तारा निरौला
चाडपर्व भन्ने बित्तिकै जोडिएर आइहाल्छ, मिठोमसिनो खानेकुरा । दसैं–तिहार जस्ता चाडपर्वमा खानपानकै चर्चा सधैं उच्च हुने गरेको छ । तर, हामीमध्ये धेरैले ध्यान दिन नसकेको वा नचाहेको विषय हो, चाडपर्वमा कति खाने, कसरी खाने ? त्यसबारे छोटो चर्चा गरौं ।
चाडपर्वमा खाने चिजवस्तु हाम्रो नियमित आहाराभन्दा फरक हुनुपर्छ भन्ने छैन । साधारण मानिस, जो दिनभर ठूलो परिश्रम गर्दैनौं, शारीरिक व्यायाम पनि गर्दैनौं, त्यस्ता मानिसलाई २४ घण्टामा २२५० किलो क्यालोरी आवश्यक पर्छ । त्यो प्राप्त गर्नका निम्ति हाम्रो दैनिक आहारामा चामल, दाल, तरकारी, तेलको मात्रा मिलाउन आवश्यक छ । शरीरका लागि आवश्यक पर्ने कार्वोहाइड्रेड, प्रोटिन, भिटामिन र मिनरल सबैको मात्रा मिलाउन सकेको खण्डमा हामीले अहिले जे खाइरहेका छौं, त्योभन्दा फरक केही खानु पर्दैन । तर, चाडवाडको नाममा हामी चाहिनेभन्दा बढी र हाम्रो ‘रुटिन’भन्दा बढी खान्छौं । पाहुनालाई पनि बढी खानका निम्ति ढिपी गर्छौं । यो चलन स्वास्थ्यका लागि सबैभन्दा घातक छ ।
शरीरलाई चाहिने शक्ति प्राप्त गर्न हप्तामा दुई पटक मासु, दुई दिन एउटा–एउटाका दरले अण्डा, दैनिक ५० ग्राम चामल, ५० ग्राम दाल र तरकारी भए पुग्छ । योभन्दा खानेकुरा बढी हुने बित्तिकै ‘इनर्जी’ बढी हुन्छ । बढी भएको इनर्जी काम गरेर वा व्यायाम गरेर खर्च गर्नुपर्ने हुन्छ । खर्च गर्न सकेनौं भने शरीरमा सञ्चित भएर बस्छ । यसरी जोगिएर बसेको शक्तिले शरीरमा हानी गर्छ ।
खानेकुरामा प्रोटिन, कार्वोहाइड्रेड र चिल्लो पदार्थको मात्रा मिलाउन आवश्यक छ । चाडपर्वमा कार्वोहाइड्रेडको मात्रा उहि वा नियमितभन्दा कम र प्रोटिन तथा चिल्लो पदार्थ बढी खान्छौं । माछामासु चिल्लो पदार्थका स्रोत हुन् । त्यसमा पनि भुटुन हालेर माछामासु पकाउने चलनले चिल्लो पदार्थ बढी हुन जान्छ । पनिर, मासु, चिल्लोमा डुबेका वस्तु हामीलाई मन पर्छ । जसले गर्दा चिल्लो पदार्थको उपभोग बढी र कार्वोहाइड्रेडको मात्रा कम हुन्छ । यसले अनुपात मिल्दैन अनि चिल्लो पदार्थ पाचन प्रणालीमा जान सक्दैन, अपच हुन्छ । जब अपच हुन्छ हाम्रो स्वास्थ्यमा हानिकारक अवस्था आउँछ । त्यसैले कार्वोहाइड्रेड र चिल्लो पदार्थको मात्रा मिलाएर खान सक्यौं भने हामीलाई कहिल्यै पनि अपच हुँदैन । दिनमा हामीले ४ देखि ५ टुक्रा (पिस) मासु खायौं भने पर्याप्त हुन्छ । चाडबाडमा त्यसलाई थपेर ७ टुक्रासम्म पुर्याउन सकिन्छ, त्योभन्दा बढी भए हानीकारक हुन्छ ।
विज्ञानले भन्छ ‘फ्याट बर्नस् इन द फायर अफ कार्वोहाइडे«ड’ अथवा चिल्लो पदार्थ जल्न वा टुक्रिएर शक्तिमा परिवर्तन गर्नका लागि कार्वोहाइडे«ड जरुरी हुन्छ । हामीले खाएको खानेकुरा पचाउनका निमित्त पेटका दुई खण्डहरु छन्–माथिल्लो पाचन प्रणाली र तल्लो पाचन प्रणाली । कार्वोहाइड्रेड पचाउने वा टुक्र्याउने प्रक्रिया मुखबाटै सुरु हुन्छ । मुखमा आउने र्याल (सेलिभरी इन्जाइम) ले पचाउने प्रक्रिया सुरु गर्छ । त्यसपछि सानो आन्द्रामा पुग्छ र त्यसले पचाउने धेरै प्रक्रिया पूरा गर्छ । त्यसपछि ठूलो आन्द्राले पचाएका कुराहरु, भिटामिन र पानीजन्य वस्तुहरुलाई शोषण गर्ने काम गर्छ । सानो आन्द्राले राम्रोसँग पचाउन नसकेको वस्तु ठूलो आन्द्रामा पुग्छ ।
ठूलो आन्द्रासम्म पुग्दा ‘क्रुड फाइवर’को पनि पर्याप्त मात्र जरुरी हुन्छ । मासु र चिल्लो पदार्थको मात्रा बढी अनि कार्वोहाइडे«ेड तथा बोक्राजन्य वस्तु कम खायौं भने पाचन प्रणालीमा फाइबरको मात्रा अपुग भई दिसा कडा हुन जान्छ, कब्जियत हुन्छ । कब्जियतले पाचन प्रणालीमा समस्या उत्पन्न हुन्छ । अल्छी लाग्छ र स्पाइनल कर्डमा त्यसको असर पर्छ । त्यसबाट सुषुम्नामा प्रभाव परेपछि शरीरमा इन्जाइमहरु चलायमान हुँदैनन् र पाचन प्रणालीमा एक प्रकारको अवरोध उत्पन्न हुन्छ । त्यसैले हामीले कार्बोहाइड्रेड, प्रोटिन र चिल्लो पदार्थको मात्रा एकदम मिलाएर खानु जरुरी छ । चिल्लो पदार्थबाट ९, कार्वोहाइड्रेडबाट चार र प्रोटिनबाट पाँच किलो क्यालोरी शक्ति दिन्छ । यो मात्रा मिल्नु पर्छ र साथमा फाइबरको मात्रा पनि मिल्नुपर्छ ।
दसैं–तिहारमा मासु बढी खाइन्छ । चाडबाड सांस्कृतिक परम्परा हो, यसलाई तोड्न सकिँदैन । पर्वको बेलामा पाहुना जाँदा दिएको खानेकुरा नाइँ भन्न सकिँदैन । खान्नँ भनियो भने अपमान गरेको महसुस हुने भएकोले चाहेर नचाहेर बढी खान पुग्छौं । शरीरलाई चाहिनेभन्दा बढी इनर्जी पेटमा पुगेपछि त्यसले समस्या पार्छ । एउटा सिद्धान्तले भन्छ ‘इन्पुट इक्वेल टु आउटपुट’ अर्थात् हामीले जति शक्ति खाएका छौं त्यति बराबरकै शक्ति काम गरेर, व्यायाम गरेर वा कुनै पनि विधिबाट खर्च गर्नुपर्छ । खर्च नहुँदा मानिस मोटाउँदै जाने, इन्जाइमहरुले काम नगरी आराम गरेर बस्ने अवस्था आउँछ । शरीरमा रोग सुरु हुने मुख्य कारण नै यही हो ।
मासु धेरै खान हुँदैन भनेर मुख्य गरेर दुई कारणले भनिएको हो । मासु खाँदा छाला र चिल्लो पदार्थ बढी खान्छौं । छाला शरीरका लागि हानिकारक छ । बोसोयुक्त मासुले शरीरलाई आवश्यकभन्दा बढी चिल्लो पदार्थ सेवन गर्न सहयोग पुग्छ । अर्को कुरा मासुका लागि पैसा तिरेर छाला खानु बुद्धिमतापूर्ण पनि छैन । त्यसैले सकेसम्म छालारहित मासु खानुपर्छ । हाम्रो जिब्रो छालासहितको मासुमा रमाउन बानी परेको छ । छाला रोग र सूक्ष्म जीवहरुको भण्डार पनि हो ।
अर्कोतर्फ गरिब वा कडा परिश्रमी वर्गले मासुको पैसा तिरेर बोसो किनिरहेको हुन्छ । बोसो मासु होइन । मासुको मूल्य महंगो छ, जुन गरिब परिवारको उपभोग्य क्षमताभन्दा बाहिर छ । त्यसैले उनीहरु यस्तै चाडबाड र मौकामा मात्र मासु खान्छन् । जतिबेला मासु खान्छन् यो मिहिनेती वर्गले मासुमा बोसोको मात्रा बढी रुचाउँछ ।
धेरैले पोलेको मासु मन पराउँछौं । हाम्रो घरघरमा सेकुवा खाने पनि चलन छ । सेकुवा क्यान्सरको स्रोत हो । मासु सेक्नु वा पोल्नु एकदमै खराब कुरा हो । मासु पोल्दा त्यसमा भएको प्रोटिन डढ्छ । डढिसकेपछि त्यसमा क्यान्सर उत्पन्न गर्ने पदार्थ बन्छ । सकेसम्म मासु पोलेर वा डढाएर खानु हुँदैन । सेकुवा नडढ्ने गरी निकै माथि राखेर तताएर खान सकियो भने मात्र असर गर्दैन नत्र खराब हुन्छ ।
खान नजान्दा समस्यै समस्या
हामीले शरीरको आवश्यकता पूरा गर्न खानेकुरा खान्छौं । शरीरलाई जति आवश्यकता हुन्छ त्यति खानुपर्छ । खानेकुरा धेरै वा थोरै हुँदा त्यसले असर गर्छ । खाना बढी भयो भने अपच हुने, शक्ति बढी भई मोटाउने र कम भयो भने दुब्लाउने जस्ता समस्या हुन्छ । जब हामीसँग शक्ति धेरै हुन्छ शरीरका इन्जाइमहरुले काम गर्न छोड्छ । अपच हुने बितिकै डायरिया, भमिटिङ जस्ता समस्या हुन्छ । अपच हुँदा खाना पचाउने इन्जाइमहरुलाई सुषुम्ना शिर्षकले राखिदिन्छ । जसका कारणले मानिसलाई आलस्य बनाउने, डायरिया हुने, बान्ता हुने जस्ता समस्याहरु हुन्छ ।
हामीलाई चाहिनेभन्दा बढी पौष्टिक तत्व खाने प्रचलनले लिभरमा पनि समस्या हुन्छ । राम्रो चिजलाई शरीरमा पठाउने र नराम्रोलाई बाहिर निकाल्ने फिल्टरको काम लिभरले गर्छ । रक्सी लगायत अनावश्यक वस्तुको सेवन बढी भयो भने लिभर ब्लक भई ‘ड्यामेज’ हुने सम्भावना पनि हुन्छ ।
खानामा चिल्लो पदार्थ बढी भयो भने पानीमा मिसिएर मिर्गाैलासम्म पुग्ने र त्यसले असर गर्छ । खानपान नमिलेको खण्डमा छालामा एलर्जीलगायतका समस्या हुनसक्छ । एलर्जीले इन्जाइमहरुलाई निष्कृय र ‘डाइभर्ट’ गराउँछ । पाचन प्रणालीकै असरले सुगर तलमाथि हुने समस्या हुन्छ । त्यसैले पाचन प्रणाली शरीरका लागि महत्वपूर्ण छ । शरीर स्वयं एउटा औषधि उद्योग हो । पाचन प्रणालीले शरीरलाई सन्तुलित बनाइराख्ने भएकोले सँधै सन्तुलित आहारको सेवनमा जोड दिनुपर्छ ।
प्रोटिनबाट मांसपेशी निर्माण हुने, कार्वोहाइड्रेडबाट शक्ति प्राप्त हुने, चिल्लो पदार्थले कार्वोहाइड्रेडलाई पचाउने र शक्ति उत्पादन गर्ने, क्यालिसयम, फस्फोरस जस्ता मिनरलले हाडजोर्नी बन्न मद्दत गर्ने र भिटामिनबाट रोग प्रतिरोधात्मक शक्ति प्राप्त गर्न सहयोग हुने भएकोले यी ५ वटा तत्वहरु शरीरलाई जरुरी हुन्छ । जुन सन्तुलित आहारबाट आवश्यक मात्रामा प्राप्त गर्न सकिन्छ ।
हामीले खाना खाएनौं भने शरीरमा सञ्चित भएको प्रोटिन खर्च हुँदैजान्छ । धेरै भोको बस्यो भने कार्वोहाइड्रेड अभाव हुन्छ । त्यसका कारणले गर्दा शरीरमा सुगरको मात्रामा असन्तुलन हुनपुग्छ । कार्वोहाइड्रड शरीरमा सञ्चित नहुने भएकोले समय समयमा खाइरहनु पर्छ । खानेकुरा धेरै खायौं भने वा खान पाएनौं भने क्षति हुन्छ । त्यसैले मेरो सुझाव छ, दसैंमा हामीले एकदमै धेरै खानुपर्ने र अरुबेला भोकै बस्नुपर्ने भन्ने होइन । शरीरलाई जति शक्ति जरुरी पर्छ त्यति खाउँ, त्यसो भयो भने न हामी बिरामी पर्छौं वा कम भएर अस्वस्थ हुनुपर्ने अवस्था नै आउँछ ।
(खाद्य विज्ञ निरौलासँग गोकुल पराजुलीले गरेको कुराकानीमा आधारित)