दसैंको उल्लासले सबैलाई पुलकित बनाउनुअघि नै धेरैलाई ‘दसैं’ आउँछ । पेशा नै ‘सपिङ’ हुनेहरुका लागि त रहेक दिन दसैं, हरेक दिन उल्लास । हुनेखानेहरुको सम्पन्नताको कथाकै छेउमा अर्को वास्तविकता पनि छ हुँदा मात्रै खानेहरुको । जसका लागि चाडपर्व भन्नु फेरि एकपटक रुवाएर जाने माध्यम बन्छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका ७ का धनबहादुर दर्जीलाई दसैं प्रायः दशा बन्नेगर्छ । अरुलाई जस्तै उनका लागि पनि वर्षैपिच्छे दशैं आउँछ । तर, अरुलाई हँसाएर, रमाइलो पारेर जाने दसैंले उनलाई भने केही ऋण थपिदिएर, धेरै चिन्ताको बोझ थपेर बिदा लिन्छ ।
७० बर्षीय धनबहादुरको पथरीशनिश्चरे–४ बकैना डाँडामा एउटा सानो टेलरिङ पसल छ । उनको गाउँमा भएको पसलबाट राम्रो आम्दानी हुँदैन । उनी भन्छन, ‘एक त म राम्रोसँग आँखा पनि देख्दिन । जसोतसो चस्मा लाएर कपडा सिलाउने काम गर्छु । गाउँको पसल खासै चल्दैन यही पसलको आम्दानीले घर खर्च चलाउँदै आएको छु ।’
जब दसैं नजिकै आउँछ, उनलाई खर्च जोहोको पिरलो पर्छ । बुढेसकालमा सहारा दिन्छन भन्ने आशाले उनले छोराछोरी नजन्माएका पनि होइनन् । छ जना छोरी बिहे गरेर गए । एक भाइ छोरो उनीसँग बस्न असहज भएको भन्दै अलग भए । बुढेसकाल लाग्दा पनि उनको शरीरले आराम गर्न पाएन । उल्टै ऋणमाथि ऋणको भार बोक्नुपर्ने भयो । लामो सुस्केरा तान्दै भन्छ्न, ‘गत सालको दसैंको ऋण तिर्न नपाउँदै फेरि आयो । यसपाली कस्ले पत्याउला खै ? गरिबका लागि दशा भएर आउँछ यो दसैं ।’
उस्तै व्यथाको छटपटी छ, उर्लाबारी २ की ६५ वर्षीया मिना शेर्पाको । दसैं नजिकिएपछि गाउँमा अरुका छोराहरु घर आएको देख्दा आफ्नो छोराको भने अत्तोपत्तो नभएको कुराले उनको मन अमिलो हुन्छ । उनको कान्छो छोरो बिक्रम शेर्पा घर खर्च जोहो गर्न वैदेशिक रोजगारीका लागि मलेसिया गए । केही वर्ष खर्च पनि पठाए । छोराले खर्च पठाउन्जेल त मिनालाई दसैं मनाउन र घर चलाउन सहज नै भयो । तर, तीन बर्ष अघिबाट उनका छोरा बेपत्ता भए । छोरा बेपत्ता भएदेखि ढल्किँदो उमेरसँगै उनलाई थप चिन्ता बढेको छ । हरेक वर्ष दशैं फर्किएर आउँछ दसैं । यो चाड फर्किएर आएजस्तै उनलाई बेपत्ता छोरा पनि फर्किदिए हुन्थ्यो भन्ने लाग्छ । हरेक वर्ष दसैंै आउँछ अनि खाटा बस्न लागेको घाउलाई नमिठोसँग कोट्याएर जान्छ ।
विक्रमका १२ वर्षीय छोरा विकलले उनलाई आफ्नो बुबा कहिले बिदेशबाट आउनुहुन्छ ? मलाई नयाँ नाना के ल्याईदिने रे ? के खानेकुरा ल्याईदिने रे ?….आदि प्रश्न सोधेर हैरान बनाउँछ्न । उनी भन्छिन ,‘दिनैपिच्छे सोध्ने गर्छ हजुरआमा मेरो बुबा कहिले आउनुहुन्छ ?’ नातिको यो प्रश्नले हरेक पटक उनको मष्तिस्कमा हुण्डरी ल्याइदिन्छ ।
छोरा बेपत्ता भएको पिरमा छटपटिरहेकी उनलाई नाति प्रश्नले मुटुमा वाणले हाने जस्तै हुन्छ । नजिकैको जङ्गलबाट घाँस दाउरा गर्दै बाख्रापालन गरेर जिन्दगी गुजारा गरिरहेकी उनलाई अहिले नशाको बिरामले च्यापेको छ । अशक्त शरीर र रित्तो गोजीले उनलाई थप पीडा दिएको छ । अशक्त शरीर, रित्तो गोजी र बेपत्ता छोरो अनि मनभरीको व्यथाले उनलाई दसैं रुवाउन आए जस्तो लाग्छ ।