लोकतन्त्रमा संगठन निर्माणको प्रश्न

 प्रेम मिभक लिम्बू

संवैधानिक व्यवस्था अनुसार अहिले सबै पार्टीहरुको अधिवेशनको प्रक्रिया चलिरहेको छ । यो पार्टी जीवन्त राख्ने गतिविधि चलिरहँदा, आन्तरिक लोकतन्त्र मजबुत बनाउने अभ्यास कसरी भएको छ ? कम्युनिष्टहरुले हरेक मिटिङ बैठकमा भन्ने गरेको जनवादी केन्द्रीयतालाई कतिको पारदर्शी बनाएका छन् ? जीवन व्यवहारमा कसरी लागू गरेका छन् ? नेपाली राजनीतिको महत्वपूर्ण र सर्वाधिक चासोको बिषय यहि हो । औपचारिकता पुरा गरेर चुन्ने, चुनिने प्रक्रियाले लोकतन्त्रलाई मजबुत बनाउन सकेको छैन, राजनीतिलाई जनतासँग जोड्न सकेको अनुभूति भएको छैन । जनताको पहुँच राजनीतिमा स्थापित भएको छैन, सहभागिता बिनाको राजनीतिले पहँुच स्थापित गर्दैन । नेपाली राजनीतिमा लोकतन्त्रलाई आवरण बनाएर नीति र विधि चाहिं ठिक उल्टो अपनाइएको छ । सबभन्दा पहिला यसलाई सुल्ट्याउन जरुरी छ । यहाँ चर्चा गर्न खोजिएको पनि नीति र विधि सुल्ट्याउने कुराको हो ।

अपनाइएको विधिः

राजनीति प्रणालीलाई सञ्चालन गर्ने तत्व राजनीतिक पार्टीहरु नै हुन्, राजनीतिक नेतृत्व पनि हो । नेतृत्व भनिसकेपछि व्यक्तित्वको कुरा आउँछ । व्यक्तिगत छान्ने संगठनका सदस्यहरुले नै हो । व्यक्ति छान्न पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा माथिदेखिको तलसम्म च्यानल र प्यानल तयार गरिन्छ, यति भएपछि उल्टो सक्रियता सुरु हुन्छ, प्यानलको नेता कसरी बन्ने ? नेता बन्न चाहनेले कसरी सदस्यहरुलाई आफ्नो प्रभावमा पार्ने ? आफ्नो टिममा राखेमा इशारामा चल्छ कि चल्दैन ? यसरी पार्टीभित्रको आन्तरिक नेतृत्व छनोट गर्नको लागि प्यानल बनाएर छनोट गर्ने प्रकियाले सदस्यहरुको सक्रियतालाई छायाँमा पार्छ, नेताहरुको सक्रियतालाई बढाउने छ । नेताले प्यानललाई सञ्चालन गर्ने हुनाले, प्यानलमा भित्रिएपछि जस्तोसुकै पृष्ठभूिम र आचरणका भएपनि छनोट हुन्छन् । यस्ता गलत गतिविधिका कारणले राजनीतिको अपराधीकरण सजिलै हुने गरेको छ । अर्काेतिर गलत सोच भएकाहरु पनि राजनीतिमा सजिलै प्रवेश पाउँछन् । प्यानलको नेतालाई खुसी बनाएपछि सजिलै नेता बन्न पाउने वातावरण बनाएपछि, कोही पनि जनतासँग जोडिन आवश्यक ठान्दैनन्, यसो भएपछि जनताको ठूलो पङ्ति राजनीतिमा जोडिन सक्दैन । यो प्रक्रिया र विधिले आम जनता र पार्टी पङ्तिको सम्बन्ध एकाकामा परिपूरक बन्दैन । यसरी अलग–अलग भएपछि लोकतन्त्र सस्थागत बन्दैन ।

अपनाउनु पर्ने विधि:

आन्तरिक प्रतिस्पर्धामा जसले अर्थात् जो अघि भएपनि पार्टीको सदस्य नै विजय बन्ने हो । यो महत्वपूर्ण सवाललाई सबै नेता, कार्यकर्ता र पार्टी सदस्यले आत्मासाथ गर्नु पर्छ । सबै पङ्ति प्रष्ट भएपछि, पार्टी नेतृत्व छनोट गर्दा, सबै तहमा प्यानल बनाएर प्रतिस्पर्धा गर्ने वातावरण बनाउनु हुँदैन । व्यक्तिहरुले प्रतिस्पर्धा गर्नु पर्छ । नेता बन्न चाहने आफ्नो योग्यता र क्षमता प्रस्तुत गरेर सदस्य र कार्यकर्ता माझमा चिनिनु पर्छ । यसरी चिनिएपछि योग्यता र क्षमताको आधारमा कसलाई नेता चुन्ने र बनाउने भनेर पार्टी कार्यकर्ता सक्रिय हुन्छन् । सबै सक्रिय भएपछि राजनैतिक पार्टी परिचालित हुन पुग्दछ, यो विधिबाट राजनीतिक योग्यता र क्षमता नभएकाहरु चुनिने सम्भावाना रहँदैन । योग्य मान्छे चुनिसकेपछि पार्टीको विचारलाई जनतामा प्रस्तुत गर्न सक्छन् । आफ्नो नीति तथा कार्यक्रम जनतामा सम्प्रेषण गरेपछि गुण र दोषको आधारमा जनताले दल रोज्न पाउने संवैधानिक हक अधिकार प्रयोग गर्छन् । यसरी राजनीतिलाई जोड्न सकिन्छ, पार्टी र जनता बिचमा सम्बन्ध सुमुधुर बनाउने वातावरण बन्छ ।

लोकतान्त्रिक धारः

यो नपाली राजनीतिमा, दलीय व्यवस्था स्थापन गर्न महत्वपूर्ण योगदान भएको धार हो, तर योगदानको आधारमा उनीहरुको आन्तरिक पार्टी राजनीतिलाई मूल्याङ्कन गर्न सकिँदैन । अध्ययन गर्दा आन्तरिक लोकतन्त्र मजबुत भएर संस्थागत हुन सकेको छैन । नेतृत्वमा भएको समूह जसरी पनि नेतृत्व पाउनु पर्ने दाबीसहित हाबी हुने गर्छ । यस्तो क्रियाकलापले पार्टी सदस्यहरुलाई एउटा समूह रोज्नै पर्ने बाध्यता आइलाग्छ । नेतृत्व लिनको लागि स्वास्थ्य प्रतिस्पर्धा गराउन सफल भएको छैन । राजनैतिक पार्टीको प्रमुख अंगको रुपमा रहने सदस्यता वितरण व्यवस्थित गर्न सकेको देखिदैन । पार्टीको सर्वोेच्च कार्यक्रम तोकिसकेपछि, सदस्यता वितरण स्वेच्छाचारी र पारदर्शी भएन भनेर नेताको निवासदेखि पार्टी कार्यालयसम्म धर्ना र नारा जुलुस भएको देखिन्छ । यसले लोकतन्त्रलाई पटक्कै संस्थागत र बलियो बनाउँदैन ।

कम्युनिष्ट धारः

नेपाली राजनीतिमा दलीय व्यवस्था स्थापना गर्न र राष्ट्रियताका सवालमा महत्वपूर्ण भूमिका र योगदान गरेको धार हो । तर, उनीहरुको आन्तरिक राजनीतिक गतिविधिलाई नियाल्दा कमिकमजोरीहरु थुप्रै भेटिन्छ । उनीहरुले हरेक मिटिङ बैठकमा भन्ने गरेको जनवादी केन्द्रीयतालाई व्यवस्थित तरिकाले सञ्चालन गरेको पाइँदैन । पहिलो, लोकतान्त्रिक धारको राजनैतिक दाबी गर्नेहरु जस्तै प्यानल बनाएर नै संगठनको श्रृङ्खला निर्माण गरेको पाइन्छ । यसले उल्टो सक्रियताको अभ्यास गर्छ । नेता बनाउनेहरु होइन, नेता बन्नेहरुनै सक्रिय हुन्छन् । दोस्रोकुरा स्वतन्त्रता र अनुशासनको तालमेल नै जनवादी केन्द्रीयताको अभ्यास हो । माथि उल्लेख गरे जस्तो अभ्यासले केन्द्रीकृत जनवादको अभ्यास गरेको पाइन्छ । यसले गर्दा उच्च प्रकारको स्वतन्त्रता बिना उच्च अनुशासन निर्माण गर्न सकिदैन ।

उच्च अनुशासनले मात्र समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्न सकिन्छ । तेस्रोकुरा, धेरै भन्दा धेरै नेता कार्यकर्तालाई राजनीतिमा नेतृत्व र अवसर सबैलाई पुग्दैन भन्ने कुरा बुझाउन जरुरी छ । परिवर्तन मात्र सबैलाई पुग्छ, सबैले उपभोग सकिन्छ, यो कुरा पार्टी पङ्तिलाई बुझाउन जरुरी छ । विचार, सिद्धान्त र कार्यक्रमलाई केन्द्रविन्दुमा राख्ने भन्छन्, तर पद प्रतिष्ठाको विषयलाई लिएर कम्युनिष्ट आन्दोलन उत्तारचढावपूर्ण अवस्थाबाट गुज्रेको पाइन्छ ।

निष्कर्षः

सबै कुराको नेतृत्व गर्ने राजनीतिले नै हो । राजनीतिक प्रणालीलाई सञ्चालन गर्ने तत्व पार्टीहरू नै हुन्, नेतृत्व पनि हो । नेतृत्व भनेपछि व्यक्तिको कुरा आउँछ । राजनीतिमा, नेतृत्व गर्ने व्यक्ति प्रतिष्पर्धालाई स्वीकार गर्न सक्ने, नेतृत्व परिवर्तनको पक्षमा उभिने हुनु पर्छ । यस्तो चरित्र ग्रहण नगरेमा एउटै व्यक्ति स्वयं लामो समयसम्म रहिरहने वातावरण बन्छ । यो परिस्थिति निर्माण भएमा व्यक्ति लोकतान्त्रिक संस्कार निर्माणका लागि बाधक बन्न सक्छ । नेतृत्वमा बस्ने सबैको समान चेतना र गुण नहुन सक्छ । नेतृत्व भनेको सबै कुराको योगफल पनि हो । विचार, राजनीति, इतिहास र चेतनाको परिणाम हो । यी सबै हुँदाहुँदै पनि विचार प्रधान हुनुपर्छ । त्यसैले लोकतन्त्रमा संगठन निर्माणको प्रश्न जहिल्यै महत्वपूर्ण हुने गर्छ । यसलाई पारदर्शी र सबैको प्रतिनिधित्व झल्किने गरि बनाऔं । इतिहासको सम्मान गरौं, प्रतिभाहरु सबै पठालौं, आलोपालो गरौं, नयाँ–नयाँलाई प्रयोग गरौं । प्रतिस्पर्धालाई स्वीकार गर्ने संस्कार बसालौं, आन्तरिक प्रतिस्पर्धामा जितहार हुँदैन । अघिपछि हुनसक्छ । अघि हुनेले संगठनको नेतृत्व गर्नुपर्छ, पछि पर्नेले साथ दिनुपर्छ । यहि नै हो लोकतान्त्रिक संस्कार । स्वस्थ्य परम्परा र संस्कृति नबसाल्ने हो भने पार्टीहरु चल्न सक्दैनन् । नचलेपछि सामाजिक जिम्मेवारी पुरा गर्न सकिँदैन ।

बिहिबार, २१ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर