कुमार लुइँटेल
‘यसपालि ढड्डाबाट मेरो नाम कटाई दिएछन् ! घटस्थापनाको दिन पनि फोन आएन् ‘ मेरो एकजना मित्रले गुनासो गर्दै थिए । ‘मलाई एक दुई ठाउँबाट आयो, गइन’ मैले जवाफ दिएं । विगतमा अलि धेरै फोन आउँथ्यो । पछिल्लो वर्ष भने घटेको छ । अहिले आउने एक्का दुक्का ‘फोनकल्स’को ‘रेस्पोन्स’ गर्छु । तर कुनै बहाना गरेर आउन पाइन अर्को दिन आउँछु भनेर टारिदिन्छु । अनि जान्न ।
झापाबाट अन्नपूर्ण पोस्ट दैनिकको क्षेत्रीय ब्युरो प्रमुखमा पदोन्नति भई विराटनगर आएको वर्ष दशैं छेक मलाई पनि फोन आए । केही ठाउँहरूमा पुगें । तर हिजोआज जान्न ।
खासमा विराटनगरको औद्योगिक, व्यवसायीक र राजनीतिक क्षेत्रबाट पत्रकारको हैसियत र दर्जा अनुसारको खाम वितरण हुंदोरहेछ । पत्रकारिता क्षेत्रकै महानुभावहरुको सुझावको भरमा सूची बन्ने रहेछ । अनि माथि उल्लेखित तीनवटै क्षेत्रबाट सोहीअनुरूपको व्यवहार पनि हुंदोरहेछ । दशकौंदेखि यस्तो चलन चलिरहेकै छ ।
झापाबाट आएको पहिलो वर्ष एकजना प्रतिष्ठित उद्योगीले फोन गर्नुभयो, र भन्नुभयो,” भाइ मेरो अफिसमा आउनुहोस न सानो काम छ ।” म मोटरसाईकल चढेर गएं । चियापानी सोध्नुभयो । चिया भनें । ‘दशैंको शुभकामना छ’ भन्नुभयो मैले पनि ‘दाइलाई पनि शुभकामना’ भन्दै सम्मान दर्शाएको । त्यसपछि घर्राबाट पंहेलो रंगको खाम निकालेर हातमा राखिदिनु भयो । शुभकामना कार्ड ठानेर लिएं । घरमा आइ खोलें । भित्र २५ सय रुपैयाँ थियो । फेरि औद्योगिक/व्यवसायिक संस्थाका एक जना अध्यक्षको फोन आयो । गएं । उहाँले पनि शुभकामनासंगै खाम थमाइदिनु भयो । असमनञ्जस्यमा पर्दै समाएं । अध्यक्षले दिएको खाममा १५ सय रुपैयाँ थियो । भोलि- पर्सिपल्ट अरु फोन आए । बोलाएर पैसा दिनेरछन् भन्ने बुझ्न समय लागेन । त्यसपछि जानै मन लागेन । अनि गइन । खामको रंग पहेंला-खैरा थिए ।
एक साल विराटनगरका निकै अग्रज अनि मैले हृदयबाट सम्मान गर्ने एकजना प्रतिष्ठित उद्योगीले निवासमै बोलाउनु भयो । पुगें । दशैंको शुभकामना दिनुभयो । स्वीकार गरें । खाम दिन लाग्नु भयो इन्कार गरें । अनि भनें “म जोडिएको एउटा आध्यात्मिक संस्था छ मलाई होइन त्यहाँ चाहिएको छ ।” उहाँ राजी हुनुभयो । मैले अध्यक्षलाई फोन गरेर आवश्यक सामग्रीको विवरण टिपे । १ घण्टाभित्र सामान आध्यात्मिक केन्द्रसम्म पुग्यो । पछि राम्रो कार्यक्रम गरेर उहाँ उद्योगीको प्रमुख आतिथ्यमा कार्यक्रम भयो । ती सरसामानले आध्यात्मिक केन्द्रमा अहिले पनि ठूलो सहयोग पुगेको छ । ती सामग्रीको उपयोग भइरहेको छ ।
विराटनगरका पत्रकारलाई दशैंमा खाम वितरण गर्ने थिति पुरानै हो । कसले यस्तो चलन बसायो यसको लिखत त छैन् । तर हरेक वर्ष ढड्डामा नाम चढाई दिने र कटौती गर्ने क्रम चलेकै छ । विराटनगरमा अहिले मुश्किल र बढो दु:खबीच पत्रकारिताको चौथो पुस्ता सकृय छ । तर उनीहरू यही पेशामा टिकीरहने भन्दा पनि पलायन हुने अधिक संभावना देखिन्छ ।
मिडिया हाउसको गिर्दो आर्थिक साखले हिजोआज कोहीपनि पत्रकार बन्न चाहंदैनन् । पत्रकारिता पढ्नेहरु भरसक यो पेशामा आउंदै आउंदैनन् । भएकाहरु पनि आर्थिक-सामाजिक सुरक्षा अभावको घनचक्करमा फसेका छन् । अब हिजो जस्तो ‘ब्रोडसिट’ दैनिकको धक्कु लगाउनेहरु छैनन् भन्दा पनि हुन्छ । ती सबै च्याउसरि खुलेका हातैपिच्छेका अनलाईनको पेलाइमा परिसकेका छन् । समग्रमा झन् बढ्नुपर्नेमा पत्रकारिताको चार्म स्खलित हुंदै गएको देखिन्छ ।
घटस्थापनादेखि अरुलाई जस्तै विराटनगरका पत्रकारहरुलाई पनि दशैं लागेको छ । काम गर्ने केही संचारसंस्थाले दशैँको अतिरिक्तसहित मासिक बेतन पठाईसकेका छन् । कतिपयले पठाउने तयारी थाल्दै छन् । आउने टुंगो नभएकाहरु पनि प्रशस्तै छन् । समग्रमा अवस्था ठिक छैन् ।
औद्योगिक नगर विराटनगरमा दशैं, तिहार र छठ पर्वको खुब रौनक हुन्छ । जलजला मोडको काली मन्दिर होस अथवा रानीको दुर्गा मन्दिर । झिसमिसै भक्तजनको घुइँचो लाग्छ । टङटङ घण्टीको आवाजले रमिता मात्र हेर्नै पनि कालीमन्दिरले तान्छ । ६ बज्दा नबज्दै मानिसहरु हातमा बेलुन र मयुरका प्वांख हल्लाउंदै घर फर्केका दृश्य खुब रमाइलो हुन्छ । पिपिरी बाजाका नानाथरी स्वर पनि सुनिन्छन् । नौरथाभरि यी दृश्यले विराटनगरमा दशैंको रमझम चलिरहन्छ ।
दशैंमा विराटनगरमै खरिदारी गर्ने कि जोगबनी जाने ? द्विविधाबीच परिवारका सदस्यको हुटहुटी हुन्छ, पारि नै जानुपर्छ । कपडा र घरायसी सौदा खरिदारी गर्न जोगबनी नेपालीको लागि चल्तीको भारतीय बजार हो । ‘सस्तो भएकोले उतै जानुपर्छ ‘ परिवारको बहुमत प्राय उतैपट्टि हुन्छ । कोभिडको दोस्रो लहर मत्थर हुँदै गर्दा जोगबनी नेपाली ग्राहकले भरिभराउ हुन थालिसकेको छ ।
पत्रकार समाजकै सदस्य हुन् । उनीहरूले पनि चाडबाड मनाउँछन् । मनाउनु पर्छ । तर, यसको लागि खैरा-पंहेला खामको सहाराभन्दा पनि संचार गृहले उपलब्ध गराउने पारिश्रमिक मुख्य स्रोत हुनुपर्छ । सेवा सुविधालाई बढाउनु पर्छ । संचारमाध्यम आर्थिक रुपमा सबल बनाउने एउटा जिम्मेवार पक्ष राज्य हो । यसको पैरवी गर्ने कर्तव्य व्यवसायिकताको राप अलाप्ने पत्रकारका पेशागत संगठनको हो । फेरि समाजको अग्रभागमा उभिएको व्यवसायिक क्षेत्रले ‘बन्दखाम वितरण’ गर्नेभन्दा पनि व्यवसायिक पत्रकारिताको विकासमा सहयोग गर्नुपर्छ । दशैंको ‘खाम प्राप्ति गर्ने ढड्डामा नाम टिपोट गराउने’ भन्दा पनि ती सबै कटौती गरेर पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउन सबै सहयोगी बन्नुपर्छ । बडादशैंको हार्दिक शुभकामना ।
सेटिङमा चलेकाे देशमा स्वतन्त्र र निश्पक्ष पत्रकारिताकाे अलाप जगाउनु ढुंगामा देउता खाेज्नु सरह हाे।साँचाे अर्थमा श्रमजीवी पत्रकारकाे हैसियतलाई मालिक मेडिया हाउस र सरकारकाे पासाेले लाचार बन्नु भन्दा अर्को विकल्प छैन जुन कुरा व्यवहारमा देखिएको मात्र हाे।