पथरी । बाध्यात्मक अवस्थाबाट थालेको विद्रोहको यात्राले जसै केही समय लियो, राधिका श्रेष्ठ त्यसैमा अभ्यस्त बन्न थालिन् । त्यसबेला १८ वर्षकी थिइन् उनी । धनकुटामा सिएमएको पढाई सकेर संखुवासभाको बिहीबारेमा स्वास्थ चौकीमा ‘प्राक्टिकल’ गर्दैथिइन् ।
यो २०६१ सालको कुरा हो । एक दिन उनी अफिसबाट तरकारी किन्न नजिकैको बिहीबारे बजार पुगिन् । बजार नजिकै तत्कालीन विद्रोहीे माओवादीको कार्यक्रम चलिरहेको थियो । हाटको दिन बजारमा गएका सबै मान्छेहरुलाई कार्यक्रम हेर्न बस्न उनीहरूले आग्रह गरे । उनीसहित १५ जना कार्यक्रममा बसे । जब साँझ पाँच बजेतिर कार्यक्रम सकियो, पााकाहरुलाई आयोजकले घर फर्किन दिए । राधिकासहितका साथीहरूलाई भने भोलि पनि अर्को कार्यक्रम भएकोले त्यही रहन भनियो । सबैलाई समूह समूह बनाएर राखियो । घरबाट कोही लिन आउन सक्ने अवस्था थिएन । माओवादी भनेपछि डर मात्रै थियो सबैमा । घरमा बन्धकमा परेको थाहा भए पनि कोही आउने हिम्मत गर्न कसैले सकेनन् ।
‘जब रात पर्दै गयो अझै त्रास थपियो,’ राधिकाले पुराना दिन सम्झिइन् ‘घरमा सब्जी लिएर छोरी आउली भनेर पर्खाईमा बसेकी आमाको यादले सतायो । अब फेरि घर फर्किऔंला र जस्तो लाग्यो । घर पुगिँदैन होला, यतै मरिन्छ होला, अनेक सोचेर रातभर रुँदै बस्नु बाहेक हामीसँग कुनै उपाय थिएन । रुदाँरुदैँ रात बित्यो । जब बिहान भयो अघिल्लो दिन भोलि कार्यक्रम छ सकेर घर जान दिन्छौं भनेको सम्झिएर खुसी भएँ ।’
तर हिंजो भनिए झँै न कार्यक्रम भयो न घर फर्किन दिइयो । सिरहाको बन्दीपुरको भिडन्तमा लाने योजना रहेछ । उनीहरुमध्येका एक लडाकुले भने, ‘युद्धमा लाग्नु पर्छ, हामी माथि शोषण भएको छ लड्नुपर्छ ।’ लडाकु बनाएर युद्धमा हिँडाउने उनीहरुको कुरा सुनेर राधिका खंग्रङ्ग भइन् । घर लान किनेको सब्जी त्यहीँ छुट्यो । त्यो दिन पनि घर फर्किन उनलाई दिइएन । बिहीबारेबाट मूलगाउँ लगियो । भाग्न सक्ने केही साथीहरू भागे । कसैसँग हारगुहार गर्न सकिन्न । दिनैपिच्छे अर्को ठाउँ लाने गर्दथे । सबै भेला पारेर समूह विभाजन गरियो । ‘मसँगै भएको दिदीलाई युद्धमा जान नसक्ने भनेर गाउँ नै छोडदिए’, आफूलाई सबभन्दा बढी माया गर्ने दिदी पनि छोडिए पछि झन् पिर लागेको उनी बताउँछिन् ।
सिएमए अध्ययन गरेकाले राधिकालाई युद्धमा घाउ चोट हुँदा उपचार गर्नका लागि युद्धमा लगियो । आर्मीबाट बचेर हिँड्न प्रायः राति हिँडाइन्थ्यो । आर्मी नभएको बुझेर केही ठाउँमा दिउँसो हिँडाइन्थ्यो । वैशाखमा सिराहाको बन्दीपुर ब्यारेक आक्रमण गर्न टोली सिरहा पुग्यो । कतिपय अवस्थामा उनी हिँड्न नसकेर बेहोस पनि भइन् । ‘घरबाट टाढा भएको पिरले हो कि नखाएकोले हो धेरै पटक बेहोस भएँ,’ उनले सुनाइन्, ‘साथीहरूले बोकेर भएपनि युद्धमा लगिरहे, वैशाख २६ गते बन्दीपुर ब्यारेकमा आक्रमण भयो ।’
राधिकासँगै गएका धेरै साथीले सहादत प्राप्त गरे । कति घाइते र अपाङ्ग भए । ‘उफ ! त्यो घटना सम्झदा अहिले पनि जिउ काँप्छ,’ उनले सुनाइन्, ‘तर भाग्यवश मलाई केही भएन ।’ बन्दीपुर आक्रमणमा घाइते साथीहरूको उपचार राधिकासहितको स्वास्थ्य टोलीले गर्यो । त्यहाँको लडाइँ सकेर टोली खोटाङतर्फ लाग्यो । ‘युद्धमा एउटै कम्पनी । धेरै पटक बोलचाल पनि भैइरहने । सँधैं रोइरहने र केही खानेकुरा नखाने भएकोले मलाई कामरेड मकालुले धेरै केयर गर्नु हुन्थ्यो,’ युद्धमा जाग्दै गएको प्रेम कहानी सुनाउन उनले सुरु गरिन्, ‘नयाँ भनेर पनि होला सायद धेरै कुरा सिकाउनु हुन्थ्यो ।’ टोली भने विभिन्न ठाउँमा चौकी र ब्यारेक कब्जा गर्दै हिँडिरह्यो ।
आक्रमण नै पिच्छे राधिकाका धेरै साथीहरूले मृत्युवरण गर्नुपर्यो । बाँकी रहेका उनीहरु हिँडिरहे । आक्रमणको क्रममा टोली खोटाङ, तेह्रथुम हुँदै इलामसम्म पुग्यो । उतिबेला मकालु कम्पनी कमान्डर थिए । आफ्नो घर भनेपनि, परिवार भनेपनि, आफन्त भनेपनि युद्धमा सँगै हिंडेका साथी नै त थिए ! त्यसमध्ये पनि मकालुले गरेको केयर र माया गराईले राधिकालाई उनीतिरै तान्यो । तर, आफ्ना कमान्डरलाई भन्न सक्ने हिम्मत थिएन ।
दिनहरु बित्दै गए । रातदिन ड्युटी गर्नु पथ्र्याे । सेना आई हाल्छन् कि भनेर सेन्ट्री बस्नु पथ्र्यो । एक दिनको कुरा हो उनी पनि सेन्ट्री बसिरहेकी थिइन् । ‘मलाई कमान्डर मकालुले बोलाएको र उहाँकहाँ उपस्थित हुन भनियो,’ उनले त्यसबेलाको अवस्थाबारे सुनाइन्, ‘ अलिकति नियम बाहिर भए कारबाही गरिन्थ्यो । मलाई डर लाग्यो । किन बोलाईयो भनेर डराउँदै पुगेँ । उहाँले आफूले मन पराएको साथै माया गरेको कुरा बताउनु भयो । म छक्क परँे । मनमा बेग्लै खुसी पनि थियो । तर ल भन्नू कि नाइँ, दिमागले कामै गरेन ।’
केही नबोलेकोले मकालुले पनि ‘तपाईं यदि खुसी हुनुहुन्छ भने सोचेर भन्नुस्’ भने । उनी पनि ‘हुन्छ’ भनेर काममा फर्किइन् । त्यसपछि मकालु र राधिकाबीच गफगाफ बाक्लिन थाल्यो । निरन्तर युद्धमा होमिइरहेको बेला पनि उनीहरुबीच कुराकानी चलिरह्यो ।
एउटै कम्पनी भएकोले प्रायः भेट हुन्थ्यो । दुईजनाको प्रेम सम्बन्ध प्रगाढ बन्दै गयो । आफ्ना भन्नु नै युद्धमा भेटिएका साथीहरू थिए । ‘अब साथीभन्दा पनि मेरो जिन्दगी भन्नु उहाँ नै हुनु भयो,’ उनले भनिन्, ‘जिन्दगीको कुनै ठेगाना थिएन, आफ्नो परिवारको केही अत्तोपत्तो थिएन । रुदाँरुदाँ आँशुहरु रित्तिएका थिए । दिनहुँको युद्ध । दिनहँुको बम बारुदसँगको यात्राले जर्जर भएको मनलाई सम्हाल्नु थियो । आत्तिएको मनलाई सम्हाल्दै । कैयौंपटक लडद्ै उठ्दै परिवर्तनका निम्ति चालिएका हाम्रा पाइलाहरु अघि बढाउँदै थियौं ।’
अन्ततः एक वर्षसम्मको उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने निर्णयमा दुवै जना पुगे । विवाहका लागि हेडक्वाटरमा निवेदन दिए । निवेदन लेखेपछि दुईबीचको सम्बन्ध सबैलाई थाहा भयो । विवाह गर्दा बन्दुक साटासाट गरेर गर्नु पर्ने थियो । ‘बटालियन कमान्डरको निर्देशन अनुसार एकअर्काको बन्दुक साट्यौं त्यही नै हाम्रो विवाह भयो,’ उनी सम्झिन्छिन्, ‘न त आफूले गाउँमा देखेको विवाह जस्तो जग्गे थियो । न त तामझाम नै थियो ।’ न त कुनै विवाहको रौनक । सबैजना कम्ब्याट ड्रेसमा । झट्ट हेर्दा युद्धमा जान लागेको झैँ । तर त्यो युद्ध नभएर राधिका र मकालुको विवाह थियो । टिका माला र बन्दुक साटासाट भयो यही नै उनीहरुको विवाहको औपचारिकता थियो । कमान्डरले विवाहको चिट्ठी पढेर सुनाएसँगै विवाह सकियो । त्यसपश्चात् भोजपुर घोडेटार ब्यारेक आक्रमण गर्नतर्फ टोली अघि बढ्यो ।
घोडेटार ब्यारेक आक्रमणमा मकालु घाइते भए । ‘म स्वास्थ्य विभाग भएकोले युद्धपछि घाइतेहरू ल्याइन्थ्यो । उहाँलाई पनि उसैगरी ल्याइयो । मसहित हाम्रो टिमले सबै घाइतेको उपचार गर्यौं,’ त्यो अवस्थाबारे उनले बयान गरिन्, ‘आफूले माया गरेको मान्छे युद्धको फ्रन्ट लाइनमा हुँदा, सँगै गएका साथीहरूको मृत्यु साथै घाइते भइरहेको दृश्यले उसलाई केही नहोस् भनेर प्रार्थना गर्न बाहेक केही विकल्प थिएन । घोडेटार आक्रमणमा आंशिक सफलता मिल्यो । केही साथीहरुले साहदत प्राप्त गरे । तर हिम्मतका साथ समाज र देश परिर्वतनको उद्देश्य बोकेर युद्धमा हामी होमिरह्यौं ।’
न फोन थियो न कुनै सम्पर्कको माध्यम । घर परिवारको खबर न राधिकालाई थियो न त आफ्नो खबर घरकालाई नै थाहा थियो । विवाह गरेको खबर पनि घरमा थाहा थिएन । समय बित्दै गयो । दिनहरु बित्दै गए । ‘मैले विवाह गरेको कुरा कतैबाट सुन्नु भएछ, तर उहाँहरु सँग कुरा गर्न घर जान सम्भावना थिएन,’ राधिकाले भनिन्, ‘२०६३ सालमा जब शान्ति सम्झौता भयो । त्यसपश्चात श्रीमान् श्रीमती दुवै गोली र छर्रा लागेको शरिर लिएर घर फर्कियौं ।’ देश परिर्वतनको उद्देश्य बोकेर युद्धमा होमिएका उनीहरु कहिलेकाँही आफ्नो एल्बममा भएको बन्दुक साटासाटको तस्बिर हेरेर अचेल मुस्कुराउँछन् ।