धनकुटा । दसैंका बेला टेलिभिजन र रेडियोमा मालश्री धुन लगातार बज्न थालेका छन् । यो धुनले नेपाली समाजमा चाडपर्व आएको अनुभूतिको उत्साह सञ्चार हुने गरेको छ । मंगल धुन मानिने मालश्री धुन नेपाली समाजमा दशैँतिहारको सेरोफेरोमा बजाइन्छ ।
बिहानै घरमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको संकेत हुने गरे पनि केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् । पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको धनकुटाका गोपाल निरौलाले बताए । ‘घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो’, निरौलाले भने । दसैंको रौनक भनेकै मालश्रीको धुनले निकाल्थ्यो ।
आजभोलिजस्तो संगीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दसैंँको महत्व बढाएको उनले बताए । आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइन्छ । पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको महालक्ष्मीका यम पौडेलले बताए । मालश्री धुन विस्तारै गाउँघरमा सुनिन छोडेको उनको भनाइ छ । धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नहुनु नै मालश्री धुन सुनिन छाडनु प्रमुख कारण भएको पौडेलले बताए ।
केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको उनको बुझाइ छ । पछिल्लो समयमा युवाहरू पश्चिमी संस्कृतिमा रमाउन थाले पनि आफ्नो संस्कृति हराउँदै गएको हो । मालश्री धुन युवामाझ गुमनाम हुनुमा सांस्कृतिक विचलन भएको यसका जानकार बताउँछन् । नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको छथर जोरपाटीका शारदाप्रसाद दाहालले बताए । ‘परम्परा छाड्दै नयाँ तरिकाले परम्परा मान्न थालेपछि यस्ता भाका हराउँदै गएका छन् ।’, दाहालले भने ‘यस्ता भाका र धुनको संरक्षण आवश्यक छ ।’
राजा, मुखिया अनि जिमुवालको घरआँगनमा मानिसहरू जम्मा भएर मालश्री धुन गाउने गरिएको जानकारहरू बताउँछन् । त्यो पुस्ताको अन्त्यसँगै मालश्री धुन पनि गाउँघरमा बज्न छाडेको धनकुटाको भीरगाउँका आनन्दबहादुर विश्वकर्माको भनाइ छ । दसैँको विशेष धुनको रूपमा रहँदै आएको मालश्री धुनका बारेमा आफूहरूलाई जानकारी नभएको युवाहरू बताउँछन् ।
के हो मालश्री धुन ?
नेपाली समाजमा दशैँका वेला बजाउने गरेकाले यसलाई दशैँ धुन पनि भनिन्छ । दशैँको समयमा नौ दिनसम्म देवीको पूजा गरिन्छ ।
किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुन शास्त्रीय धुन रहेको धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक ठाकुर बरालले बताए । यसलाई मंगलको कामना गर्दै बजाउने गरेको बरालले बताए । ‘देवीको पूजा सुरु गर्नुपूर्व यो धुन बजाइन्छ’, बरालले भने ‘यो धुन नवदुर्गाभरि बिहानको समयमा बजाइन्थ्यो ।’ ‘कहीँकतै धुनसँगै गीत पनि गाइन्छ’, उनले भने, ‘तर आजभोलि यो धुन कमै सुन्न पाइन्छ ।’
मालश्री धुनका लागि पहिले पहिले बढी मात्रामा नौमती बाजा बजाइन्थ्यो । धुन निकाल्नका लागि भने विशेष सीप भएकाले मात्रै सक्छन् । प्रविधिको विकाससँगै मालश्री धुनका लागि आधुनिक बाजागाजाको विकास पनि भएको छ । मालश्री धुनबारे लिच्छिविकालदेखि नै लिखित इतिहास रहेको उनको भनाइ छ । विशेषगरी यो धुन गन्धर्व समुदायले गाउने गरेको उनको भनाइ छ । नेपाली जीवनशैलीमा संगीतको महत्व चाडअनुसार फरक फरक छन् । ठाउँअनुसार बाजागाजा र बजाउने लय पनि फरक फरक छन् । मालश्री धुन, माल अर्थात् बस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ ।
कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको शुरुवातसँगै आउने चाड दसैं अनि यसै लहरसँग फुल्न तयार धानका बालाहरू, स्याउका दानाहरू, फूलहरू, सुन्तलाका दानाहरू लगायतका आगमनको खुशी पनि हो‚ मालश्री । कृषिप्रधान नेपाली समाजमा प्रकृति नै सबैभन्दा ठूलो सम्पत्ति हो । यसअर्थमा मालश्रीलाई दशैँसँग मात्र नजोडी शरदको शुरुवातका रूपमा लिइने गरेको छ । यस संगीतलाई चिउरा कुट्दादेखि चामल कुट्दासम्म, ढिकीजाँतो गर्दादेखि टीकाटालो गर्दासम्मको भावना र अभिव्यक्तिसँग जोडिएको मान्न सकिन्छ ।
परम्परागत नेवारी रीतिथितिको वयान अनि सांगीतिक लिपिका रूपमा मालश्री खरो उत्रिएको हुन्छ । अहिले आएर हातहातमा मोबाइल, गीत, स्पीकर भएको भएर मालश्रीको सहज उपलब्धता भए पनि यो सुन्ने मानिसको कमी हुन थालेको छ ।
मालश्री धुनले हरेक नेपालीलाई आनन्द अनुभूति दिन्छ । यसलाई मौलिक नेपाली लोक धुन मानिन्छ । मालश्रीको सम्बन्ध शरद ऋतुसँग पनि छ । समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको पूर्वीय सभ्यतामा बाह्रै मासअनुसारका संगीत प्रशस्तै पाइन्छन् । तिनैमध्ये एक मालश्री धुन दशैँको समयमा देशभर गुन्जने गर्दछ । करिब साढे चार सय वर्षअघि नेवाः समुदायबाट यो धुनको उत्पत्ति भएको मानिन्छ । राजा सिद्धिनरसिंह मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ ।
१६ औं शताब्दीमा राजा महिन्द्र मल्लको पालादेखि १२ मासका धुनको सिर्जना भइसकेको थियो । हनुमानढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले पहिले दशैँभर मालश्री धुन बजाइन्थ्यो । पृथ्वीनारायण शाहपछि शाहवंशका राजाले पनि यसलाई निरन्तरता दिए । मालश्री धुन निकाल्न यही बाजा आवश्यक पर्छ भन्ने छैन । पहिले–पहिले प्रायः नौमती बाजा बजाउने गरिन्थ्यो । यसबाहेक डमरु, गितार, हार्मोनियम लगायतका बाजासहित यो धुन निकालिन्छ । पहिले पहिले पञ्चेबाजा वा अन्य एक बाजाको सहायताले मात्रै धुन निकाल्ने गरिन्थ्यो । दशैँको घटस्थापनादेखि पूर्णिमासम्म नै मालश्री धुन सुन्न पाइन्थ्यो । साढे चार सय वर्षदेखि सुनिदै र बजाइँदै आएको यो धुन हराउन थालेको छ । यो धुन पूर्ण रूपमा नेपालमै सिर्जना भएको संगीतज्ञको दाबी छ । यो धुनमा सप्त मातृकाको गुणगान छ ।
मालश्री भाका
शिरकै सिन्दूर गाजलु बनी सेवा लेऊ है देवी नौदुर्गा भवानी
खड्ग खप्परु त्रिशूल खरदार दैत्य मारी सागर
यो है देवी माला र मधेश वर्षा है देवी घरघर
बलि जगमग ईश्वर माई जनम ली कवितास कैलास जोस
कानै कुण्डलु, हातै डम्बरु खेल छमछम ईश्वर माई ।।