दा बढी महिला वेचविखन तथा ओसारपसार हुने जिल्ला मोरङ

विराटनगर । सुनसरीकी विनिता ऋषिदेव १५ वर्षको उमेरमा कुवेत पुगिन् । बराहक्षेत्र नगरपालिका ५ की ऋषिदेव परिवारको गुर्जो टान उनी खाडी मुलुक कुवेत लागेकी हुन् ।

आमाबुवाको कमाईले पाँच जनाको परिवार चलाउन धौ धौ थियो । त्यसैले उनले दुई कक्षाभन्दा बढी पढ्न पाइनन् । घरकी जेठी छोरी भएपछि सबै भार उनैको टाउकोमा थियो । भाईबहिनीको हेरविचारको जिम्मा उनैको काँधमा थियो ।

साँझ बिहान के खाउँ भन्ने द्घिविधामा उनको बाल्यकाल बित्यो । चरम अभावमा बितेको आफ्नो बाल्यकालजस्तै भाईबहिनीले दुख व्यहोर्न नपरोस् भन्ने सोचले उनले पढाई छाडिन् ।

तर उनीसँगै बुवाआमाको कमाईबाट सोँचे जस्तो घर व्यवहार भने चल्न सकेन । एकातिर बाआमाको दुख पनि आफ्नै सम्झेर जिम्मेबारी बोक्नु थियो । अर्कोतिर भाईबहिनीको भविष्यलाई सुन्दर बनाउने सपना पूरा गर्ने अभिभावकत्व पनि उनकै काँधमा आइलाग्यो । यति कुरा सोचेर आँखामा आँशु बोकेर उनले रुँदै देश छाड्ने निर्णय गरिन् । उनको आँशुभित्र उनका भाईबहिनीको खुशी र आमाबुवाको सुख देखिएको थियो ।

त्यो समय नगरिकता बनाउनका लागि उनको उमेर पुगेको थिएन । यद्यपी, उनलाई कसैगरी विदेश जानु थियो । निक्कै लामो प्रयासपछि उनले आफ्नै गाउको छिमेकी दाईको सहयोगबाट उमेर बढाएर उनले नागरिकता बनाइन् । नागरिकता पाएको दिन सपनाको उडान भरेको जस्तै महसुस भएको उनले सुनाईन् । ‘धेरै पटकको प्रयासमा मेरो नागरिकता बनेको थियो । उमेर पुगेको थिएन । मैले परिवारको लागि विदेश जानै पर्ने अवस्था थियो । त्यो बेला नागरिकता बनाउने मेरो पहिलो सपना थियो,’ उनले भनिन् । उनको यो सपना त पुरा भएजस्तै भयो । एउटा ठूलो संकल्पका अगाडि आयस्रोत र जीवनयापनको चुनौति भने भीमकाय बनिरह्यो । जसलाई पन्छाउन होइन, जिम्मेवारीमा बसेर काम गर्न उनको दैनिकी सुरु गरेजस्तो भयो ।

‘नागरिकता बनेपछि एउटा सपना पुरा भए जस्तौ लाग्यो, मान्छेलाई गरिबी र भोकले सानै उमेरमा जिम्मेवारी बनाउने रहेछ,’ उनले परिपक्वको बाध्यता सुनाइन् । नागरिकता बन्यो । तर अब सपनाको उडान भर्न चाहिने आवश्यक खर्च जोहो गर्न उनको परिवारलाई झन् सकस थपियो । तर विदेशिएर पैसा कमाउन सजिलो थिएन । परिवारलाई सुखका साथ राख्ने सपनाको वृहत चाङ लिएर हिँडेकी विनितालाई उनको सपना पुरा गर्न अभावले छेकेन । उनैको नागरिकता बनाइदिने छिमेकी दाईले आर्थिक सहयोग गरेको उनले सुनाइन् ।

‘विदेश जाने सबै खर्च म दिन्छु तर तिमिले कमाएको पैसा परिवारसहित मलाई पठाउनुपर्छ भन्ने शर्त राख्नु भयो’, उनले भनिन्, ‘मैले केहि सोँचिन, त्यो समय मलाई आवश्यकता थियो मैले उहाँको शर्त स्वीकार गरे ।’

नागरिकता, पासपोर्टको साथमा सुनौलो भविष्यको सपना बोकोर छिमेकी दाईसँग विदेश यात्राका लागि हिँडेकी उनी भारतको सानो कोठामा पुगिन । गएको दिनदेखि साँघुरो कोठामा थुनिएर बस्ने विनिता मात्रै थिइनन् । उनी जस्तै धेरै महिलाहरु सुखद भविष्यको परिकल्पनामा वैदेशिक रोजगारीका लागि हिँडेको भारतको कोठीसम्म पुगेका थिए ।

‘दाईले एक महिनापछि कुवेत लग्छ भनेर इन्डियामा लगेर नचिनेकी दिदीसँग छोडिदिनुभयो, म मात्रै थिइन् । थुप्रै नेपाली दिदी बहिनीहरु थिए,’ उनले भनिन्, ‘सबैको पीडा उस्तै थियो मेरो जस्तै आर्थिक अभाव ।’

एक हप्ताको बसाईपछि आफू दुई महिनाका लागि भारतमा बेचिएको भन्ने उनीसँगै कोठीमा बस्ने साथीको माध्यमबाट उनले थाहा पाइन् । आफु केहि समयका लागि बेचिएको थाहा पाएपछि उनी प्रत्येक दिन नेपाल फर्कन चाहन्थिन् । बन्द कोठाभित्र कष्टकर जीवन बिताएकी विनिताको दुई महिना पछि कुवेतका लागि भिसा लाग्यो । उनी भन्छिन्, ‘कुवेत उडेको दिन जीवनको सबै भन्दा ठुलो खुशी मिलेको थियो सपना पुरा भयो भनेर ।’

तर, उनी सपनाको शहर त पुगिन, तर सपना पुरा गर्न भने सकिनन् । उनी घरेलु कामदारका लागि कुवेत पुगेकी थिइन् । जुन घरका लागि काम गर्न भनेर पुगिन । त्यो घरमा उनले शारिरिक, मानसिक यातना व्यहोर्नु परेको थियो । गएको महिना दिन बितिसक्दा उनको मालिकले काम गरेको तलबसमेत नदिएको उनले सुनाइन् । उनले भनिन्, ‘तलब माग्दा शारिरिक, मानसिक यातना दिएर बन्द कोठामा थुनेर राख्थ्यो ।’ करिब डेढ वर्ष कुवेतको बसाईपछि जसोतसो भागेर नेपाली दुतावास पुगेकी विनिता रित्तो हात नेपाल फर्किइन् । उनी गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दुतावासको समन्वयनमा नेपाल फर्केकी थिइन् । आफन्तको खिसिट्युरीले उनलाई गाँउमा खुलेर जिउन धेरै गाह्रो भएको उनले सुनाइन ।

‘आफन्तले बेचिएर आएको भन्थे, काम गर्न नसकेर आएको भन्दै कुरा काटेर गाँउघरमा बस्न मनै लाग्दैन थियो,’ उनले भनिन्, ‘छिमेकको मुख टाल्न विवाह गरे श्रीमान पनि वित्नु भयो । अहिले जासोतसो चलिरहेको जीवन चलिरहेको छ ।’

उनले कुवेत पुग्दा लागेको ऋण अझै चुक्ता गर्न सकेकी छैनन् । उनीसँग भएको पासपोर्ट, नागरिकता उनलाई कुवेत पठाउन सहयोग गर्ने छिमेकी दाईले लगेको आजसम्म दिएका छैनन । ‘पहिले विदेश जाँदाको पैसा चुक्ता गर अनि तेरो नागरिकता पासपोर्ट दिन्छु भन्नुहुन्छ,’ उनले भनिन् ।

आफुसँग सीपमुलक काम नहुँदा दैनिकी चलाउन सकस भएको उनी बताउछिन । माइती नेपाल विराटनगर जोगबनीको २०२१ जनावरीदेखि अगष्टसम्मको तथ्याङ्क अनुसार प्रदेश १ सहित अन्य जिल्लाका १ सय २२ जना महिलालाई उद्धार गरिएको छ ।

तथ्याङ्क अनुसार मोरङबाट ५९ जना, सुनसरीबाट ३६ जना, झापाबाट १० जना, भोजपुरबाट १ जना, धनकुटाबाट ३, सप्तरीबाट ५, संखुवासभाबाट ४, ताप्लेजुङ १, पाँचथर २ र धनुषाबाट १ जनालाई उद्धार गरिएको छ । सबैभन्दा बढी महिला वेचविखन तथा ओसारपसार हुने जिल्ला मोरङ रहेको तथ्याङ्कमा उल्लेख छ ।

उद्धार गरिएका महिलाहरुमध्ये सबै भन्दा धेरै १९ देखि २५ वर्ष उमेर समुहको रहेको माइती नेपालका प्रदेश संयोजक विनोद पोखरेलले जानकारी दिए ।

चोर बाटो रोज्दा रेकर्ड खोज्नै समस्या

वैदेशिक रोजगारीका लागि चोरबाटो रोज्नका कारण यथार्थ तथ्याङ्क सङ्कलनमा सकस हुने गरेको पोखरेल बताउँछन् । कतिपय उद्धार भएका महिलाहरुमध्ये वैदेशिक रोजगारीका लागि जाने क्रममा भारतको दिल्ली, मुम्बई लगायतका स्थानमा वेचिएका महिलाहरुको उद्धार भएको उनले बताए । ‘वैदेशिक रोजगारीका लागि फ्री भिसामा जाने महिलाहरुलाई एजेन्टले भारतको जोगबनी हुँदै लग्ने गर्दछन्,’ उनले भने, ‘त्यसरी चोरबाटे हुँदै जानेको संख्या धेरै छ, त्यसैले उनीहरुको एकिन डाटा खुलेको हुँदैन ।’

चोरबाटो जाने महिलाहरुलाई भारतको विभिन्न स्थानमा लगेर राख्ने गरेको र त्यहाँबाट उनीहरु जाने देशमा महिलाहरुको फोटो पठाउने त्यसपश्चात विदेशबाट पठाउँ भन्ने अनुमति आएपछि महिलाहरुको भिसा लाग्ने गरेको सोधपुछबाट खुलेको उनले बताए । उनले भने, ‘जाने गैहाल्ने रहेछन्, नजानेलाई भारत बस्दाको खर्च उठाउन बन्धक बनाएर यौन व्यवसायमा लगाउने, वा कुनै कोठीमा बेचबिखन गरिदिने रहेछ ।’

उद्धार भएका महिलाहरुलाई माइती नेपालको सहयोगमा पुनःस्थापना हुन घर जान चाहानेलाई घर पठाउने सीप सिकेर संस्थामा बस्न चाहनेलाई माइती नेपालको संरक्षणमा राखेर पुनःस्थापना गराउने गरेको उनको भनाई थियो ।

रोजगारीको प्रलोभनमा बेचिन पुग्छन् अधिकांश महिला

विभिन्न रोजगारीको प्रलोभनमा परेर अधिकांश महिलाहरु बेचबिखनमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका महिला सेल इन्चार्ज प्रहरी निरीक्षक एल्जिना राई बताउँछिन् । उनी भन्छिन्, ‘विभिन्न रोजगारीको प्रलोभनमा परेर अपरिचित व्यक्तिलाई विश्वास गर्नाले साथै पीडितलाई आफु बेचिदैछु भन्ने जानकारी नहुँदा पनि अधिकांश महिलाहरु वेचविखनमा पर्ने गरेका छन् ।’ पछिल्लो समय कोरोनाले गर्दा नेपालमा रोजगारी खोसिएका महिलाहरुलाई भारतमा रोजगारी लगाइदिने प्रलोभनमा परेर बेचिएको केसहरु महिला सेलमा आउने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीबाट दुःख पाएर फर्केपछि पुनःस्थापना गराउन गराउन सकस गैरकानुनी ढंगबाट वैदेशिक रोजगारीका लागि गएका महिलाहरुलाई नेपाल आएपछि पुनःस्थापना गराउन धेरै सकस पर्ने गरेको अधिवक्ता कला त्रिताल बताउँछिन् । सरकारले घरेलु कामदारका लागि प्रतिबन्ध लगाए पनि गाँउका सोझा महिलाहरूलाई अवैध तरिकले तेस्रो मुलुक हुँदै खाँडी पुर्याउने गरेको अधिवक्ता त्रिताल बताउँछिन् ।

‘तेस्रो मुलुकबाट वैदेशिक रोजगारीका लागि जाने महिलाहरूलाई एजेन्टहरुले श्रम स्वीकृति नगराई अवैध तरिकाले भारत हुँदै खाडीका विभिन्न देशमा पुर्याउने गर्दछन,’ उनले भनिन् । ‘अवैधरुपमा वैदेशिक रोजगारीका लागि खाँडी पुगेका महिलाहरु परिवारबाट लामो समय सम्पर्कबिहीन हुन्छन्,’ मानव अधिकारका लागि जन मञ्चका जिल्ला संयोजकसमेत रहेकी त्रिताल भन्छिन्, ‘लामो समयपछि साथीको माध्यमा
सम्पर्कमा आएका उनीहरुलाई नेपाल आएपछि पुनःस्थापना गराउन धेरै सकस हुन्छ ।’

नेपाल सरकारले दिएको आवेदन भरेर नेपाली एयरपोर्ट प्रयोग गर्दै गएका कामदारहरुको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा तथ्यांक हुने भएकाले उनीहरुलाई दुर्घटना लगायतका केही भवितव्य परे सरकारले दिने सेवा सुविधा प्राप्त गर्न सहज हुने गरेको उनले बताइन् ।

गैरकानुनी ढंगबाट गएका कामदारहरुलाई भने सरकारी सेवासुविधा उपलब्ध गराउन सकस पर्ने गरेको उनले बताइन् । ‘अवैध तरिकाले वैदेशिक रोजगारीमा गएका कामदारको डाटाहरु उहँसँग पनि हुँदैन र हामीसँग पनि हुँदैन,’ उनले भनिन्, ‘उहाँहरुले भनेको आधारमा जसले रोजगारीका लागि पठाएका हुन, पठाउनेलाई मानव बेचविखनको कसुरमा अभियोग लगाउनबाहेक अरु सेवा सुविधा दिन गाह्रो पर्छ ।’

सोमबार, ०८ कार्तिक, २०७८, बिहानको १०:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर