दसैं सुरु भइसकेको छ । दसैंमा कहाँ जाने ? समय कसरी बिताउने ? यो बेला धेरैको योजना बनिसकेको छ । तर, हाम्रो समाजमा केही यस्ता पात्रहरु पनि छन्, जसलाई न दसैंको उमंगले छुन्छ न अन्य चाडपर्वका उल्लासले नै ।
प्रहरी, सेना, स्वास्थ्यकर्मी लगायतका यस्ता पेशाकर्मी धेरै छन्, जसले आफ्नो दायित्व निर्वाहमै चाडपर्व बिताउनुपर्छ । दिनरात नभनी उनीहरु अहोरात्र ड्युटीमा खटिन्छन् । थोरै त्यस्ता भाग्यमानी फौजी पनि छन्, जसले घर फर्किने सौभाग्य पाउँछन् । धेरैले त ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दशैं खल्लो बन्न नदिने प्रयास गर्छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरूणकुमार बिसीले चाडपर्वमा सर्वसाधारणको सुरक्षार्थ खट्दै चाडपर्व मनाउने गरेको सुनाए । ‘दसैं भन्यो, तिहार भन्यो । तर, हामीलाई त ड्यूटी गर्दागर्दै समय वितेको पत्तो नै हुँदैन’, उनले भने, ‘कार्यालय प्रमुख भएकाले हामीले विदा पनि लिन मिल्दैन । फेरि जनतालाई ३ सय ६५ दिन नै शान्ति, सुरक्षा प्रदान गर्नु हाम्रो दायित्व हो ।’ प्रहरी संगठनको मेरुदण्ड भनेकै तल्लो तहका अफिसरहरु भएको बताउँदै उनीहरुको मनोबल उच्च बनाउन लागि पर्ने बताउँछन् । ‘उनीहरुको मनोबल उच्च बनाउन पालैपलो विदा दिने गरेको छु’, उनले थपे, ‘त्यसैमा मलाई पनि रमाइलो लाग्छ ।’
प्रहरी व्यस्तता कस्तो हुन्छ भन्ने तथ्य डिआइजी बिसीले विवाह गरेको एक दशकपछि मात्रै ससुरालीमा टिका लगाएको घटनाबाट मात्र पनि बुझ्न सकिन्छ । प्रहरी सेवामा प्रवेश गरेपछि २०५२ सालमा बिसीको विवाह भएको थियो । त्यसबेला उनी सिनियर प्रहरी निरीक्षक थिए । उनी इलाममा कार्यरत थिए । विवाह भएको १० वर्षपछि २०६१ सालमा पहिलोपटक दसैंमा टिका लगाएको उनले बताए । उनले भने, ‘विवाह गरेको १० वर्षपछि ससुरालीमा टिका लगाएँ । त्यो पनि विहान टिका लगाएँ, साँझतिर आफ्नो कार्यस्थलमा पुगेको थिएँ ।’ ‘शान्ति, सुरक्षाको व्यवस्थापनदेखि संगठित अपराधको अनुसन्धान गर्नु हाम्रो दायित्व हो’, उनले भने, ‘यहीबीचमा भीआईपी÷भीभीआईपीज्यूहरुको पनि सवारी हुन्छ । उहाँहरुको सुरक्षा व्यवस्थापनमा पनि हामी क्रियाशील रहन्छौं ।’
प्रदेश प्रहरीमा शुक्रबार बडादसैं पनि मनाएको उनले सुनाए । ‘अहिले त झन् प्रहरीको एउटा निकायको नेतृत्व गरेर म आफैं दसैं मनाउन जाने हो भने सिपाहीहरुको हालत के हुन्छ ?’, उनले भने, ‘मातहतका कर्मचारीको अभिभावक भनेकै म नै हुँ जस्तो लाग्छ । त्यसैले पनि मातहतका प्रहरी कर्मचारीहरू टिका लगाउन प्रदेश प्रहरीमा आउने गर्दछन् । यसपटकको दसैं कार्यक्षेत्रमै मनाउने हो ।’
मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले चाडपर्वको समयमा माथिल्लो तहका अधिकारीहरुले विदा दिए पनि आफ्नो क्षेत्र छाडेर जान सक्ने अवस्था नरहेको बताए । ‘विदा हुँदा पनि जान सक्ने अवस्था छैन,’ उनले भने, ‘प्रदेश १ राजधानी रहेको जिल्ला आफैंमा एउटा संवेदनशील जिम्मेवारी हो । त्यसैले कसैले जानुभन्दा पनि जान सक्ने अवस्था छैन । विदामा जाँदा आफ्नो एरियामा केही भइहाल्छ कि भन्ने चिन्ताले सताउँछ ।’
उनका अनुसार जहाँ ड्यूटी, त्यहीँ दसैं प्रहरीका लागि त्यही नै हाम्रो दशैं हुन्छ । त्यहीँ हुन्छन् परिवार ।’ आम नागरिकले हाँसो, खुसीका साथ दसैं, तिहार जस्ता चाडपर्व मनाउन पाए आफूलाई त्यसैमा सन्तुष्टी हुने उनी बताउँछन् । ‘मेरोमात्रै होइन, हामी सबै सुरक्षाकर्मीको दसैँ कार्यक्षेत्रमै हुने गर्छ,’ उनले भने । चाडपर्वकै बेला चोरी डकैती बढ्ने, विशिष्ट व्यक्तिहरूको आवागमन र सुरक्षामा जुट्नु पर्ने हुँदा कामको चाप बढी हुने गरेको छ ।
जनताको सुरक्षार्थ खटिने प्रहरी जवानहरुको पीडा पनि वर्णन गरिसाध्य छैन । मानिसहरु टिका र जमरा लाएर हिँडडुल गर्दा उनीहरुको मन कटक्क खान्छ । सुरक्षामा खटिएका एक जना प्रहरी जवानले भने, ‘ अहिले त बानी नै परिसकेँ । बुबाआमाले पनि छोरा राष्ट्रसेवामा छ भन्ने बुझ्नु भएको छ । राम्रोसँग काम गर, आफ्नो ख्याल गर्नु भन्नुहुन्छ ।’
सुरक्षासँगै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको दसैं पनि काममै बित्ने गर्छ । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. चुमनलाल दासले बहिरंग सेवाबाहेक अन्य सेवा निरन्तर हुने भएकाले पालो मिलाएर दसैं मनाउनु पर्ने बाध्यता चिकित्सक र स्वास्थ्यकर्मीलाई रहेको बताए । अत्यावश्यक सेवा रोक्न नमिल्ने हुँदा चिकित्सक, स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनु पर्ने उनले बताए । ‘चाडपर्वमा स्वास्थ्यकर्मी र चिकित्सकहरू समय तालिका मिलाएको छ,’ उनले भने, ‘त्यही अनुसार काम गर्नेछन् ।’
कोशी अस्पतालका फिजिसियन डाक्टर लक्ष्मीनारायण यादवले दसैं भनेर ढुक्कसँग बस्न नपाइने बताए । कोशी अस्पतालको कोभिड १९ का विरामी पनि हेर्दै आएका यादवले अस्पतालमा भएका बिरामीलाई उपचार गर्नै पर्ने र अत्यावश्यक सेवा रोक्न नहुने हुँदा कामसँगै रमाउनु पर्ने अवस्था रहेको बताए । ‘कोशी कोभिडमा पनि विरामी छन् । यसक्रममा पनि विरामी आउने गर्दछन्,’ उनले भने, ‘त्यही भएर यसपटक हाम्रो दसैं विरामीको हेरचाहमा बित्नेछ ।’